
१९ जेठ काठमाडौं । पत्रकार हिमेशले नेपाली फुटबल–वृत्तान्त समेटेर तयार पारेको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबलको’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक विशेष समारोहबीच पुस्तक लोकार्पण भएको हो ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजुकाजी शाक्यले पुस्तकको लोकार्पण गरे । लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, एन्फा प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायतले पुस्तकमाथि मन्तव्य राखेका थिए ।
एन्फा महासचिव किरण राईले पत्रकार हिमेशद्वारा लिखित यस पुस्तकले नेपाली फुटबललाई दस्तावेजीकरण गर्न मद्दत गर्ने बताए । खेलाडी सन्तोषी श्रेष्ठले साहित्य र खेलकुदको निकटको सम्बन्ध भएको चर्चा गर्दै यो पुस्तकले नेपाली फुटबलको इतिहास लेखनमा पहिलो इँटाको काम गरेको बताइन् ।
पत्रकार युवराज घिमिरेले फुटबलको रिपोर्टिङ र लेखनमा हिमेशको आफ्नो पहिचान भएको भन्दै पुस्तकले फुटबलको विकासमा चेतना प्रवाहको काम गर्ने धारणा राखे ।
करिब आधा दशकको मिहिनेतपछि आफूले तयार पारेको पुस्तकले खेलप्रेमी र पत्रकार जगतमा उत्साह थप्ने आशा गरेको लेखक हिमेशले बताए । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4