
अमेरिकामा हुँदाखाँदाको स्टार्टअप बेचेर सन् २०१६ मा नेपाल हानिन्छन् । यता न टेक्ने लौरो थियो न समाउने हाँगो । घर–परिवार बाहेक अन्यत्र खासै भिज्न पाएका थिएनन् । तैपनि आफ्नै देशमा केही गर्छु भन्ने अठोटले जित्यो ।
संखुवासभाको चिरैते गाउँमा २०४७ सालमा जन्मिएका उनै सूर्य कार्कीले पछिल्लो समय शैक्षिक अभियन्ता र व्यवसायीको पहिचान बनाएका छन् । तर, यो परिचय उनको साधारण मिहिनेतबाट बनेको हैन ।
कार्कीको बाल्यकाल पनि सामान्य गाउँले नेपाली छोराछोरीको झैं अभावमै बित्यो । तर, घरमा खानलाउन नपुगे पनि आमाले कहिल्यै त्यस्तो अनुभव हुन नदिएको कार्की बताउँछन् ।
सानोमा वर्षमा एकपटक मात्र धानको भात खान पाइन्थ्यो । तर, उनकी आमाले उनी र उनको बहिनीलाई कहिल्यै अभावको अनुभव गर्न दिइनन् ।
स्कूल पुग्न घरबाट साढे दुई घण्टा हिंड्नुपर्थ्यो । त्यसैले उनलाई स्कूल जानै मन लाग्दैनथ्यो । बरू घरमै बसेर आमालाई सघाउन आनन्द लाग्थ्यो । तर, स्कूल नपठाई आमाको मन किन मान्थ्यो र ?
‘ममीले मलाई घिसार्दै, कहिले काँधमा बोकेर स्कूल पुर्याउनुहुन्थ्यो । म नजान बल गर्थें । तर राम्रै भयो, मेरो बललाई आमाको बलले जित्यो ।’
आमाले कक्षा ९ बाट अध्ययनको लागि काठमाडौं पठाएपछि उनका लागि अवसरका धेरै ढोका खुले । अध्ययनमा अब्बल उनले प्लस टु पढ्न भेनेजुएलाबाट छात्रवृत्ति पाए भने अमेरिकाबाट स्नातक तहका लागि । कडा मिहिनेतको नतिजा चीनबाट व्यवस्थापनमा स्नातकोत्तर पनि पूरा गरे ।
परिवारमै उच्च शिक्षा गर्ने पहिलो व्यक्ति बनेका उनले विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति र सहयोगमा पढ्ने अवसर पाए । ‘शिक्षाले मेरो जीवन बदल्यो, राम्ररी पढ्न नपाएको भए म वैदेशिक रोजगारतिर हुन्थे कि ?’ उनी भन्छन्, ‘त्यसैले मेरो जीवन शैक्षिक क्षेत्रमा नै समर्पण गर्ने अठोट लिएको छु ।’
पढ्न अमेरिका गएसँगै त्यहाँ ‘कलेज अफ द एट्लान्टिक’ मा एउटा एप र वेबसाइट बनाएका थिए, जसले विद्यार्थीलाई डेरा/हाउजिङ खोज्न सहयोग गर्थ्यो । अमेरिकी साथीसँग मिलेर उनले उक्त स्टार्टअप सञ्चालनमा ल्याएका थिए ।
‘म चिफ अपरेटिङ अफिसर थिएँ, त्यसमा हामीले राम्रै काम गरेका थियौं । राम्रै चल्ने छाँट देखाउन थालिसकेको थियो’, कार्कीले भने ।
तर, जन्मघरबाट टाढा मन अडिएन । अमेरिकामा बस्दा सिकेको कुरा देशमै लिएर जाँदा केही त पक्कै गरिन्छ भन्ने आत्मविश्वास थियो । अन्ततः कार्कीले स्टार्टअप अमेरिकी साथीलाई नै छोडेर नेपाली भूमिमै सपना र सम्भावनाको क्षितिज चियाउन थाले ।
यद्यपि, भन्नासाथ नेपाल सोचे जस्तो सजिलो भएन । त्यसको लागि पार गर्नुपर्यो– समाजको छेकबार । धेरैले उनलाई ‘अमेरिकामा फेल भएर नेपाल आएको’ भन्न थाले । ‘अमेरिकामा टिक्न नसक्नेले यहाँ के गर्ला’ भनेर सन्देह पनि गरियो । तर, उनी विचलित भएनन् । यस्ता सबै कुरा बेवास्ता गरेर कर्ममा केन्द्रित भए, कार्की ।
यसरी नेपाल आउनमा सन् २०१५ (२०७२ साल) को भूकम्पले पनि प्रेरित गरेको थियो । सो भूकम्पले नेपालको शिक्षा प्रणालीको कमजोरीलाई नजिकबाट देख्ने मौका दियो । अमेरिकामा रहँदै स्थापना गरेको दियालो फाउन्डेसन मार्फत कार्कीले त्यसबेला १,२०० अस्थायी टहरा बनाएका थिए । गाउँ–गाउँमा पुगेको सोही मौकामा अनुभूत गरे, नेपाल शिक्षामा झन् पछाडि रहेछ ।
सोचेभन्दा कमजोर अवस्था देखेपछि कार्कीले शिक्षा क्षेत्रमा केही गर्ने योजना बनाए । साथीहरू खेमराज खड्का र डा. गुप्तबहादुर श्रेष्ठसँग मिलेर युनाइटेड वर्ल्ड स्कूल्स (यूडब्लूएस) नेपाल स्थापना गरे । यसको एउटै उद्देश्य थियो– दुर्गम गाउँका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने ।
यूडब्लूएसबाट कार्कीले पहिलो विद्यालय संखुवासभाको मुडेमा बनाउने योजना बनाए । तर, काम सजिलो थिएन । स्थानीयलाई मनाउनु नै पहिलो चुनौती बन्यो । प्रस्ताव लिएर गाउँ छिरेका उनलाई गाउँलेले शंका गरे– पक्कै यो मान्छे पैसा कमाउने सोचले आएको हो ।
जबकि कार्कीको योजना त्यस्तो थिएन । बरु सस्तोमा गुणस्तरीय भौतिक संरचना कसरी बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेका थिए । यसको लागि कम्ती दुःख थिएन । संस्थालाई समाज कल्याण परिषद्मा दर्ता गर्नै सात महिना लाग्यो ।
‘म त अमेरिकामा जस्तै मस्तले हाफपेन्ट र चप्पलमा गएरै दर्ता गर्न खोज्थें । यहाँ त पूरै फर्मल हुनुपर्ने । हात जोड्नुपर्ने । शुरुमै झ्याउ गराइदिए’ उनले भने, ‘अन्तिममा चिनेजानेको मान्छेबाट फोन गराएपछि २० मिनेटमै काम बन्यो । मैले सात महिनामा नसकेको काम २० मिनेटमा सकियो । यहाँ चिनजानको मान्छे नभए काम गर्न गाह्रो छ भन्ने बुझायो ।’
सोही अभियान अन्तर्गत सन् २०१६ मा संखुवासभाको मुडेमा पहिलो विद्यालय बन्यो, त्यो पनि १२ कोठे, भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री । त्यो पनि जम्मा ५० लाखमा । कार्कीका अनुसार सरकारी टेन्डर प्रक्रियामा जाँदा यस्तो भवन बन्न २–३ करोड लाग्थ्यो । तर, उनले ७०–३० मोडल अपनाए । त्यो भनेको ७० प्रतिशत लगानी यूडब्लूएसले र ३० प्रतिशत समुदायले । समुदायलाई काठ, श्रम आदि मार्फत सहयोग गर्ने सुविधा थियो ।
समुदायलाई पनि निर्माण कार्यमा जोडेपछि अपनत्व झन् बढ्ने विश्वास कार्कीको छ । यसरी बनेको पहिलो विद्यालय १२० जनाबाट अहिले ४०० भन्दा धेरै विद्यार्थी पढाउने अवस्थामा पुगेको उनले जानकारी दिए ।
‘स्कूल बनाउँदा म हरेक दिन गाउँमा बस्थें, गाउँलेसँगै काम गर्थें । मुडेवासीले पनि मलाई छोरो, भाइ, भतिजो मानेर साथ दिनुभयो । यसरी हातमा हात मिलाएर काम गर्दा सफल भइने रहेछ’, उनले भने ।
पहिलो सफलतासँगै माग बढ्यो । संखुवासभाकै गुराँसेमा सोही प्रक्रिया अनुसार स्कूल बनाउन थाले । तर, त्यहाँ केही समयपछि गाउँलेको सहयोग मिलेन । कार्कीले पनि काम रोकिदिए ।
एक महिनापछि गाउँलेले आफ्नो निष्क्रियतापछि विद्यालय बन्न नसकेको अनुभूति गरे शायद । त्यसपछि सबै जना जुटे । रोकिएको काम सुचारु भएको तीन महिनामा मुडेको जस्तै विद्यालय बन्यो ।
यूडब्लूएस नेपालले संखुवासभा, गुल्मी, ताप्लेजुङ, भोजपुर र हुम्लामा गरेर धेरै विद्यालय बनाइसकेको छ, जसले २१ हजार ५९० विद्यार्थीलाई शिक्षा दिइरहेको कार्कीले सुनाए । ‘अहिले त हामी भवन मात्र बनाउँदैनौं, केही वर्षसम्म आफैं विद्यालय सञ्चालन गर्छौं’ उनले भने, ‘शिक्षकलाई तालिम दिन्छौं । छात्रवृत्ति र शैक्षिक सामग्री पुर्याउँछौं । हाम्रै कति स्वयंसेवक शिक्षक पनि हुनुहुन्छ ।’
कार्कीका अनुसार यस संस्थाले शिशु कक्षा सुधारमा पनि काम गरेको छ, जस मार्फत दुईवर्षे शिशु कक्षा चलाइन्छ । पहिलो वर्ष विद्यार्थीलाई बानी लगाउन, दोस्रो वर्ष कक्षा–१ को लागि तयारी गराउने उद्देश्यले सञ्चालन गरिन्छ ।
सक्षम शिक्षक बनाउन टिचिङ फेलोसिप
त्यस्तै, सन् २०१७ मा शुरु भएको टिचिङ फेलोसिप कार्यक्रमले हरेक वर्ष शिक्षक छनोट गर्छ । सयौं आवेदनबाट २० युवा छनोट गरिन्छन्, जसले दुर्गम गाउँमा दुई वर्षसम्म शिक्षण गर्छन् ।
कार्कीसँग यस्ता कैयौं उदाहरण छन् । जस्तो, अन्जिता राईले संखुवासभाको उलिङ गाउँमा विद्यालयलाई रूपान्तरण नै गरेकी छिन्, जो यही कार्यक्रमबाट छनोट भएकी हुन् ।
यसरी यूडब्लुएस नेपालले नेपालभर गरेर १०७ वटा विद्यालय सञ्चालन गर्छ । र, सन् २०३० सम्म १ लाख विद्यार्थीलाई शिक्षा दिने लक्ष्य यसको छ । त्यस्तै, यसले ७ हजार २०० आमाहरूसँग काम गर्छ । वित्तीय साक्षरता, प्याड मेकिङ र नेतृत्व तालिम दिन्छ ।
आमाहरूको प्रेरणामा डेलिस डेरी
‘हामीले आमाहरूलाई प्रश्न सोध्न सिकायौं । अहिले हाम्रा गाउँमा कुनै नेता आएर जथाभावी वाचा गर्न थाले भने आमाहरूले ‘कसरी ? कहाँबाट ?’ भनेर सोध्नुहुन्छ’, कार्कीले भने ।
आमाहरूसँग काम गर्दागर्दै एकदिन कार्कीको जीवनमा नयाँ घुम्ती आउँछ, कृषिको । एकदिन कामको सिलसिलामा आमाहरूले सुनाए, ‘अब हामीले कृषिमा पनि अवसर पाए झन् राम्रो हुन्थ्यो ।’ यसले कार्कीलाई डेलिस डेरी स्थापना गर्न प्रेरित गर्यो ।
अमेरिकामा सस्टेनेबल बिजनेसमा स्नातक कार्कीले त्यसअघि भेनेजुएलामा तीन वर्ष कृषि विज्ञान अध्ययन गरेका थिए । थप दुई साथीहरूसँग पनि सोच्ने तरिका र उद्देश्य मिलेपछि उनीहरूले नेपालका लागि नयाँ, पोषणयुक्त र स्वादिष्ट दुग्ध उत्पादन शुरु गर्ने अठोट गरेका थिए ।
साथीहरू सन्दीप पौडेल र विनय बोगटीसँग मिलेर उनले नेपालको पहिलो ग्रीक दही उत्पादन गर्ने कम्पनी शुरु गरे । अहिले डेलिसले मात्र इलाम र चितवनमा गरेर १०० जनालाई रोजगारी दिएको छ । महिला दुग्ध उद्यमीहरूलाई सहयोग गरेको छ ।
सानैदेखि मिहिनेती कार्कीले आजसम्म कैयौं अवार्ड पाइसकेका छन् । सन् २०१३ मा प्रिन्स चार्ल्सबाट अवार्ड पाए । सन् २०१७ मा फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूचीमा परे । सन् २०१८ मा फेसबुक कम्युनिटी लिडर अवार्ड र सन् २०२४ मा अर्थ इम्प्याक्ट हिरो अवार्ड पाए ।
विश्वभरका १०० प्रभावशाली युवामध्येबाट छानिएर चीनको स्वार्जम्यान स्कलरसिपमा स्नातकोत्तर सकेका कार्की भन्छन्, ‘चीनले मलाई उद्यमशीलता सिकायो । त्यहाँ हरेक गाउँमा केही न केही बन्दैछ । यसले पनि थप प्रेरणा दियो ।’
उनी थप्छन्, ‘विद्यालय भवन बनाउने, सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने, उनीहरूलाई विद्यालयमै टिकाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यमा समर्पित छौं ।’
संवादमा पटक–पटक आमालाई सम्झिने कार्कीले भावुक हुँदै भने, ‘आमाले नौ वर्षको उमेरमा नै काठमाडौं पढ्न पठाउनुभयो । त्यसैले होस्टल बसेरै मैले पढें । त्यसैले त अहिले यहाँ छु । नत्र के हुन्थ्यो होला जीवन… !’