 
																			२७ चैत, काठमाडौं । लामो समयको खडेरीले आहत भएका नेपालीहरुलाई हिजो र आजको हल्कादेखि मध्यम खालको वर्षाले केही राहत दिएको छ । मौसमविदहरुले तीन दिन पानी पर्ने प्रक्षेपण गरेकाले कृषि प्रधान देशका बासिन्दामा खुसीको सञ्चार हुनु स्वाभाविक पनि छ ।
तर के, यो पानीले सुक्खा, खडेरी र वायु प्रदूषणको समस्या अब हट्ला ?
जल तथा मौसम विज्ञान विभागका मौसमविदको भनाइलाई आधार मान्ने हो भने तत्काल समस्या समाधान हुने सम्भावना छैन ।

विभागकी प्रवक्ता विभूति पोखरेल ‘आगामी तीन दिन देशका पहाडी क्षेत्रहरुमा वर्षाको सम्भावना भए पनि देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएको’ बताउँछिन् । त्यसैले मौसम सम्बन्धी जानकारीमा अध्यावधिक हुन र आवश्यक सतर्कता अपनाइरहन उनी अपिल गर्छिन् ।
नेपालभर वर्षा अत्यन्त न्यून
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही महिनामा नेपालभर वर्षा अत्यन्त न्यून भएको छ । साथै तापक्रम औसतभन्दा बढी बढ्दै गएको छ । त्यसैले वायुमण्डल सुख्खा बन्न पुगेको छ । यसको असरस्वरूप वायु प्रदूषण थप जोखिमपूर्ण बन्दै गएको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार हिजोसम्म काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा थियो ।

आज पानी परेको दिन भने एक स्थान तल झरेको छ । आज बिहान चार बजेसम्मको विवरण हेर्दा काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७७ छ । यो ‘अस्वस्थ तह’को अवस्था हो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार एक्यूआई ०–५० हुँदा राम्रो मानिन्छ । ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार प्रदूषण बढाउनमा लामो समयसम्म वर्षा नहुनु पनि एक कारण हो ।
जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार मनसुनपछिको पोस्ट–मनसुन अवधि (अक्टोबरदेखि नोभेम्बर २०२४) मा देशभर सरदर ६४ मिलिमिटरको तुलनामा १९.६ प्रतिशतले कम वर्षा भएको थियो भने सरदर तापक्रम ०.७ डिग्री सेल्सियसले बढेको थियो ।
त्यसैगरी, हिउँदे अवधिमा (डिसेम्बर २०२४ देखि फेब्रुअरी २०२५) वर्षा ७९.४ प्रतिशतले न्यून र तापक्रम ०.५ डिग्री सेल्सियसले बढी मापन भएको थियो ।

गएको मार्च महिनामा पनि वर्षा २९.५ प्रतिशतले कम हुँदा सरदरभन्दा ०.८ डिग्री सेल्सियसले तापक्रम बढी देखिएको थियो ।
विभागका अनुसार चैत ९ र १० गते अर्थात् मार्च २२ र २३ का दिन केही हल्का र मध्यम वर्षा भए पनि त्यसयता पर्याप्त वर्षा हुन सकेन । साथै पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेको र तापक्रममा वृद्धि भएकोले वायुमण्डल सुक्खा भयो ।
सुक्खा मौसम र तुवालोको असरले वायुमण्डलको पारदर्शिता घटेर वायु प्रदूषण अझ जोखिमयुक्त अवस्थामा पुगेको विभागको भनाइ छ ।
अप्रिल महिना पनि सुक्खा हुने आँकलन
विभागकी प्रवक्ता पोखरेलका अनुसार अहिले जारी अप्रिल महिनामा पनि कम वर्षाको सम्भावना छ । अप्रिल महिनामा सरदर ५८.७ मिलिमिटर वा त्यसभन्दा कम वर्षाको संभावना रहेको आँकलन विभागले गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आगामी तीन दिन देशका पहाडी क्षेत्रहरुमा वर्षाको सम्भावना भएपनि देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकोले मौसम सम्बन्धी जानकारी अध्यावधिक हुन तथा आवश्यक सतर्कता अपनाउन हुन यो विभाग सबैमा हार्दिक अपिल गर्दछ ।’
०००
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4