 
																			१६ वैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले दलविहीनहरूले गलत मनसायसहित राजनीतिक दलहरू खत्तम भन्ने भाष्य स्थापित गर्न खोजेको बताएका छन् ।
हेटौंडाको बस्तीपुरमा मंगलबार आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बस्नेतले दलहरूको विकल्प निर्दलीय नहुने बताए ।
‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तरसम्बन्धित छन् । दलहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हुँदै दलभित्रका कमजोरीलाई स्वीकार्दै, सच्याउँदै अगाडी बढ्नुपर्छ,’ उनले भने ।
सरकारका बिचौलियाहरूको हितमा निर्भर रहेको भन्दै उनले सरकारबाट एमालेले फाइदा लिने कि कांग्रेसले भन्ने गलत किसिमको होडबाजी चलिरहेको बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खेलकुद महासंघका फ्याक्सन इन्चार्ज दीपक कोइरालाले शैक्षिक स्वयंसेवीहरूले आफूलाई समाजवादी सेनाको रूपमा विकास गर्नुपर्ने बताए ।
बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तानले समाजवाद र सुशासनको बाहक संगठनको रूपमा सम्मेलनले निर्देशित गर्ने विश्वास व्यक्त गरिन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज विजय गौतमले विचारहीन युवा लगामविनाको घोडाजस्तै भएको भन्दै युवाहरूलाई सहि विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
आयोजक समितिका अध्यक्ष केशव महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका बागमति प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्लासचिव वीरबहादुर घलानलगायत नेता– कार्यकर्ताको उपस्थिति थियो ।
सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सिता नेपाली, शिवकुमार त्वत, विकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत सदस्यहरू निर्वाचित भएका छन् ।
सम्मेलनमा देशभरबाट करिब एक सय प्रतिनिधि सहभागी भएको संगठनका बागमती प्रदेश अध्यक्ष ईश्वर लामिछानेले जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4