News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटमा तीनपटक विजेता शक्तिबहादुर बस्नेत चौथोपटक संसद् पुग्न नसकेर कांग्रेसका खड्कबहादुर बुढासँग पराजित भएका छन्।
- बस्नेतले २० हजार १४२ मत ल्याएका बुढाले १७ हजार ४०४ मत पाएका थिए।
- स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेले ३/३ पालिका जित्दा माओवादी केन्द्रले केवल १ पालिका जितेको थियो।
२३ फागुन, काठमाडौं । जाजरकोटको राजनीतिक मैदानमा तीनपटकको जितपछि आफ्नो विरासत जोगाउने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएका शक्तिबहादुर बस्नेत अन्ततः यसपटक पराजित भएका छन् ।
अघिल्ला निर्वाचनमा जस्तो गठबन्धनको बल नपाउँदा र बढ्दो प्रतिस्पर्धाका कारण उनको चौथोपटक संसद् पुग्ने योजना सफल हुन सकेन । यसपटक उनी कांग्रेसका खड्कबहादुर बुढासँग पराजित भए । बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०४ मत ल्याए ।
बस्नेत सशस्त्र संघर्षको समयदेखि लागेका र नेकपा संयोजक पुष्पकमल दाहालका विश्वास पात्र थिए । उनी दाहालकै सचिवालयमा बसेर काम गरेका उनी उनका निकट सहयोगी थिए ।
जनवादी गणतन्त्र स्थापनाको लक्ष्यसहितको युद्धमा सहभागी भएका उनी पछिल्लो समय संसदीय राजनीतिमा स्थापित हुँदै गएका थिए । तर यसपटकको निर्वाचन उनको संसदीय यात्रा अवरोध भयो ।
राजनीतिशास्त्रमा स्नातकोत्तर बस्नेतको राजनीतिक यात्रा नेकपा एकता केन्द्र (मशाल) बाट सुरु भएको थियो। २०४६ सालको जनआन्दोलनमा मशालबाट सहभागी भएका उनी २०४८ मा राप्ती क्षेत्रीय समन्वय समिति सदस्य र २०४९ मा जाजरकोट जिल्ला सेक्रेटरी बनेका थिए । २०५१ मा नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग–संघर्षको नेतृत्व गर्दै उनी माओवादी आन्दोलनको महत्वपूर्ण हिस्सामा रहे।
पार्टीभित्र उनको प्रभाव क्रमशः बढ्दै गयो। २०५५ मा वैकल्पिक केन्द्रीय सदस्य, त्यसपछि केन्द्रीय सदस्य र भेरी–कर्णाली क्षेत्रीय ब्यूरो इन्चार्ज बने। २०५९ मा पोलिटब्यूरो सदस्य भएपछि भेरी–कर्णाली र थारूवान क्षेत्रीय ब्यूरोको नेतृत्व गर्दै उनले पार्टीको जनमुक्ति सेनामा डिभिजन कमिसारको भूमिका पनि निर्वाह गरे।
शान्ति प्रक्रियापछि उनको राजनीतिक यात्रा संसदीय राजनीतिमा केन्द्रित भयो। २०६४ मा समानुपातिकतर्फबाट पहिलो संविधानसभामा प्रवेश गरेका बस्नेत २०६८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट–१ बाट प्रत्यक्ष निर्वाचित भएपछि उनी गृहमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी हुँदै उनले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाए। २०७९ मा तत्कालीन सत्ता गठबन्धनको साथमा पुनः निर्वाचित हुँदै उनले संसदीय चुनावमा ‘ह्याट्रिक’ पूरा गरेका थिए। यससँगै उनी जाजरकोटबाट सबैभन्दा धेरै चुनाव जित्ने र पटक–पटक मन्त्री बन्ने नेतामध्येमा परे।
तर यसपटकको निर्वाचनमा परिस्थिति फरक थियो। अघिल्लो चुनावमा जस्तो गठबन्धनको ‘रेडिमेड’ मत नहुँदा उनलाई कठिन प्रतिस्पर्धा सामना गर्नुपर्यो। एमालेले पुनरागमनको प्रयास गर्दै उम्मेदवार डम्बरबहादुर सिंहलाई अघि सारेको थियो भने कांग्रेसबाट खड्कबहादुर बुढा मैदानमा थिए।
स्थानीय तह निर्वाचनको नतिजाले पनि बस्नेतका लागि चुनौती संकेत गरिसकेको थियो। जाजरकोटका ७ पालिकामध्ये कांग्रेस र एमालेले ३/३ प्रमुख जित्दा माओवादी केन्द्रले केवल १ पालिकामा प्रमुख जितेको थियो। यस्तो समीकरणले बस्नेतको सांगठनिक पकड कमजोर हुँदै गएको संकेत दिएको थियो।
गत प्रतिनिधिसभा निर्वाचनमा उनले ३४ हजार १५१ मत ल्याएर एमालेका निरजप्रसाद आचार्यलाई ९ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। तर यसपटक गठबन्धनको अभाव, कांग्रेसको सक्रियता लामो समय सत्तामा रहेपछि देखिएको ‘एन्टी–इन्कम्बेन्सी’ प्रभावका कारण बस्नेतको राजनीतिक ह्याट्रिकपछि सुरु भएको विरासत यात्रामा ब्रेक लागेको छ ।
प्रतिक्रिया 4