+
+
Shares

माधव नेपालसँगै बिताएको त्यो रात !

फुसको घर । महासचिव माधव कमरेडलाई एउटा साँघुरो कोठामा ओछ्यान लगाइएको थियो । बिहानको चियापछि गाडी चढिसक्नुभएको थियो, फुत्त ओर्लनुभयो र सरासर आँगनतर्फ बढ्नुभयो । अनि बास बसेका घरमुलीका छोरासँग हात मिलाएर भन्नुभयो ‘बच्चालाई सम्झना दिलाउनुपर्छ कि नेकपा एमालेको महासचिवले गाडीबाट ओर्लेर हात मिलाएको थियो ।’ ती बालक हिजोआज एमालेमा छन् कि मधेसवादी दलको कार्यकर्ता भए, थाहा छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते १६:१६

kamal maden-कमल मादेन 

यो पंक्तिकार झण्डै एक दशकदेखि एमालेको पार्टी गतिविधिबाट टाढा छ । राजनीतिमा यो टिप्पणीकारको भूमिका भनेको फगत आम चुनावमा भोट हाल्नु शिवाय अरु छैन । एमालेको राजनीतिबाट निश्कृय बसेको व्यक्तिलाई माधवकुमार नेपाल हार्नु, कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो । तर, पनि महाधिवेशन काठमाडौमै भयो । केहीपटक भृकुटीमण्डप पुगेर रमिता हेरियो । पुराना साथीभाइहरु भेटघाट भए । एकातिर नेपाल र अर्कोतिर ओली समहुको नाँचगान देखियो । नेपाल, ओलीको जय-जयकार सुनियो । पहिले त्यस्तो गुणगान हुन्थेन । अहिले त्यो पाच्य भइसकेछ । त्यसैगरी एमालेमा स्वयम्सेवक दस्ता सकिएछ । कार्यकर्ता होइन, पुलिस पो भरपर्दो दस्ता भएछ ।

पिपुल्स भोलेेेन्टियर्स र माधव नेपालसँग बिताएको रात

एकताका म पार्टी एमालेको राजनीतिमा सकृय हुने गर्थे । ०५६/०५७ सालतिर मोरङ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै थियो । स्व. गिरिजाप्रसाद कोइरालाले त्यो क्षेत्र छाडेका थिए । मोरङको इटहरा गाविसका अध्यक्ष रामकुमार राईको एमालेबाट उम्मेदवारी परेको थियो । त्यसबेला म धरानको हात्तीसार क्याम्पसमा वनस्पतिशास्त्र अध्यापन गर्थे । पार्टीमा मेरो जिम्मेवारी पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय सदस्य थियो । पिपुल्स भोलेेेन्टियर्स्को काम भनेको पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा भोलेेेन्टियर्स अर्थात स्वयम् सेवकीय भूमिका निर्वाह गर्नु थियो ।

स्वयम सेवक दस्ताजस्तो पिपुल्स भोलेेेन्टियर्स देखिए पनि त्यसको खास उद्देश्य भनेको पार्टी नेता तथा कार्यक्रमको सुरक्षा प्रदान गर्नु थियो । पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय महानिर्देशक प्रदीप नेपाल र महासचिव रामनाथ ढकाल थिए ।

मेरो तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ हेर्ने जिम्मेवारी थियो । भोजपुर र संखुवासभाबाट शेरधन राई भोलेेेन्टियर्सको केन्द्रीय सदस्य थिए । तेह्रथुममा पिपुल्स भोलेेेन्टियर्स प्रमुख विजय सुब्बा थिए । सुनसरी र मोरङमा मोतीराज सुनुवार र बाबुराम कार्की प्रमुख थिए । धनकुटाका प्रमुख मारेकटहरेका एक कमरेड थिए । कोशी अञ्चलमा एमोलको पिपुल्स भोलेेेन्टियर्सको गतिविधि सन्तोषजनक नै थियो ।

मोरङको उपनिर्वाचनमा धेरै नेताहरु राजधानीबाट पुगे । भरतमोहन अधिकारी विपक्षी समुहमा गएर भोट नदिए पनि हात त मिलाउनुहोस् भनेर अघि सर्थे । महिलालाई नमस्कार गर्थे । विपक्षीलाई चिढाउँथे ।

गुरुप्रसाद बराल कोशी अञ्चल इञ्चार्ज थिए । बरालसँग मेरो चिनजान तेह्रथुमदेखिकै थियो । जनआन्दोलन ०४६ ताका उनी तत्कालीन मालेका तेह्रथुम सचिव थिए । म शंकर मावि जलजलेमा शिक्षक थिएँ । म जलजले इलाकामा ०४५ सालमा बनाइएको माक्र्सवादी अध्ययन समुह सचिव पनि थिएँ । त्यसअघि सुनसरीमा पनि म एक माक्र्सवादी अध्ययन समुहको सचिव थिएँ । पछि नेकपा मालेको इलाका पार्टी सचिव हँुदै ०५० सालमा जिल्ला सदस्य भएँ । जुन अधिवेशन माधवकुमार नेपालले उदघाटन गरेका थिए ।

उपचुनावका शिलशिलामा एक दिन मेरो विशेष जिम्मेवारीमा थपियो । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल मोरङ क्षेत्र नम्बर १ आउँदै थिए । उनको सुरक्षा प्रवन्ध मिलाउनु मेरो विशेष जिम्मेवारी थियो । मैले मोरङ पिपुल्स भोलेेेन्टियर्सलाई एलर्ट गरें । सुनसरीका केही साथीहरु पनि सहभागी भए ।

बिराटनगर-१२ का राम साह मोरङ पिपुल्स भोलेेेन्टियर्सका सचिव थिए । उनी अक्सर मसँगै हुन्थे । एमालेतर्फबाट जिल्ला उपसभापति चुनिएका टुलुराज राजबंशी महादेवा गाविसका थिए । उनी त्यसबेला भर्खरै कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसका कार्यकर्ताले साहलाई आक्रमण गरे । तिनलाई जोगाउन हामीलाई हम्मे-हम्मे पर्‍यो ।

महासचिव बिराटनगर आउनुभयो । त्यो दिन पार्टीका जिल्ला नेताहरु ताँती नै लागेका थिए । त्यो साँझ पार्टीले महासचिव कमरेडलाई मोरङको सिँजुवा गाविसमा बास बसाउने निधो गरेको थियो । मैले बिशेषत वहाँको सुरक्षा हेर्नु थियो । त्यो साँझ तराई मूलका एक कमरेडको घरमा खाना खाइयो । विद्यार्थी नेता ऋषिकेश पोख्रेल -वर्तमान एमाले सभासद) सँग हामी सधैं सँगै हुन्थ्यौं । उनको घर पनि सिँजुवा हो ।

राति सुत्ने बेला भयो । फुसको घर । महासचिव माधव कमरेडलाई एउटा साँघुरो कोठामा ओछ्यान लगाइएको थियो । नजिकै अर्को ओछयानमा मैले सुत्नुपर्ने भयो । राति मैले महासचिवसँग केहीबेर कुराकानी गरें । त्यसबेला खासै सुरक्षा त्यस्तो के नै पो दिनुपथ्र्यो र ? तर, पिपुल्स भोलेेेन्टियर्सको केन्द्रीय सदस्यको हैसियतले वहाँलाई सुरक्षा दिएजस्तो गर्नु थियो । म त्यो क्षण कहिल्यै बिर्सदिँन । अहिले भए माधवकुमार नेपाल सायद मसँगै एउटै कोठामा सुत्दैनथे होला । किनभने हिजोआज नेतालाई कार्यकर्ताभन्दा बढी पुलिसको विश्वास लाग्छ ।

हामी बिहानको चियापछि त्यो ठाउँबाट हिँड्यौ । महासचिव कमरेड गाडी चढिसक्नु भएको थियो । बास बसेका घरमुली ४ बर्षजतिको छोरा लिएर आँगनमा निस्कनुभएको थियो । सबैले हात हल्लाएर महासचिव कमरेडलाई लौ बिदा हौं भनिरहेका थिए । महासचिव कमरेड गाडीबाट फुत्त ओर्लनुभयो र सरासर आँगनतर्फ बढ्नुभयो । अनि बास बसेका घरमुलीका छोरासँग हात मिलाएर फनक्क फर्किनु भयो । अनि भन्नु भयो ‘बच्चालाई सम्झना दिलाउनुपर्छ कि नेकपा एमालेको महासचिवले गाडीबाट ओर्लेर हात मिलाएको थियो’ । अनि थप्नुभयो ‘त्यो सानो बालकले यो क्षण कहिल्यै बिर्सन सक्दैन र भविष्यमा ऊ एमालेको दरो खम्बा बनिने छ’ । तर, ती बालक हिजोआज एमाले छन् कि मधेसवादी दलको कार्यकर्ता बनिएका छन् थाहा छैन । तर, त्यतिबेला नै पार्टीमा भित्रभित्रै माधव र ओली समुहको उदय भइसकेको रहेछ । हामी धेरै कार्यकर्तालाई थाहै थिएन ।

माधव र ओली समुह

मैले माधवकुमार नेपाललाई नजिकबाट त्यसउप्रान्त कहिल्यै देखिँन । त्यसअघि नै माधव, ओलीबीच टस्सल शुरु भइसकेको रहेछ । पछि बुझें, कोशी-मेचीमा त्यसबेला ओली समुह दरो रहेछ । कोशीको सुनसरी जिल्लाबाहेक सबै जिल्लामा ओली समुहको बर्चस्व रहेछ ।

सुनसरीमा भीम आचार्य सचिव थिए । पछि मोरङबाहेक कोशीको अन्य ५ जिल्ला ओली पक्ष कमजोर बन्यो । मैले पाँचौं महाधिवेशनका निम्ति तेह्रथुममा मत खसालेको थिएँ । छैठौं महाधिवेशनमा बिराटनगरबाट मत खसालेँ ।

सातौं महाधिवेशन हुनुभन्दा एक/दुई वर्ष अघिदेखि मेरो बसाइ धरानमा थियो । त्यसबेला मेरो पार्टी सदस्यता मोरङबाट सुनसरी ट्रान्सफर गरिएको छ भनियो । सुनसरी जिल्ला कमिटिमा १/२ जनाबाहेक सबै संस्थापना पक्ष अर्थात माधवकुमार नेपाल पक्षधर थिए । मेरो पार्टी सदस्यता सुनसरीमा आइपुगेन । मैले भोट खसाल्न पाइँन । सुनसरीको एकैजनाले पनि सदस्यता कता नवीकरण गरियो भनेर सोधेनन् । जब कि त्यसबेला म धरान नगर कमिटीको कार्यलयमा अक्सर गइरहन्थें । कार्यालयलाई सूर्य नामक मासिक पत्रिका मैले किनिदिने गरेको थिएँ ।

अहिले नवौं महाधिवेशनमा देखिएको प्रवृत्ति कोशी अञ्चलमा त्यसबेलै नै देखिएको थियो । त्यसबेला यस्तो भित्रभित्रै गरिँदोरहेछ, अहिले खुल्ला भएको मात्रै हो ।

कोशी अञ्चलमा त्यसबेलादेखि ओली समुह कमजोर बनेको हो । त्यो अध्यावधि कायमै छ । नवौं महाधिवेशनमा कोशीबाट ओली समुहका गुरुप्रसाद बराल, राजेन्द्र गौतम, किशोरचन्द दुलाल हारेका छन् । गौतम कोशी अञ्चल इन्चार्जमा थिए । कोशीबाट नेपाल समुहबाट भीम आचार्य, लालबाबु पण्डित र धर्मराज निरौलाले जितेका छन् । उसो त कोशी अञ्चलमा सधै संस्थापना पक्षलाई समर्थन गर्ने कमरेडहरु धेरै थिए । उनीहरु भन्ने गर्थे, हामी सधैं संस्थापना पक्ष हुन्छौं । अब ओली संस्थापना पक्ष भए । के उनीहरु अब माधव नेपाल पक्षमा उभिन्नन् त ?

माधव नेपालको गल्ती

डा. सुरेन्द्र केसीले एक अन्तवार्तामा ‘माधवकुमार नेपालले नवौं महाधिवेशनमा उठ्नु जीन्दगीकै सबैभन्दा ठूलो भूल गरे’ भनेका थिए । ३/३ पटक कार्यकारी प्रमुख भएको व्यक्तिले फेरि चौथोपटक म एमाले अध्यक्ष भएको छुइँन भनेर चुनाव लड्नु वास्तवमै ठूलो भूल गरेका हुन् । तत्कालीन महासचिव अहिलेको एमाले अध्यक्षभन्दा शक्तिशाली पद हो । त्यसबेलाको केन्द्रीय समितिमा अहिलेजस्तो औंलामा गन्नै नसकिने उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव आदि हुन्थेनन् । नेता नेपालले गर्व गर्न सक्नुपथ्र्यो – अहिलेजस्तो हाँगाबिगा भएको अवस्थामा होइन, सग्लो अवस्थामा ३/३ पटक कार्यकारी प्रमुख भएको हुँ भनेर ।

ओलीलाई स्वीकार्न नस्कने युवा जमातले उनलाई हौस्याए । कामरेड अध्यक्ष कहिल्यै बन्नुभएको छैन, अब कमरेडले अध्यक्ष बन्नुपर्छ, हामी जिताइहाल्छांै भनेर युवाहरुले कर गरे । त्यही लहैलहैमा नेपाल हौसिए माधव नेपाल ।

नेता नेपाललाई विज्ञानले विकास गरेको खोज अन्वेषणहरुप्रति विश्वास लागेन । उनले एमालेले भन्दै आएको हाइटेक प्रविधिलाई अविश्वास गरे । क्षणभरमै सकिने विद्युतीय चुनाव सिस्टमप्रति अविश्वास गर्ने काम भयो । उनले पहिलेकै हस्तलिखत प्रविधिलाई निम्त्याए । फलस्वरुप महाधिवेशन लम्बियो । त्यसले पनि माधव नेपालप्रति तिक्तता उब्जियो । नेता नेपालले महाधिवेशनस्थललाई नाटक मञ्चन गर्ने थलो बनाए । कार्यकर्ता थकित भए ।

ओलीे नेतृत्व कहिलेसम्म ?

ओलीलाई माधवकुमार नेपालले लगाउने आरोप धनवाद र डनवाद हो । ती आरोपमध्ये ओलीले जनतालाई डनवादवारे अझै प्रष्ट गराउन सकेका छैनन । ओलीको डनवादप्रति मेरो समर्थन छैन भन्ने कुरा जनताले अझै पत्याउन सकेको छैन । कहिलेकाहीँ राज्यले खोजी गरिरहेको व्यक्तिप्रति ओली निस्पिmक्री त्यो व्यक्तिलाई लगाइएको आरोप झुठ्ठा हो भनिदिने गर्छन् । त्यो उनको सबैभन्दा ठूलो कमजोरी हो । त्यसले ओलीको नेतृत्व सफा हुन सक्छ भन्न सकिन्न ।

अहिले ओली जीन्दगीकै सबैभन्दा बढी शारीरिक रुपमा अस्वस्थ छन् । यही अवस्था सुशील कोइरालाको पनि छ । रोगले दुबै डाँडापारिका घाम हुन लागेका छन् । ओलीले एक कार्यक्रममा भने-‘कमरेडहरुको जतिको लामो जीवन मेरा सामु छैन । त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन ।’ वास्तवमै त्यो भनाइ मार्मिक छ ।

त्यसैबेला माधवकुमार नेपाल भनिरहेका थिए, अब ओली कमरेडको परीक्षणको घडी शुरु भएको छ । के त्यसो भनिरहन जरुरी थियो ? ओलीले बैंककबाट फकर्ंदै भनेका थिए, मरिन्छ किजस्तो लागेको थियो, बाँचियो । बचेको जिन्दगी जनता, देश र पार्टीका लागि समर्पण गर्छु । उनलाई जीन्दगी उसबेलै सकिने भो जस्तो लागेको थियो । त्यसैले बचेको जीन्दगी त बक्सिस हो भने ।

मनमोहन अधिकारीलाई एमाले नेताहरुले म्याराथुनमा सहभागी गराएझंै दौडाएर नै कोमामा बित्न बाध्य पारे । त्यो उमेर र अस्वस्थतालाई ध्यान दिनुपथ्र्यो । काठमाडौंमा बोल्दाबोल्दै लड्नु केही महिनाअघि धरानमा म र केशव दाहालले ‘हाम्रो अभियान’ नामक मासिक पत्रिकाका निम्ति बंशी मोक्तानको घरमा मनमोहनको अन्तरवार्ता लिएका थियौं । त्यो अन्तरवार्ताका दौरान करिव ४५ मिनेटको अवधिमा मनमोहनको कैयौंपटक स्वाँस बढेको थियो । त्यसबेला नेताहरुले पहिलेदेखिकै बिरामी तथा हेलिकोप्टर दुर्घटनामा परेको व्यक्तिलाई चुनाव जित्नैपर्ने सोचमा म्याराथुनमा सहभागी गराए । अहिले अध्यक्ष ओली त्यस्तै म्याराथुन दौडमा सहभागीे छन् ।

ओली पनि एकपछि अर्को पद प्राप्तिको होडमा फस्दै गएका छन् । त्यो उनको अर्को भयंकर ठूलो कमजोरी हो । सबैमा आफै प्रमुख हुनु पर्ने । आÏनो सोचअनुसार टिमलाई विजय गराउन पनि त सकिन्थ्यो । त्यो उनले गरिरहेका छैनन् । किन आफै संसदीय दलको नेता, पार्टी अध्यक्ष नबनी नहुने ? पुस्तान्तरनको कुरा उठिरहेका बेला युवा नेता ईश्वर पोख्रेल वा अरु कोहीलाई अध्यक्ष उठाइदिएको भए हुन्थेन ? के चीनमा देङ स्याओपिङ कार्यकारी प्रमुख भएरै चीनलाई उँभो लगाएका होइनन् ? उनी चीनमा पर्दा पछाडिको सर्वोच्च नेता थिएनन् ? केपी ओलीको नेतृत्व कहिलेसम्म ?

केही सैद्धान्तिक प्रश्नहरु

नेता नेपालका अनुुसार नवौं महाधिवेशनमा नेपाली समाज राजनीतिका बिषयमा असाध्यै महत्वपूर्ण विषयहरुमा बहस-छलफल हुने भएको थियो । दुनियाँलाई थाहा छ, एमाले गण अझै अर्धसामन्ती-अर्धऔपनिवेशिक कि पुँजिवाद भन्ने शब्दको फन्दामा परेको छ । ती शब्दावलीको बहसले जनताका आश्यकता र अहिले उठेको पहिचानको सवालसँगै विपन्नताको खाडलमा त्यसले तात्विक फरक पार्दैन । दस्तावेजमा ‘नेपाली समाजको आधारभूत रुपले पुँजीवादतर्फ उन्मुख भएको’ भनिएको छ ।

एमालेले अघि सारेको मान्यता भनेको नेपाल पुँजीवाद विकाशको प्रारम्भिक स्तरमा छ । कसरी ? दैनिक १५ सयजति युवा वैदेशिक रोगगारका निम्ति बाहिरिन्छन् । मुलुकको अर्थतन्त्र तिनीहरुले कमाएको पैसाबाट धानिएको छ । विदेशमा बनिएका सवारीका साधनमा झण्डै २ सय ४० प्रतिशत कर लगाई राजस्व असुलिन्छ । जनतालाई आवश्यक पर्ने सबैजसो वस्तु विदेशबाट झिकाइन्छ । कर्मचारी र नेताहरुका मनोबृति पञ्चायतकालीन जस्तै छ । कल कारखानाका लागि मात्र होइन, घरमा बाल्ने बिजुलीसमेत राज्यले उत्पादन गर्न सकेको छैन । के यसरी नै हो नेपाली समाज पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको ?

विसं ०६८ को जनगणनामा तराईमा अमत, धान्डी, धन्कार, काथबानियन, कोरी नथुवा, राजधोब र सर्बार गरी आठ नयाँ जात सुचीकृत भएका छन । तिनीहरुको अवस्था के कस्तो छ, थाहा छैन । भर्खरै मात्रै तिनीहरु नेपाली नै हुन् भनेर जानकारीमा आएको छ । सरकारले तिनीहरु अहिलेसम्म नेपाली हुन् भनेर पहिचान नै गर्न सकेको थिएन । अर्कोतिर तराईको दलित मुसहर र तराई आदिवासी जनजाति भनिएको कुसवाडिया लगायत अन्य केही समुदायको अवस्था कतिपय मामलामा राउटे समुदायभन्दा कमजोर छ ।

मुसहर समुदायमा ६ बर्षभन्दामाथिका महिलाको साक्षरता दर १३.४ प्रतिशत छ । त्यसरी नै कुशवाडिया महिला १५.२ प्रतिशत साक्षर छन । जब कि नेपालको औसत साक्षरता दर ६५.९ प्रतिशत छ । सबैभन्दा बढी साक्षर भएको समुदाय जैन हो । त्यो समुदायको ६ वर्षभन्दा माथिका ९८.४ प्रतिशत साक्षर छन् । कुशवाडिया समुदायले बिजुली बत्ति राउटेभन्दा कम उपभोग गर्छ (भर्खरै सुचीकृत भएकाको जातिका आर्थिक, शैक्षिक आदिबारे राज्यलाई केही जानकारी छैन ) अबको बहस ती तथ्यांकहरु कसरी उभो लगाउने भनेर हुनुपर्ने हो । त्यो सन्दर्भ उठ्यो भने कम्युनिष्ट राजनीति जातजाति भन्दा माथि हुन्छ, भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?