+
+

विषादी भेटिएपछि बिक्नै छाड्यो रायोसाग

मुलपानीमा जग्गा भाडामा लिएर साग खेती गर्दै आएका शुक्र तामाङ विषादी भेटिएको खबरपछि लाखभन्दा बढी घाटा भएको सुनाउँछन्। औषधि, उपचार नगरी साग राम्रो नहुने,साग राम्रो हुँदा नबिक्ने हुँदा किसानलाई कसै गरे पनि सुख नभएको तामाङको गुनासो छ ।

केदार गौतम केदार गौतम
२०८१ माघ १८ गते २२:००

१८ माघ, काठमाडौं । कालीमाटी तरकारी बजारमा आएका रायोसागमा विषादी भेटिएको खबर फैलिएपछि यसको बिक्री ह्वात्तै घटेको छ । उपभोक्ताले रायोसाग किन्नै छाडेका छन् । बजारमा नबिकेपछि बारीबाट किसानको साग उठ्न छाडेको छ ।

जति सस्तो दिन्छु भन्दा पनि साग व्यापारी नै आउन छाडेको भक्तपुर दुवाकोटकी शर्मिला तिमिल्सिना बताउँछिन् । शर्मिलाले करिब डेढ रोपनीमा रायोसाग खेती गरेकी छिन् । उनले दैनिक १ सय मुठा जति साग बेच्दै आएकी थिइन् । रायोसाग नबिकेपछि उनी निराश छिन् ।

‘मल, बीउको खर्च त छँदैछ, पानी लगाएको पनि घण्टाको हिसाबमा पैसा तिर्नुपर्छ,’ शर्मिला भन्छिन्, ‘अझ यसमा आफूले खटेको श्रमको त हिसाब नै छैन । यसपालिको लगानी बेकार भो !’

लाइकीरा, पुतलीले असर गरेर कहिलेकाहिँ हाल्ने गरे पनि अहिले कुनै विषादी नहालेको उनको दाबी छ । अन्य तरकारी जस्तो सागलाई खासै औषधि पनि हाल्नु नपर्ने उनी बताउँछिन् ।

बारीमा रायोऊ साग टिप्दै भक्तपुर दुवाकोटकी किसान शर्मिला तिमिल्सिना।

विषादीको हल्ला हुनुभन्दा पहिला साग मुठाको १५ मा बिक्री हुन्थ्यो, अहिले ५ रुपैयाँ मुठामा दिँदा पनि उठाउने मान्छे पाउन गाह्रो भएको उनको गुनासो छ ।

मुलपानीमा जग्गा भाडामा लिएर साग खेती गर्दै आएका शुक्र तामाङ विषादी भेटिएको खबरपछि लाखभन्दा बढी घाटा भएको सुनाउँछन् । औषधि, उपचार नगरी साग राम्रो नहुने, साग राम्रो हुँदा नबिक्ने हुँदा किसानलाई कसै गरे पनि सुख नभएको तामाङको गुनासो छ ।

‘कीरा लागेको साग देख्यो भने मान्छेहरू छ्या खान्न भन्छन् । राम्रो बनाउन खोज्यो औषधि हालेको भन्छन्, केही गरे पनि सुख छैन,’ उनले गुनासो पोखे।

निकै सस्तो मूल्यमा साग बेच्दा पनि गाडी भाडासमेत उठेन भन्दै व्यापारीले गुनासो गर्ने गरेको तामाङले बताए ।

भक्तपुर, मुलपानी क्षेत्रबाट साग उठाएर कोटेश्वरमा बेच्दै आएकी लक्ष्मी अधिकारी अचेल ग्राहकले साग हेर्दै नहेर्ने गुनासो गर्छिन् ।

‘कीरा लागेको साग देख्यो भने मान्छेहरू छ्या खान्न भन्छन् । राम्रो बनाउन खोज्यो औषधि हालेको भन्छन्, केही गरे पनि सुख छैन’ शुक्र तामाङ,किसान

‘विषादी छ खानु हुँदैन भन्छन्,’ लक्ष्मी सुनाउँछिन्, ‘किन्दै किन्दैनन्, कतिले त हेर्दै, हेर्दैनन् ।’ पहिला दिनमा १ सय ५० मुठासम्म बिक्री हुनेमा अहिले ५० मुठा बिकाउन पनि मुस्किल परेको उनको भनाइ छ ।

जति सस्तोमा दिँदा पनि साग बिक्न छाडेको शान्तिनगरस्थित तरकारी बजारका व्यापारी रामनाथ राउत गुनासो गर्छन् । राउतले मुलपानी क्षेत्रका खेतबारीबाट साग उठाउँदै आएका छन् ।

‘चार रुपैयाँ, दुई रुपैयाँ किलोमा बेच्दा पनि बिक्दैन,’ राउत भन्छन्, ‘पहिला झन्डै दिनको ८० झोला बेच्थेँ, अहिले ३० झोला ल्याउँदा तीन दिन पुग्छ, त्यो पनि आधा फाल्नुपर्छ ।’

विषादीको हल्लाले मात्रै नभएर धेरै उत्पादन भएकाले पनि साग बिक्री नभएको अर्का व्यापारी पशुपति अधिकारीको बुझाइ छ ।

भेटिन छाड्यो विषादी

पुस महिनामा गरिएका परीक्षणमा विषादी भेटिए पनि पछिल्ला दिनमा सागमा कुनै विषादी नदेखिएको केन्द्रीय कृषि प्रयोशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार माघको ३–४ गतेपछि गरिएको परीक्षणमा विषादी देखिएको छैन । सागमा विषादी भेटिएपछि साग खेती हुने क्षेत्रमा गएर सचेतनामूलक कार्यक्रम समेत गरिएको उनले बताए ।

९ माघमा थिमि र १० मा कागेश्वरी मनोहरा थलीमा कार्यक्रम गरिएको थियो । त्यहाँ खेती गरिएको सागबाट नमुना ल्याएर परीक्षण गर्दा विषादी नदेखिएको तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार थिमिबाट १० र कागेश्वरी मनोहराबाट ११ वटा नमुना लिएर परीक्षण गर्दा विषादी देखिएको थिएन ।

विषादी हाल्ने बित्तिकै बजार ल्याउनु हुँदैन

तरकारीमा औषधि प्रयोग गरेपछि निश्चित समय नपर्खिएर बजार पठाइहाल्दा यस्तो समस्या देखिएको बाली संरक्षण अधिकृत तिमिल्सिनाको भनाइ छ ।

उनका अनुसार कुनै विषादी वा रसायन प्रयोग गरेपछि ‘वेटिङ पिरियड’ हुन्छ । त्यो समय कुरेर तरकारी बजार पठाउँदा त्यसमा विषादी देखाउँदैन । विषादी हेरेर तीन दिन एक साता, २१ दिनसम्म पनि पर्खिनुपर्ने हुन्छ ।

झार मार्ने औषधि हालिएको छ भने त्यसको असर ७०–७५ दिनसम्म पनि रहन्छ । अर्गानोफोस्फेट समूहमा रहेका विषादी रायोसागमा भेटिएको थियो ।

झार मार्ने औषधि हालिएको छ भने त्यसको असर ७०–७५ दिनसम्म पनि रहन्छ । अर्गानोफोस्फेट समूहमा रहेका विषादी रायोसागमा भेटिएको थियो ।
शान्तिनगर तरकारी बजारमा विक्री नभएर थुप्रिएको रायोसाग ।

‘ती खालका विषादी हाल्नै हुँदैन भनेर भन्न त मिलेन, त्यति धेरै हानिकारक हुन्थ्यो भने सरकारले दर्ता पनि गर्दैनथ्यो । वैज्ञानिकहरूले पनि अनुसन्धान गरेरै बनाएका हुन्,’ तिमिल्सिना भन्छन्, ‘किसानको श्रम, पैसा लगानी भएको हुन्छ, बाली जोगाउनुपर्छ, तर सही तरिकाले प्रयोग गर्नुपर्‍यो ।’

सकेसम्म विषादी प्रयोगको विकल्पमा जाने र नगरी नहुने भयो भने समय पर्खिएर मात्रै बजार पठाउन किसानलाई तिमिल्सिनाको सुझाव छ ।

मानव स्वास्थ्यमा विषादीको असर कस्तो ?

विषादी छर्ने किसान, व्यापार गर्ने व्यक्ति र खाने उपभोक्ता समेतलाई यस खालका विषादीले असर गर्ने जनरल प्राक्टिसिनर डा. पुष्पमणि खराल बताउँछन् ।

उनका अनुसार त्यस्ता रसायन शरीरभित्र जाँदा जुनसुकै अंगलाई असर गर्न सक्छन् । कलेजो, दिमागमा असर गर्ने खालको हुन्छन् , कुनै नसामा असर गर्ने खालका हुन्छन् ।

बोनम्यारोमा रक्तकोषिका उत्पादनमा कमी ल्याउने काम पनि त्यस खालका विषादीले गर्छन् । आँखा, छाला आदिमा पनि यसले असर गर्न सक्छ । यस खालको विषादी प्रयोग गर्दा सचेत रहन डा. खरालको सुझाव छ ।

लेखकको बारेमा
केदार गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?