
२५ फागुन, काठमाडौं । सिरियाको लटाकिया र टार्टसमा केही दिनदेखि सेना र पूर्व राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीच झडप भइरहेको छ। पछिल्ला दुई दिनमा मात्रै एक हजारभन्दा बढी मानिस मारिएका छन् ।
यो मृत्यु संख्यालाई सन् २०११ मा सुरू भएको सिरियाली गृहयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति मानिएको युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
संस्थाका अनुसार, पछिल्ला दुई दिनमा सुरक्षाकर्मीहरूले अलावी मुस्लिम समुदायका ७४५ भन्दा बढी व्यक्तिहरूको हत्या गरेका छन्, जसमा अधिकांशलाई झुन्ड्याएर मारिएको छ।
त्यसैगरी, असद समर्थक १४८ लडाकू मारिएका छन् भने झडपमा सुरक्षाकर्मीका १२५ जवानको पनि मृत्यु भएको छ।
असद देश छोडेर रसिया भागेका थिए
गत वर्ष डिसेम्बरमा सैन्य कु भएपछि बशर अल-असद देश छोडेर रसिया भागेका थिए। त्यसपछि सिरियाको सत्ता उग्रवादी संगठन हयात तहरीर अल-शामको हातमा गएको थियो।
सिरिया सरकारले असद समर्थक लडाकूहरूले नै पहिलो पटक सुरक्षा बलमाथि हमला गरेका र देशमा हिंसा भड्किएको दाबी गरेको छ । तर, असद समर्थकहरूले सुरक्षाकर्मीहरूले आवासीय क्षेत्रमा बमबारी गरेको आरोप लगाएका छन्।
रिपोर्टअनुसार, सुरक्षा बलहरूले एक व्यक्तिलाई गिरफ्तार गर्ने प्रयास गरेसँगै झडप सुरु भएको हो। त्यसपछि सरकारले लटाकिया र टार्टसमा ठूलो संख्यामा सेना परिचालन गरेको छ र कर्फ्यु आदेश जारी गरेको छ।
लटाकिया र टार्टस अलावी समुदायको बलियो क्षेत्र मानिन्छ। यो समुदाय बशर अल-असदप्रति बफादार मानिन्छ।
गत डिसेम्बरमा असदलाई सत्ता च्युत गरिएपछि यो अहिलेसम्मकै सबैभन्दा भीषण हिंसा हो।
निकटविगतको सत्तापलट
मिडिया रिपोर्टअनुसार, सन् २०१६ मा सिरियाली गृहयुद्ध कम भएपछि अबु मोहम्मद अल-जुलानी आफ्नो सैन्य शक्ति बलियो बनाउन लागे। उनले चीनका उइगर मुसलमान, अरब, र सेन्ट्रल एसियाका लडाकूहरूको सहयोगमा आफ्नै फौज तयार गरे।
जुलानीले इजरायल-हमास युद्ध र रसिया-युक्रेन युद्धकै बीचको यो समयलाई आफू अनुकूलको समयको रूपमा रोजेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।
सन् २०२२ मा रसिया-युक्रेन युद्ध सुरू भएपछि रसिया सिरियाबाट आफ्ना सैनिकहरू हटाउन बाध्य भएको थियो। सन् २०२३ मा इजरायल-हमास युद्ध सुरू भयो, जसका कारण ईरान र हिजबुल्लाहले सिरियामा असदलाई दिने समर्थन कमजोर भयो।
हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएपछि संगठन थप कमजोर बन्यो। यही अवसरको फाइदा उठाउँदै जुलानीले सिरियाली सेनामाथि हमला गरे र ११ दिनभित्रै राष्ट्रपति असदको सत्ता उल्टाए।
राष्ट्रिय एकता र शान्तिका लागि आह्वान
सिरियाली नेता अहमद अल–साराले आइतबार सुरक्षा बल र पूर्व सरकारका समर्थकहरूबीच दैनिकको झडपपछि शान्ति र राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । झडपहरूमा मारिनेमध्ये अधिकांश अलावी नागरिकहरू छन् ।
साराले दमास्कसको छिमेकमा रहेको मस्जिदबाट दिएको भाषणमा भने, ‘हामीले सकेसम्म राष्ट्रिय एकता र नागरिक शान्तिको रक्षा गर्नुपर्दछ र ईश्वरको इच्छामा हामी यस देशमा सँगै बस्न सक्षम हुनेछौँ ।’ त्यो त्यही मस्जिद हो जहाँ उनले आफ्नो बाल्यकाल बिताएका थिए ।
उनले भने, ‘जबसम्म मस्जिदहरूले आफ्ना बालबालिकालाई नैतिकता र जनतामा निष्पक्षता र न्याय सिकाउँछन्, ईश्वरको इच्छामा सिरियाका लागि कुनै डर छैन ।’
एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4