+
+
Shares

काँजीडाँडा भिरमा श्रमदाताको लर्को

पटनालीबाट श्रमदाताको लर्को भिरतर्फ लागेको यो दोस्रो शनिबार हो । हर्क साम्पाङको तस्वीरसहितको टिसर्ट लगाएको टोली उकालो लाग्दा भिरको गोरेटो केही समय जाम भयो ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन ५ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानका मेयर हर्क साम्पाङले कोकाहा नदीबाट ल्याइएको खानेपानीको पाइपलाई आगलागीबाट जोगाउन जमिनमा गाड्न श्रमदान अभियान सञ्चालन गरिरहेका छन्।
  • शनिबार करिब ५०० जनाको सहभागितामा श्रमदान अभियान चौथो पटक सञ्चालन भएको छ र श्रमदातालाई खाजा र खाना पनि दिइएको थियो।

५ साउन, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ पटनालीबाट करिब १ किलोमिटर उत्तर खाली चौरमा शनिबार बिहानैदेखि भिडभाड थियो । बस, निजी गाडी र मोटरसाइकलमा पुगेका मानिसको एउटै उद्देश्य थियो- कोकाहा नदीबाट ल्याइएको खानेपानीको पाइप डढेलोबाट जोगाउन जमिनमा गाड्ने ।

बिहान ९:४५ बजे खाली चौरबाट काँजीडाँडोतर्फ श्रमदाता उकालो लाग्दै गर्दा बीचबाट पानी बोकौं है साथीहरू भन्दै हाते माइकमा कराइरहेका थिए, धरानका मेयर हर्क साम्पाङ ।

हातमा फरुवा, बेल्चा, गैंची, रडलगायत औजार बोकेर श्रमदाता अघि बढ्नुअघि उनले गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै भने, ‘हामीसँगै जान्छौं, सँगै आउँछौं ।’ उनले औजार पनि सँगै ल्याउनुपर्ने सर्त सुनाए ।

‘हामी यो देशका लागि श्रमदान गर्न आएको हो, हर्क साम्पाङलाई सघाउन आएको होइन,’ श्रमदाताको भिडलाई सम्बोधन गर्दै उनले भने, ‘…यहाँ कोही कसैको खेताला होइन ।’ हर्कको कुरा सुनेपछि उत्साहित हुँदै श्रमदाता कामतर्फ लागे ।

पटनालीबाट श्रमदाताको लर्को उकालो भिरतर्फ लागेको यो दोस्रो शनिबार हो ।

धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट अझै ल्याउन सकेको छैन, जसका कारण नगर बजेट शून्यतामा छ । १० असारमै आउनुपर्ने बजेट मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघासहित जनप्रतिनिधिका कारण नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि पनि आएन । अझै आउने टुङ्गो लागिसकेको छैन ।

मेयर साम्पाङ बजेटबारे चिन्तित नभएको आरोप उपमेयर बेघाको छ । शनिबार श्रमदान अभियानमा देखिएका साम्पाङलाई भने बजेट ल्याउन नपाएकोमा कुनै चिन्ता थिएन । उनी केबल पानी ल्याउने श्रमदान अभियानमा मात्रै केन्द्रित थिए ।

हर्क साम्पाङको तस्वीरसहितको टिसर्ट लगाएको टोली उकालो लाग्दा भिरको गोरेटो केही समय जाम भयो । भिरमा पालैपालो उनका समर्थक माथि लागे । कोकाहा नदीबाट धरानका लागि ल्याएको खानेपानीको पाइपलाइन पुरेर फर्किए ।

श्रमदातालाई काममा जानुअघि दही-चिउरा खाजा दिइएको थियो । त्यसपछि दिउँसो ३ बजे खानापछि शनिबारको अभियान सकियो ।

खाजा र खाना बनाउनका लागि श्रमदाताको टिम नै खटिएका थिए ।

‘कोकाहाबाट पानी ल्याउन राखेको पाइप आगलागीबाट डढ्ने भएकाले जमिनमुनि गाड्न श्रमदान अभियान चलिरहेको छ,’ हर्क साम्पाङका सहयोगी रसिक थेबेले भने, ‘पाइप माटोमुनि राख्ने अभियान सुरु भएको यो चौथो शनिबार हो ।’

धरानवासीलाई सप्तकोशीको पानी ल्याउने बाचासहित स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका साम्पाङले गत वर्ष नै कोकाहाको पानी ४५ किलोमिटर पाइपलाइन बिच्छ्याएर धरान ल्याएका थिए । कोकाहाको पानी पनि श्रमदानबाटै ल्याइएको थियो ।

शनिबारको श्रमदान अभियानमा  करिब ५०० हाराहारी सहभागी थिए । ‘शनिबारको दिन प्राय: यस्तै भिड रहन्छ, अरु बेला अलिक कम हुन्छ,’ तीन वर्षदेखि हर्क साम्पाङको श्रमदान अभियानमा हिँडिरहेका पूर्व भारतीय आर्मी बुद्धि प्रधान भन्छन्, ‘म त सुरुदेखि नै नियमित छु ।’

१७ वर्ष २१ दिन भारतीय सेनामा काम गरेका उनी धरान उपमहानगरपालिका-१० का बासिन्दा हुन् । उनी सधैं हर्क साम्पाङको श्रम अभियानमा पुग्छन् । बेलाबेला उनकी श्रीमती पनि पुग्छिन् ।

‘युवा अवस्था विदेशमा बिताइयो, अबको समय देशलाई दिने भनेर लागिरहेको छु,’ उनी भन्छन्, ‘जीवन चलाउने आधार पेन्सन छ, म श्रमदानमा लागिरहन्छु ।’

हर्क साम्पाङ शनिबारलाई श्रमबार भन्छन् । उनको अभियानमा हिँड्ने श्रमदाता पनि शनिबारलाई श्रमबार नै भन्ने प्रधान बताउँछन् ।

बिहान ९:४५ बजे खाली चौरबाट काँजीडाँडोतर्फ श्रमदाता उकालो लाग्दै गर्दा बीचबाट पानी बोकौं है साथीहरू भन्दै हाते माइकमा कराइरहेका थिए, धरानका मेयर हर्क साम्पाङ ।

धरानकै आयुष्मा शेर्पा पनि हर्क साम्पाङको अभियानमा भ्याएसम्म आउँछिन् । पाइपलाइन पुर्नका लागि सामग्री लिएर हिँडेकी उनले भनिन्, ‘काम हुँदा त आउँदिन, फुर्सद हुँदा जहिल्यै आउँछु ।’ उनी हर्क साम्पाङको अभियानमा हिँड्न थालेको एक वर्षभन्दा बढी भयो ।

श्रमदानका कारण हर्क साम्पाङ बेलाबेला विवादमा आइरहन्छन् । पालिकाको बजेट रोकिने कारण पनि श्रमदान कै विवाद हो । श्रमदानको हिसाब सार्वजनिक नगरेको, फजुल खर्च गरेको विवादमा उनी परेका थिए । तर उनको श्रमदानको क्रेज भने घटेको छैन ।

उनले धरानलाई श्रम संस्कृतिको नमुना बनाएका छन् । श्रमदानबाट बनेका संरचनाहरू पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भएको राजनीतिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन् ।

‘पहिले पनि श्रमदान हुन्थ्यो, जनसहभागितामा काम हुन्थ्यो,’  उनले भने, ‘हर्क साम्पाङले चलाएको श्रमदान अभियान नयाँ र छुट्टै छ ।’

उनका अनुसार बाहिरी सहयोग जुटाएर हर्क साम्पाङले श्रमदान अभियान सञ्चालन गरिरहेका छन् । ‘नि:शुल्क बसमा जान पाउने, खान पनि पाउने र श्रम खर्चिन पनि पाउने परिस्थिति बनेको छ,’ उनले भने, ‘श्रमदानबाट बनेका संरचनाहरू धरानका लागि पर्यटकीय गन्तव्य बनेको छ ।’

श्रमदानका लागि देशभरबाट मानिस आउने बताउँदै उनले भने, ‘धरानमा एउटा क्रेजको रूपमा रहेको छ, यसको श्रेय हर्क साम्पाङलाई जान्छ ।’

श्रम संस्कृतिको विकास गरे पनि हर्क साम्पाङलाई पारदर्शी नभएको आरोप लाग्ने उनी बताउँछन् । ‘श्रमदानको हिसाब सार्वजनिक नगरेको, नगरपालिकामार्फत हुनुपर्ने खर्च मनमौजी गरेको विवाद श्रमदानमा आएका छन्,’ उनले भने, ‘हरेक दिनको श्रमदान कामसँगसँगै एक खालको पिकनिक पनि छ । त्यस कारणले पनि आकर्षण छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?