
१८ वैशाख, काठमाडौं । काठमाडाैं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको निष्कर्ष निकालिएको छ ।
काठमाडौं महानगरपालिकाले युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा जनकल्याण माध्यमिक विद्यालय, बौद्धको बहुउद्देश्यीय सभा कक्षमा आयोजना गरेको ‘नव प्रवर्तनका कोणबाट शैक्षिक नीति र अभ्यासको अनुकल र प्रतिकुल परिस्थिति’ विषयक गोलमेचबाट यस्तो निष्कर्ष आएको हो ।
एउटै गोलमेचमा वरिपरि बसेर संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, बहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरूले आपसी अभ्यास आदानप्रदान गरेका थिए ।
आफूले कार्यान्वयनमा ल्याएका अभ्यास र आफूले सुनेका नवीनतम शैक्षिक अभ्यासको अनुकूलता र प्रतिकूलताको विश्लेषण र आगामी दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा आपसी कुराकानी भएको भयो ।
नवीनतम शैक्षिक कार्यक्रमको प्रतिनिधि कथाका रूपमा महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ (पुस्तकरहित शुक्रबार) लाई राखिएको थियो । कार्यक्रम कार्यान्वयन गर्न तर्जुमा गरिएका नीतिगत प्रबन्ध, यसको कार्यान्वयन प्रक्रियामा बजेट, योजना तथा कार्यक्रम कार्यान्वयनको अभ्यास प्रस्तुतिपछि उसलाई उदाहरण कथा बनाइएको थियो ।
कार्यक्रमका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा र शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले संयुक्त प्रस्तुतीकरण गरेका थिए ।
शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’ महानगरपालिकाले लगानी बढाएको छ ।
‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन् ।
प्रस्तुति अनुसार सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ ।
शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसईईमा ७८ प्रतिशत नतिजा आएको छ । नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
स्वर्णिम योजना सुन्दर विद्यालयले वातावरणीय सुधार, स्वच्छता र सरसफाइका लागि काम भएको छ । स्वर्णिम योजना रचनात्मक विद्यालयले खेललाई शिक्षासँग जोडेर सञ्चालन गरिने कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुगेको छ ।
कक्षा कोठाहरूमा स्मार्ट बोर्ड, ल्यापटपसहित सूचना प्रविधिका उपकरण प्रदान गरेर सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिन्छ । शिक्षकहरूको क्षमता विकासका लागि टिचर्स कलेज कार्यक्रम, विषयगत तालिम सञ्चालन गरिएको प्रस्तुतिमा उल्लेख थियो ।
‘बुक फ्रि फाइडे’कै चर्चा र चासो
छलफलमा पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख तुलसीराम रेग्मी, बडीमालिका नगरपालिका, बाजुराका प्रमुख अमर खड्का, लेकबेसी नगरपालिका, सुर्खेतका प्रमुख उमेशकुमार पौडेल, सिमिकोट गाउँपालिका, हुम्लाका अध्यक्ष विजय भण्डारी, जानकी गाउँपालिकाका गणेश चौधरी, सुनापाती गाउँपालिका रामेछापका अध्यक्ष ठूलोकान्छा तामाङ्, गढवा गाउँपालिकाका दाङका अध्यक्ष यमनारायण शर्मालगायत विभिन्न जिल्लाका जनप्रतिनिधि सहभागी थिए ।
उनीहरूले काठमाडौंले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालनको प्रयास गर्ने बताएका थिए ।
गोलमेचका लागि मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्भिन्द्रलाल कर्ण, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गेल, जितपुर सिमरा उपमहागरपालिकाका सामाजिक तथा शिक्षा विभाग प्रमुख शिवजी प्रसादसहित अधिकारी सहभागी भएका थिए ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुवीराम अधिकारी, त्रिभुवन विश्वविद्यालयका डीन डा. वेदराज आचार्य, पूर्वसचिवहरू लवदेव अवस्थी र डा. दीपेन्द्रविक्रम थापाले बालमैत्री सिकाइका लागि महानगरपालिकाले अगाडि सारेका नवीन शैक्षिक कार्यक्रमसम्बन्धी सन्देशले अन्य स्थानीय तहलाई कार्यक्रम चलाउन सहज भएको धारणा राखेका थिए ।
प्रतिक्रिया 4