२६ पुस,काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादित केही रायोसागमा अत्यधिक विषादीको मात्रा फेला परेको छ ।
एकीकृत कृषि प्रयोगशालाको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइका अनुसार कालिमाटी तरकारी तथा फलफूल बजारमा पछिल्लो केही दिन लगातार रायोसागमा विषादीको मात्रा उच्च देखिएको हो ।
प्रयोगशालाका बाली सरंक्षण अधिकृत महेश तिमल्सिनाका अनुसार उपत्यकामै फलेर कालिमाटीमा ल्याइएका रायोसागमा खान अयोग्य हुने मात्रामा विषादी मात्रा देखिएको हो ।
‘हामीले लगातार परीक्षण गरिरहेका हुन्छौं तर केही दिनयता भक्तपुर सहित उपत्यकाबाट आएको सागमा अधिक विषादी देखिएको हो,’ तिमल्सिनाले भने ।
उनका अनुसार मंगलबार गरिएको १४ नमुनामध्ये ४ मा खान अयोग्य हुने गरी विषादी प्रयोग भएको फेला परेको हो ।
बुधबार भने २० वटा परीक्षण गर्दा सागमा नदेखिए पनि रातो सिमीमा पनि विषादी देखिएको छ । ‘पछिल्लो समय तरकारीमा खान अयोग्य हुने गरी रासायनिक विषादी पाउन थालिएको छ । यसले के देखाउँछ भने हाम्रा भान्सा अस्वस्थकर देखिन थालेको छ,’ तिमल्सिना भन्छन् ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको देशभरि संघ सरकार मातहत रहेका १२ थोक तरकारी बजारमा एकाइ छ ।
‘आत्तिहाल्नुपर्ने अवस्था त होइन, तर सागमा लगातार विषादी देखिँदा अलि गम्भीर चाहिँ हुनुपर्ने छ,’ तिमल्सिनाले अनलाइनखबरसँग भने ।
किसानलाई जनचेतना भएन
तिमल्सिनाका अनुसार किसानमा जनचेतना अभाव हुँदा तरकारीमा विषादी मात्रा उच्च देखिरहेको हो ।
‘सागमा लाइकिरा देखिएपछि किसानले रासायानिक विषादी हाल्ने गरेका हुन्छन् तर त्यसपछि केही दिन नकुरी भोलिपल्टै बजार ल्याउँछन् । वेटिङ पिरियड नराखी बजार ल्याउँदा विषादीकोे मात्रा धेरै देखिएको हो,’ उनले भने ।
प्रयोगशालाले देशभरिका कृषि ज्ञान केन्द्रमार्फत किसानलाई जनचेतना जगाउने काम गर्ने उनले बताए ।
प्रतिक्रिया 4