
१९ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेतृत्वले गरेका गल्तीमा कार्यकर्तालाई कारबाहीको डण्डा बर्साउन नहुने बताएका छन् ।
बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यसअघिको निर्वाचनमा माओवादी र नेकपा एमालेसँग मिल्दै धोका खाँदै गरेको प्रसंग झिक्दै यस्तो बताएका हुन् ।
‘निर्वाचनमा हामी माओवादीसँग मिल्यौं । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौं । हाम्रो काम नै धोका खाने भयो,’ कोइरालाले बैठकमा भनेका छन्, ‘धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ । हामीले दूरदर्शिता देखाउन सकेनौं । भविष्य हेरेनौं ।’
उनले पार्टीलाई धोका हुनेगरी भएका गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूको कारबाही फुकुवा हुनुपर्ने पनि बताए ।
‘नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारबाहीको डण्डा बर्साउने ? यो हुँदैन । कांग्रेसको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिन पाइँदैन,’ उनले भने, ‘तर, पार्टीलाई धोका दिने गठवन्धन विरुद्ध उम्मेदवार बनेकाहरुलाई कारवाही गर्न हुँदैन । उनीहरुको कारवाही फुकुवा हुनुपर्छ ।’
उनले अहिले पार्टीको पहिलो कार्यभार नै जनतामा आशा जोगाउनु भएको भनाइ राखे । भ्रष्टाचार नियन्त्रणको प्रस्थान विन्दुको रुपमा सम्पत्ति छानविन हुनुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया 4