+

कलिलैमा एप बनाएर करोड कमाइ

पूरा सूची
Shares
बर्दियाको सानो गाउँ हाउपुरबाट शुरू भएको कर्ण क्षेत्रीको यात्राले प्रविधिको क्षेत्रमा उचाइ चुमेको छ । उनले बनाएका ‘बर्थडे विस’ र ‘लाइफ लेसन्स’ नामका दुई एप क्रमशः १ लाख र ५० हजार डाउनलोड भइसकेका छन् । एप बेचेरै कोहलपुरमा करोड पर्ने जग्गा किनेका कर्णले थप प्रगतिको सपना बुनिरहेका छन् ।
कर्णबहादुर बुढा क्षेत्री

कोडिङ गर्न चलिरहेका बयस्क औंला । प्रविधिको दुनियाँमा भविष्य कोर्ने अठोट । त्यही अठोटले डोर्‍याएको काठमाडौंसम्मको यात्रा । अनेक कथा छन्, बर्दियाका कर्ण क्षेत्री (२४) को ।

काठमाडौंमा अध्ययनरत कर्ण नयाँ प्रविधि सिक्ने, रिसर्च गर्ने र एप डेभलपमेन्टमा समय खर्चन्छन् । अहिलेसम्म एन्ड्रोइड एपमै अल्झिएका उनी अब भने एन्ड्रोइड र आईओएस दुवै प्लाटफर्मका लागि काम गर्दैछन् । स्केलेबल, प्रोफेसनल र मार्केट उन्मुख एप बनाउनेतिर उनको ध्यान छ ।

हाल उनले ‘बर्थडे विस’ र ‘लाइफ लेसन्स’ नामका दुई एप बनाएका छन्, जुन क्रमशः १ लाख र ५० हजार डाउनलोड भइसकेका छन् । आम्दानी धेरै नहोला, तर आत्मसन्तुष्टिका यथेष्ट आधार बनेका छन् यी एप ।

‘ठूलो आम्दानी नदिए पनि नेपाली प्रयोगकर्ताका लागि मैले बनाएका अन्य शिक्षामूलक एपहरू (सोलुसन, नेपाली क्विज र नेपाली ग्रामर) ले पनि मलाई सन्तुष्टि दिन्छ । यसको डाउनलोड पनि धेरै छ । एउटा शिक्षकले जम्मा २०० जनालाई पढाउन भ्याउनुहोला, तर मैले बनाएका एपले लाखौंलाई सिकाएको छ’, उनले सन्तुष्टि पोखे ।

ती एपमा आउने विद्यार्थीका ‘रेटिङ’ र प्रतिक्रियाले झन् उत्साही बनाउँछ, कर्णलाई । त्यसैले, थप नयाँ कुरा सिक्ने जोश हराएको छैन । अहिले उनी गुगलको ‘फ्लटर’ सिक्दैछन् । हरेक बेलुकाको अनलाइन कक्षाले नयाँ गन्तव्य कोर्ने बाटो सिकाइरहेको छ ।

यसबाहेक फ्रिलान्सिङको रूपमा पनि उनले विभिन्न काम गरे । अपवर्क लगायतका प्लाटफर्ममा सक्रिय भए । अब भने रिसर्च गरेर प्रोफेसनल तरिकाले एप डेभलपमेन्टमा लाग्ने कर्णले सुनाए ।

‘पहिला सिक्दा जुन पायो त्यही एप बनाउथें, अब मार्केट रिसर्च गरेर मात्र बनाउँछु’, उनले भने । यसका लागि विभिन्न टेक सम्बन्धी क्षेत्रका जानकारसँग भेटेर परामर्श लिंदैछन् । ज्ञानको दायरा फराकिलो बनाउँदैछन् । त्यसमा पनि आईओएसका लागि एप बनाउन विशेष जोड दिएका छन् ।

एप बेचेरै कोहलपुरमा करोड पर्ने जग्गा किनेका उनले थप प्रगतिको सपना बुनिरहेका छन् । ‘अझै धेरै सिक्न बाँकी छ । अब आईओएस र एन्ड्रोइड दुवैमा प्रोफेसनल एप बनाउँछु । यही उमेरमा यति गरें भनेपछि अझै धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास छ’, उनी निर्धक्क सुनिए ।

कर्णका अनुसार आईओएसमा जान खोज्नुमा पहिलो कारण त्यसबाट हुने कमाइ हो । त्यहाँ ‘इन–एप पर्चेज’ र सब्सक्रिप्सनबाट राम्रो कमाइ हुने सम्भावना हुन्छ । जबकि, एन्ड्रोइडमा हुँदा गुगल एड्सेन्सलाई मात्र कमाइको आधार बनाउनुपरेको छ ।

यसरी प्रविधिको क्षेत्रमा उचाइ चुमिरहेका कर्णको यो यात्रा बर्दियाको सानो गाउँ हाउपुरबाट शुरू भएको हो । सामान्य परिवारमा जन्मिएका कर्णले प्रारम्भिक शिक्षा गाउँकै सरकारी स्कूलमा लिए । कक्षा ५ सम्म नेपाली माध्यमकै विद्यालयमा पढे, त्यहाँ उनी मध्यमस्तरका विद्यार्थी थिए ।

‘पढाइमा फर्स्ट–सेकेन्ड त हुन्थें, तर खासै पढ्नमा जोड थिएन’ उनी सम्झिन्छन्, ‘कक्षा ६ देखि नजिकैको बोर्डिङ तर नेपाली माध्यमकै स्कूलमा पढें । एसएलसीमा औसत नतिजा आयो ।’

११ मा साइन्स पढ्ने सपना थियो । तर विविध कारण उनले नेपालगञ्ज टेक्निकल कलेजमा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ रोजे । प्रविधिको क्षेत्रमा उनको जीवनको पहिलो मोड थियो यो । यद्यपि, प्रविधिसँग टाढा भने थिएनन् । प्रविधिसँग उनको भेट सानैमा साथीहरूको मोबाइलमा गेम खेल्दा र मेमोरी कार्डमा फिल्म हाल्दा भइसकेको थियो । स्कूलमा पनि कम्प्युटर विषय पढ्दा कम्प्युटर ‘छोइसकेका’ थिए ।

‘ल्यापटप किन्ने त सपना जस्तै थियो’, उनी सुनाउँछन् । त्यसमाथि डिप्लोमाको पहिलो सेमेस्टरमै नमिठो झट्का लाग्यो । फिजिक्स, केमेस्ट्री र म्याथमा फेल भए । तर हार मान्ने छुट थिएन । झन् मिहिनेती बने कर्ण । फलस्वरुप, दोस्रो सेमेस्टरमा कक्षा टप गरे । ‘गरे के हुँदैन र…’ भन्ने ज्ञान पाए ।

पढाइसँगै युट्युब र ब्लग कर्णको साथी बने । त्यसबाटै एचटीएमएल, सीएसएस/सी प्लस–प्लस सिक्दै प्रोग्रामिङमा पाइला चाले । रुचि गड्दै गयो । ‘प्यासन’लाई अवसर बनाउने दाउ कसे । ४ जीबी र्‍यामको ल्यापटप किनिहाले । तर त्यो ल्यापटप आईटीको कामका लागि पर्याप्त थिएन । एन्ड्रोइड स्टुडियो चलाउनै २० मिनेट लाग्थ्यो । काम चलाउनुको विकल्प पनि कर्णसँग थिएन ।

आईटीको सीपसँगै ‘व्यावसायिक दिमाग’ टुसाउँदै थियो । सोचे– कोही साथीसँग मिलेर केही नयाँ काम गर्नुपर्छ ।

कर्णले सोचे जस्तै साथी भेटे, किरण भाट क्षेत्री । र, अनौपचारिक रूपमा भर्चुअल संस्था खडा गरे, काकी डेभलपर्स । काकी डेभलपर्स नाममै ‘गुगल डेभलपर अकाउन्ट’ खोले । दुई जना मिलेर काम थाले । अनि, काकी डेभलपर्सको पहिलो ‘सन्तान’ बन्यो– नेपाल ड्राइभिङ लाइसेन्स एप ।

लाइसेन्सको लिखित परीक्षाको तयारीका लागि उपयोगी त्यो एप विस्तारै अधिकांशको मोबाइलमा देखिन थाल्यो । लोकप्रियताको ग्राफ उकालो लाग्दो थियो । त्यसपछि कक्षा ८ र ९ को नेपाली विषयको ‘सोलुसन एप’ बनाए । त्यो पनि नेपाली विद्यार्थीमाझ चर्चित भयो । यसलाई करिब १ लाखले डाउनलोड गरे ।

सुरुआतमा उनीहरूले नेपाली प्रयोगकर्ता लक्षित एपमै काम गरे । तर पछि हिन्दी भाषामा रहेको ‘हिन्दी पिकअप लाइसेन्स’ एपमा आँखा पर्‍यो । त्यस्तै एप अंग्रेजीमा कम देखे । अंग्रेजीको डाउनलोड हिन्दीको तुलनामा कम थियो । यसमा अवसर देखे, कर्णले ।

सजिलो, प्रयोगकर्तामैत्री र अफलाइन चल्ने एप बनाए । यो एपले सन् २०२३ मा ५ लाख डाउनलोड पार गर्‍यो । ‘मैले कहिल्यै सोचेको थिइनँ, यति धेरै डाउनलोड हुन्छ भनेर’ कर्णले खुसी साटे, ‘गुगलको अल्गोरिदमले र्‍याङ्कमा माथि लैजाँदा एप भाइरल भयो । अनि गुगल एडबाटै थोरबहुत कमाइ हुन थाल्यो ।’

यो एपको सफलताले अन्तर्राष्ट्रिय कम्पनीहरूको ध्यान तान्यो । सन् २०२३ मै एक कम्पनीले २५ हजार डलरमा एप किन्न प्रस्ताव राख्यो । सुरुमा त यत्रो पैसा आउँदा कर्ण हौसिए । तर व्यवसायमा तातो जोशले भन्दा पनि पाको सोचले काम गर्छ । उनले नजिकका अग्रजसँग सल्लाह गरे । एपको भ्यालुएसन कसरी गरिन्छ भनेर सिके ।

सबै जानिसकेपछि चलाखीपूर्ण बार्गेनिङ गर्न थाले । २५ हजारमा बेच भनेको एपको दाम कर्णले ५० हजार डलर रहेको सुनाए । खरिदकर्ता पनि ४० हजारसम्म उक्लिए । यसरी चरणबद्ध बार्गेनिङ भएपछि कर/भ्याटसहित ५३ हजार डलरमा एप किनबेच गर्ने सहमति भयो । वैधानिक बाटोबाट डलर भित्र्याए ।

यो नसोचेको कमाइ थियो कर्णको । यसपछि उनले ६ महिना जति ‘ग्याप’ लिए । आफ्नो पढाइमा फोकस गरे । ‘यति पैसा त मैले देखेको पनि थिइनँ । कमाइ भयो, सिकाइ पनि सामान्य रहेन । दोस्रोपटक खरिद–बिक्री गर्न आइडिया मिल्यो’ उनले भने, ‘मैले दुईपटक यसरी एप बेच्दा करोडमाथि कमाएँ ।’

तर, कर्णको यात्रा सजिलो थिएन । आर्थिक अभाव, सीमित इन्टरनेट, पुरानो ल्यापटप र अपुरो प्राविधिक ज्ञानले बारबार सतायो पनि । हुँदाहुँदा बर्दियाबाट काठमाडौं आएपछि साथी किरणसँगको सहकार्य पनि टुटेको थियो । यद्यपि, काठमाडौं आएर स्नातकोत्तर गर्दै एप बनाउने कामलाई निरन्तरता दिए ।

‘एप बनाउन समय लाग्छ, तर पब्लिस गरेपछि आफैं चल्छ । एकपटक र्‍याङ्‍किङको काम गरेपछि बेलाबेला आवश्यक अपडेट बाहेक केही गर्नुपर्दैन’ एप बनाएपछि डेभलपर स्वतन्त्र हुने भाव उनको भनाइमा झल्कन्थ्यो ।

यसरी एप बेचेरै करोड कमाउँदा आईओएसबाट हुनसक्ने सम्भावित कमाइ गुमाएकोमा कर्णलाई पश्चात्ताप छ । गुगल प्ले स्टोरको लागि मात्र केन्द्रित हुँदा गुगलको ‘सब्सक्रिप्सन बेस्ड’ कमाइ गुमाएको उनले सुनाए । कारण, नेपालमा यस्तो सुविधा छैन । नेपालबाट गर्न मिल्दैन । जबकि, आफैंले बेचेको एप अहिले उक्त कम्पनीले सब्सक्रिप्सन फिचर राखेर चलाइरहेको उनको दाबी छ ।

यद्यपि, नयाँ काम गर्ने, केही सिक्ने हुटहुटी मरेको छैन । एप बेचेरै कोहलपुरमा करोड पर्ने जग्गा किनेका उनले थप प्रगतिको सपना बुनिरहेका छन् । ‘अझै धेरै सिक्न बाँकी छ । अब आईओएस र एन्ड्रोइड दुवैमा प्रोफेसनल एप बनाउँछु । यही उमेरमा यति गरें भनेपछि अझै धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास छ’, उनी निर्धक्क सुनिए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।