 
																			१२ वैशाख, काठमाडौं । कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र अरुखाले सक्रियता खासै नबढाए पनि चियापानको परम्परा भने बाक्लै चलाउँदै आएका छन् । कोइराला चियापान आयोजना गर्न सम्भवतः पार्टीभित्र पहिलो स्थानमा छन् ।
यसपल्ट पनि नयाँ वर्ष र लोकतन्त्र दिवसको अवसर पारेर उनले ११ वैशाखमा महाराजगञ्जस्थित निवासमा चियापान आयोजना गरे ।
१४औं महाधिवेशनपछि उनले दुईपटक (महासमिति बैठक लगत्तै र अघिल्लो साउनमा) चियापानका लागि नेता/कार्यकर्तालाई आमन्त्रण गरेका थिए ।
बिहीबारको चियापान पूर्वपदाधिकारी बैठकको श्रृङ्खलाको विस्तारित रूप थियो । कांग्रेसमा पूर्वपदाधिकारीहरू सम्मिलित भएर १५औं महाधिवेशनमा फरक प्यानल बनाई प्रतिस्पर्धा गर्नेगरी नेताहरू जुटिरहेका छन् ।
पूर्वपदाधिकारीको समूह बनाउने गरी हुने छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ लगायतका नेताहरू जुट्ने गरेका छन् । यो समूहमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि जोडिन पुगेका छन् ।
समूह बैठकको निरन्तरताको क्रममा भएको चियापानमा यी नेताका अतिरिक्त शीर्ष तहका अन्यलाई भने आमन्त्रण गरिएको थिएन ।
कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका पुत्रबाट एक जना सभापतिको उम्मेदवार हुने प्रयत्न १४औं महाधिवेशन अघिदेखिकै हो । त्यो बेला तीनजनाबाट साझा उम्मेदवार तय गर्न असफल रहे ।
१५औं महाधिवेशनमा एकतावद्ध हुने अभिप्रायले उनीहरूले पुन: तदारुकता देखाएका छन् । एकत्रित गराउने प्रयत्नको सुरुवात नेता शशांकले गत असोजदेखि सुरु गरे ।
उपप्रधान एवं शहरी विकासमन्त्री सिंहनिवास चाक्सीबारी हुँदै पूर्वउपसभापति निधिनिवास मध्यबानेश्वर बैठकसम्म पुग्दा समूहमा संख्या थपिएको छ ।
१६ चैतमा निधि निवासमा भएको बैठकमा सिटौला, गच्छदार र गोपालमान थपिए । बिहीबारदेखि पूर्वसहमहामन्त्री डा. प्रकाशरण महत पनि थपिएका छन् ।
परिपक्व व्यक्तिबाट सभापति हुनुपर्ने उद्देश्यसहित उपल्लो तहका नेताहरूको श्रृङ्खलावद्ध छलफल भइरहेको केन्द्रीय सदस्य गुरु बराल बताउँछन् । ‘उहाँहरूबाट एक जनालाई सभापतिको उम्मेदवार बनाऔं भन्ने उहाँहरूलाई लागेकै छ,’ बरालले अनलाइनखबरसँग भने, ‘कसले कसलाई स्वीकार्ने भन्दा समकालीनलाई स्वीकारौं भन्ने पनि हुन्छ नि ।’

कांग्रेसका एक पूर्वपदाधिकारीका अनुसार तीन जनाबाट समूहको संख्या सात जना पुग्नुमा सभापति शेरबहादुर देउवाको आश्वासनले समेत काम गरेको छ । उनका अनुसार नेता कृष्णप्रसाद सिटौला र डा. शशांकले सभापति देउवालाई केही समयअघि छुट्टाछुट्टै भेटेका थिए ।
१५औं महाधिवेशनमा देउवाको समर्थनमा सभापतिको उम्मेदवार हुने चाहना व्यक्त दुवैले राखे । देउवाले ‘सक्रियता बढाउन’ दुवैलाई भनेका थिए । त्यसलगत्तै सिटौलाको सक्रियतामा सामूहिक भेटका लागि ११ जना नेता देउवा निवास बुढानीलकण्ठ पुगे । यसबीचमा शशांकको पनि गतिविधि बढ्न थाल्यो ।
१५औं महाधिवेशनमा सभापतिका आकांक्षी नेता शशांकले यसबीचमा तराई–मधेशका अधिकांश जिल्लाको भ्रमण सकेका छन् । उनी निकट नेताहरूका अनुसार गण्डकी प्रदेशका जिल्ला भ्रमणमा निस्कने शशांकको तयारी छ ।
जिल्ला सभापति, जिल्ला पूर्वसभापति, पूर्वमन्त्रीहरूसँग शशांक निरन्तर छलफलमा छन् । केन्द्रीय सदस्य बराल सभापतिमा आकांक्षा राख्नेहरूमा शशांकको दाबी स्वभाविक रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँ विवादरहित पात्र हुनुहुन्छ । सभापतिमा यसअघि प्रतिस्पर्धा नगरेको हुँदा न्यू टेस्ट पनि भयो ।’
भेटघाटमा निरन्तर जुटिरहेका नेतामध्ये सिटौला, निधि र प्रकाशमान एकपटक सभापतिको उम्मेदवार बनिसकेका छन् । सिटौला १३औं, निधि र प्रकाशमान १४औं सभापतिका उम्मेदवार बने पनि जित निकाल्न सकेनन् ।

सामूहिक छलफलमा जुटेका सातजनामा गच्छदार र प्रकाशशरण बाहेक अन्य पाँच जना सभापतिका आकांक्षी हुन् । कांग्रेस नेताहरूका अनुसार त्यो समूहबाट सिटौला र शशांक अन्यभन्दा ‘बलियो दाबीकर्ता’ हुन् । सिटौलाले १४औं महाधिवशेनमा सभापतिमा देउवासँग प्यानल बनाएका थिए । शशांक त्यो बेला तटस्थ बसेका थिए ।
त्यसबेला संस्थापनइतरमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न शशांक तयार भएका थिए । नेता डा. शेखर कोइराला र प्रकाशमानले सभापतिको उम्मेदवारमा पौडेललाई समर्थन गरेनन् ।
संस्थापनइतरबाट सभापतिमा एकल उम्मेदवार बन्ने परिस्थिति नबनेपछि पौडेलले त्यसबेला आफ्नो समूहका नेतालाई भनेको स्मरण गर्दै एक नेता सुनाउँछन्, ‘अब आ–आफ्नो तरिकाले अघि बढौं । मैले र शशांकजीले कसैलाई साथ दिन सक्दैनौं ।’
शेखर र प्रकाशमानका कारणले समूहबाट सभापतिको प्रत्यासी हुन त्यसबेला नपाएको निष्कर्षमा पुगेका पौडेलले अप्रत्यक्ष रूपमा शशांकलाई सघाउने कांग्रेसभित्र बुझाइ छ ।
शशांकलाई अघि सार्दा सभापति देउवाले अन्य पदमा आफू अनुकूलका व्यक्तिहरू सहितको प्यानल बनाउन सक्ने विश्लेषण नेताहरू गर्छन् ।
दुई अवस्थामा मात्रै सभापतिमा शशांक उम्मेदवार हुने सुनाउँदै शीर्ष तहका एक नेताले भने, ‘कि देउवाले समर्थन गर्नुपर्यो, होइन भने, अहिले जुटिरहेका नेताहरूले समर्थन गरे मात्रै शशांकले उठ्ने हिम्मत गर्ने हुन् ।’
शशांक निकट केन्द्रीय सदस्य उर्मिला थपलिया कोइराला सभापतिमा उठ्ने निश्चित रहेको दाबी गर्छिन् । उनले भनिन्, ‘जुनसुकै अवस्थामा पनि डा. साब सभापतिको उम्मेदवार हो । देउवा वा अरु नेताको समर्थन पाए उठ्ने नत्र नउठ्ने गरी उहाँ लाग्नुभएकै छैन ।’
नेता/कार्यकर्तालाई नचिढ्याउने नेताको पहिचान शशांकले बनाएका छन् । कम बोल्ने उनको शैली छ । उनी सबैका लागि सहज नेताका रूपमा समेत परिचय बनाएका छन् । शशांकलाई सभापति बनाउँदा उनलाई ‘आफू अनुकूल’ बनाउन सकिने बुझाइ पार्टीका नेताहरूमा छ ।

शीर्ष तहका एक नेता भन्छन्, ‘शशांकलाई बनाउँदा उनलाई मात्रै बनाए भयो । उनी बाहेक अरु हुँदा ती नेताले आफ्नै मान्छे च्याप्छन् । आफू हुन नसके ती सबैको दोस्रो रोजाइमा शशांक नै छन् ।’
पछिल्लो समय शशांक निवासमा नेता/कार्यकर्ताको उपस्थिति बढ्न थालेको छ । शशांक निवासमा महाराजगञ्ज निवासमा दिनहुँजसो पुग्ने नेताहरूमा दिलेन्द्र बडू, दिलबहादुर घर्ती, उर्मिला थपलिया, किरणकिशोर घिमिरे लगायत छन् । पछिल्लो समय नेता महेश आचार्य उनको निवासमा बाक्लै पुग्ने गरेका छन् ।
१३औं महाधिवेशनमा निर्वाचित महामन्त्री बनेका शशांक १४औं महाधिवेशनमा केन्द्रीय सदस्य बने । सभापतिमा देउवालाई पराजित गर्नसक्ने एक मात्रै पात्र आफू हुने दाबी शशांकले गर्दै आएका थिए ।
उनले सभापतिमा उठेका शेखरलाई प्रत्यक्ष समर्थन भने त्यसबेला गरेनन् । कांग्रेस नेताहरू १५औं महाधिवेशनमा पनि शेखर र शशांक मिल्ने अवस्था देख्दैनन् । कोइराला परिवारबाट एकजना उम्मेदवार बनाउने उद्देश्यसहित नेता शेखरले नेत्री सुजाता कोइरालालाई आफ्नो पक्षमा ल्याएका छन् । शेखर निकट नेताहरूले शशांक पनि जोडिने दाबी गरे पनि पार्टीका अधिकांश नेता दुईजनाको मिलनको सम्भावना देख्दैनन् ।
सभापति पदका आकांक्षी अन्य अनुहारको एकपटक प्रतिस्पर्धा गरिसकेको हुँदा शशांकले प्राप्त गर्नसक्ने मतको परीक्षण भने भएको छैन । संस्थापक नेता बीपीपुत्र हुनुको लाभ उनलाई छ । महामन्त्री हुँदा देखाएको भूमिका र बदलिँदो हालको परिस्थितिले कांग्रेसलाई शशांकले हाँक्न नसक्ने विश्लेषण समेत नेताहरू गर्छन् ।
आँखा चिकित्सक शशांकलाई सक्रिय राजनीतिमा पूर्वसभापति गिरीजाप्रसाद कोइरालाले ल्याएका थिए । १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी १३औंमा महामन्त्री निर्वाचित भए । गत महाधिवशेनमा खुलातर्फ केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर जितेका थिए ।
१३औं महाधिवेशनबाट कार्यकारी पद महामन्त्रीमा जिते पनि पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ । २०६४ सालदेखि पूर्वी नवलपरासीबाट उनले चुनाव जित्दै आएका छन् ।
संविधानले व्यवस्था गरेको धर्म निरपेक्षताबारे शशांकले पार्टीभित्र फरकमत राख्दै आएका छन् । उनी भन्छन्, ‘धर्म सापेक्ष पनि हुँदैन, निरपेक्ष पनि हुँदैन । धर्म स्वतन्त्र हुन्छ ।’ संविधानमा नेपाल धार्मिक स्वतन्त्रता सहितको राष्ट्र हुनुपर्ने उनको विचार छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4