
कम्प्युटर कोडिङको शिक्षा आज संसारभर अनगिन्ती प्लेटफर्महरूले दिइरहेका छन् । तर, यतिबेला तीन नेपाली इन्जिनियरले स्थापना गरेको प्लेटफर्म ‘प्रोग्रामिज डटकम’ विश्वभर कोडिङ सिक्न चाहने जो–कोहीका लागि सर्वाधिक आकर्षक रोजाइ बन्न पुगेको छ ।
नेपालबाटै सञ्चालित यो वेबसाइट विश्वभर सबैभन्दा बढी इन्टरनेट ट्राफिक भएको मध्ये एक हो, जसले व्यवहारतः नेपाली युवाले विश्वस्तरको डिजिटल उत्पादन दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
तीन युवाको भिजनले जन्माएको प्रोग्रामिज
यो सफलताको कथा शुरु हुन्छ तीन जना दूरदृष्टि भएका युवा इन्जिनियरहरू– रञ्जित भट्ट (३४), पुनित जाजोदिया (३५) र अश्विन श्रेष्ठ (३४) बाट । रञ्जित र अश्विन प्लसटुमा सँगैका साथी हुन् भने अश्विन र पुनितले भारतको नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) कुरुक्षेत्रमा कम्प्युटर साइन्समा बीटेक गरेका थिए । यता, रञ्जित भने पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक्स लिएर अध्ययन गरिरहेका थिए ।

कलेज जीवनदेखि नै रञ्जित भट्टलाई ब्लगिङको बारेमा गहिरो ज्ञान थियो । ‘त्यो बेलामा ब्लग लेख्ने प्रचलन धेरै नै बढेको थियो, खासगरी आफ्नै वेबसाइट बनाएर मन लागेका लेख–रचना छाप्ने गरिन्थ्यो’ पुनित सम्झन्छन्, ‘रञ्जित क्रिकेट हेरेर त्यसकै बारेमा ब्लग लेख्थे र हामीलाई ब्लगबाट कमाइ भएको सुनाउँथे ।’
यही प्रेरणाबाट रञ्जितले सन् २०११ मा ‘प्रोग्रामिज डटकम’ दर्ता गरेर प्रोग्रामिङका ट्युटोरियलहरू बनाउन सुर्रु गरे ।
अधुरै रह्यो ‘अधुरो’, ‘प्रोग्रामिज’ले गति लियो
सन् २०१४ मा पुनित भारतमा १४ महिना काम गरेर नेपाल फर्किंदा रञ्जितले प्रोग्रामिज मार्फत केही कमाइ गरिसकेका थिए । यही बेला तीनै जना साथीले एउटा साझा प्रश्नमाथि चिन्तन गरे, ‘के यो सफलतालाई गणित, विज्ञान, मनोविज्ञान जस्ता अन्य विषयहरूमा पनि लागू गर्न सकिन्छ ?’
यही सोचका साथ उनीहरूले ‘परेवा ल्याब्स’ शुरु गरे र यसको पहिलो प्रोजेक्टका रूपमा ‘अधुरो डटकम’ बनाए । अधुरोमा २१ वटा विभिन्न क्षेत्रका ब्लगहरूको नेटवर्क थियो, जुन एउटै प्लेटफर्मबाट सञ्चालन हुन्थ्यो ।
‘हामीले कुनै विषयमा ज्ञान भएका तर, ब्लगिङ गरेर पैसा कमाउने तरिका थाहा नभएका युवाहरूलाई लक्षित गर्यौं’ पुनित भन्छन्, ‘उनीहरूका लागि सामग्री सिर्जना गर्ने र त्यसबाट कमाउने मौका उपलब्ध गराउनु नै हाम्रो उद्देश्य थियो ।’
तर, व्यावसायिक बन्ने नाममा एकैपटक धेरैतिर हात हाल्दा समस्या आयो । संस्थाका सह–संस्थापक अश्विन श्रेष्ठ भन्छन्, ‘हामीले एकैपटक त्यतिका डोमेन व्यवस्थापन गर्नै सकेनौं । आफूले भनेअनुसार ट्युटोरियल कन्टेन्ट नहुने र आइहाले पनि त्यसलाई फेरि लेख्नुपर्ने हुन्थ्यो ।’
दिन–रात मिहिनेत गरे पनि ती थरीथरीका कन्टेन्टले उनीहरूलाई कुनै सफलता दिन सकेन । चुनौतीका चाङ थुप्रिन थाले । ‘हामीले विभिन्न विषयका लेखकलाई एक वर्षसम्म काम दियौं, तर नतिजा सोचे जस्तो भएन’ पुनित सम्झन्छन्, ‘त्यसपछि कर्मचारी कटौती गरेर हामी तीन जना मात्रै बाँकी रह्यौं । म र अश्विन जागिरको खोजीमा लाग्यौं, रञ्जित भने पुरानै वेबसाइट प्रोग्रामिजमै आईटीका कोर्षहरू राख्न थाले ।’
कम्पनीबाट छुट्टिनुअगाडि उनीहरू तीनै जना बसेर गल्तीहरूको समीक्षा गरे । अश्विनले पुराना दिन सम्झिए, ‘त्यसपछि हामीलाई महसुस भयो, हाम्रो ज्ञान कोडिङ र प्रोग्रामिङमा छ । तर हामी अरू नै क्षेत्रमा हात हालेर त्यसलाई व्यावसायिक बनाउन खोजिरहेका रहेछौं ।’
यही आत्मबोधपछि पुनितले रञ्जितलाई उनको पुरानो वेबसाइट प्रोग्रामिजमा पार्टनर बन्न आग्रह गरे । अधुरो डटकम चलाउन नसकेको पीडालाई मनन् गर्दै अश्विन र पुनित सहमत भएपछि रञ्जितले सन् २०१५ मा प्रोग्रामिजलाई परेवा ल्याब्समा गाभे र यसलाई दीर्घकालीन रूपमा व्यावसायिक बनाउने योजनामा लागे । यसरी, असफलताबाट पाठ सिकेर धुलो टक्टक्याउँदै उनीहरू अगाडि बढिरहे ।
प्रोग्रामिजको व्यावसायिक र विश्वव्यापी विस्तार
रञ्जितले अश्विन र पुनितलाई जोडेपछि परेवा ल्याब्सको कार्यालयमा फेरि नयाँ जोशका साथ काम शुरु भयो । ‘कार्यालय पुरानै भए पनि सोच नयाँ थियो । हामी तीनै जना आ–आफ्नै तरिकाले प्रोग्रामिङका कोडहरूलाई लेखेर कोर्षको रूपमा अनलाइनमा राख्न थाल्यौं’, पुनित संघर्षका दिन सम्झँदै भन्छन् ।
उनीहरू रात–दिन नभनी कोडिङका कोर्षहरूमा काम गर्न थाले । प्रत्येक दिन कामको समीक्षा गर्ने र भोलिको योजना बनाउने कठोर दिनचर्याले उनीहरूलाई ५ वर्षसम्म (सन् २०१९ सम्म) निरन्तर काम गर्न उत्प्रेरित गर्यो ।
हालसम्म ४ करोड ५० लाख बढी युनिक भिजिटरले प्रोग्रामिजको साइट खोलेका छन्, जसमध्ये मासिक ६० लाख ३५ हजार प्रयोगकर्ता सक्रिय रूपमा प्रोग्रामिङ सिकिरहेका छन् ।
कोडिङका कोर्ष लिनेहरूको संख्या बढ्दै जाँदा उनीहरूको आम्दानी पनि बढ्न थाल्यो । यसरी काम गर्दा प्रोग्रामिजले भारत, अमेरिका, क्यानडा, बंगलादेश, पाकिस्तान लगायत देशमा आफ्नो बलियो पहिचान स्थापित गर्न सफल भयो । ‘हाम्रो कडा र निरन्तरको मिहिनेतले प्रोग्रामिजको बजार विश्वव्यापी रूपमा बढ्न थाल्यो’ पुनित भन्छन्, ‘अमेरिका, एशियापछि युरोपतिरबाट पनि कोडिङ सिक्ने विद्यार्थी आउन थाले, जसले हामीलाई थप हौसला प्रदान गरिरह्यो ।’
सिमिलर साइट्सको जुलाई २०२५ को तथ्यांक अनुसार, मासिक १ करोड प्रयोगकर्ताले प्रोग्रामिजको साइट भिजिट गर्ने गरेका छन् । कम्पनीका अनुसार, शुरु भएदेखि हालसम्म ४ करोड ५० लाख बढी युनिक भिजिटरले प्रोग्रामिजको साइट खोलेका छन्, जसमध्ये मासिक ६० लाख ३५ हजार प्रयोगकर्ता सक्रिय रूपमा प्रोग्रामिङ सिकिरहेका छन् ।
औसतमा एक प्रयोगकर्ताले यसमा ४ मिनेट ४२ सेकेन्ड समय बिताउने गरेका छन्, जुन एक डिजिटल शैक्षिक प्लेटफर्मका लागि प्रशंसनीय मानिन्छ ।
कोरोनाकालको ‘मौकामा चौका’
विश्वभर कोरोना भाइरसको महामारी चल्दा धेरै व्यवसायहरू प्रभावित भए, तर प्रोग्रामिजको टोलीले भने कामलाई निरन्तरता दिइरहेको थियो । अनलाइन कोर्ष भएकाले महामारीले यसमा कुनै असर पार्न सकेन, बरु कोडिङ सिक्न चाहने विद्यार्थीको संख्या विश्वव्यापी रूपमा बढ्न थाल्यो ।
यही अवसरको सदुपयोग गर्दै पुनितले लकडाउनकै बेला घरमै बसेर अनलाइन कोड कम्पाइलर विकास गरेर प्रोग्रामिज डटकममा इन्टिग्रेट गरे । यो फिचर उपलब्ध भएपछि विद्यार्थीलाई फोन वा कम्प्युटरबाटै कोडिङ अभ्यास गर्न सजिलो भयो । ‘यो फिचर आएपछि कोडिङ सिक्ने विद्यार्थीलाई केही राहत भयो, विद्यार्थी झन् बढ्न थाले’, पुनित भन्छन् । यसअघि ‘लर्न पाइथन’, ‘लर्न सी प्रोग्रामिङ’, ‘लर्न सी प्लस प्लस’ र ‘लर्न जाभा’ जस्ता मोबाइल एपहरू विकास गरिए पनि तिनले खासै प्रभाव पार्न नसकेको पुनितको भनाइ छ ।
यसैगरी, कोरोनाकालमै प्रोग्रामिजले युट्युब च्यानल पनि सुरुआत गर्यो । मोबाइल एपमार्फत विद्यार्थीहरू आउने तर आफूहरूलाई नचिन्ने र विश्वास पनि नगर्ने समस्या समाधान गर्न यो कदम चालिएको थियो ।

‘कोरोनाकालमा विद्यार्थीलाई विश्वास दिलाउन र यसको पछाडि को रहेछ भनेर आफूहरूलाई पनि चिनाउन हामीले युट्युब च्यानल खोल्यौं’ पुनित भन्छन्, ‘यसपछि हामीलाई संसारभरबाट हेर्ने र कोडिङ सिक्नेको संख्या दोब्बर बढेर आयो । कोरोनाकाल हाम्रो लागि मौकामा चौका दाउ बनेर आयो ।’
स्टुडियो भाडामा लिएर विभिन्न कोर्षका भिडियोहरू सुट गरी युट्युबमा अपलोड गरेपछि देश–विदेशबाट सकारात्मक प्रतिक्रियाहरू आउन थाले । ‘कतिले त तपाईंहरूकै कारण मेरो इन्जिनियरिङ डिग्री कट्यो, गाह्रो विषयमा पास भएँ लगायत थुप्रै सकारात्मक ऊर्जा सहितको फिडब्याक आउन थाल्यो’, पुनित खुशी हुँदै बताउँछन् ।
यसले उनीहरूलाई थप ऊर्जा प्रदान गर्नुका साथै प्रोग्रामिजलाई आईटीको क्षेत्रमा गुणस्तरीय रूपमा स्थापित गर्यो ।
प्रिमियम प्लेटफर्ममा नेपालीलाई निःशुल्क
कोडिङ सिक्नका लागि उत्कृष्ट र गुणस्तरीय प्लेटफर्मको रूपमा चिनिएपछि प्रोग्रामिजले आफ्नो प्रिमियम भर्सनलाई ‘प्रोग्रामिज डट प्रो’ मा अपडेट गरेको छ ।
सब्सक्रिप्सन मोडलमा आधारित यो प्लेटफर्ममा पाइथन, एचटीएमएल, सी प्रोग्रामिङ, सी प्लस प्लस, जाभा स्क्रिप्ट लगायत १९ भन्दा बढी कोडिङका कोर्षहरू सिक्न सकिन्छ ।
‘कक्षा कोठामा प्रोग्रामिङ सिक्नुभन्दा प्रोग्रामिजमा सिकेको कुरा बढी प्रभावकारी हुन्छ’ पुनितको दाबी छ, ‘हामीले यो प्लेटफर्ममा अहिले कोर्स कन्टेन्टको रूपमा मात्र राखेका छैनौं, रचनात्मक शैली पनि अपनाएका छौं ।’

प्रिमियम भर्सनमा प्रत्येक कोर्ष सिकिसकेपछि प्रणालीबाटै प्रयोगकर्तालाई क्विज र च्यालेन्ज दिइन्छ । परीक्षामा सहभागीले गरेका कमजोरी र गल्तीहरूमा बढी केन्द्रित गराएर उनीहरूलाई रचनात्मक तरिकाले प्रोग्रामिङ र कोडिङ गर्न सिकाइन्छ ।
‘हामीले प्रोग्रामिङ ल्याङ्ग्वेजलाई यति सजिलो गरी बनाइदिएका छौं कि उहाँहरू सिक्न झन् उत्साहित हुनुहुन्छ’ उनी भन्छन्, ‘प्रयोगकर्तालाई शुरुमा हामीले ट्रायल भर्सन प्रयोग गर्न दिन्छौं । उहाँहरूलाई मन पर्ने भर्सनमा पैसा तिरेर सिक्नुहुन्छ । हामीले फोर्सफुल्ली कसैलाई पनि कर गरेका छैनौं ।’
विज्ञापनरहित यो प्रिमियम प्रोडक्टका लागि मासिक १६ र वार्षिक १२० अमेरिकी डलर सब्सक्रिप्सन शुल्क तोकिएको छ । यद्यपि, नेपालीका लागि यो निःशुल्क छ भने भारतका लागि फरक शुल्क निर्धारण गरिएको छ ।
विश्वविद्यालयकै पाठ्यक्रममा प्रोग्रामिज
प्रोग्रामिजले डिजाइन गरेको कोर्ष अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूको पाठ्यक्रममा समावेश हुनु नेपाली आईटी उद्योगका लागि एक ठूलो उपलब्धि हो । कम्पनीका सीईओ पुनितका अनुसार, क्यालिफोर्नियास्थित कलेज अफ मरिन, सान फ्रान्सिस्को र पुर्दु विश्वविद्यालयले प्रोग्रामिजका आईटी कोर्षहरू खरिद गरेर आफ्ना डिग्रीका पाठ्यक्रममा समावेश गरेका छन् ।
यी विश्वविद्यालयहरूले नियमित रूपमा आफ्ना विद्यार्थीलाई प्रोग्रामिजका कोर्षहरू अध्ययन गर्न र अभ्यास गर्न लगाउँछन् । कम्प्युटर साइन्सका प्रोफेसर जेफ येतेसले त ‘कम्प्युटर साइन्स एन्ड प्रोग्रामिज’ शीर्षकमा छुट्टै लेख प्रकाशित गर्दै आफ्ना विद्यार्थीलाई प्रोग्रामिज नै विश्वमा सस्तो र गुणस्तरीय आईटीका बहु–भाषा सिक्ने उपयुक्त प्लेटफर्म भएकोले यहींबाट सिक्न आग्रह गरेका छन् ।
प्रोफेसर येतेस स्वयं पनि कम्प्युटर प्रोग्रामिङ ल्याङ्ग्वेज, प्रविधि तथा डेटा स्ट्रक्चर्स एन्ड एल्गोरिदम (डीएसए) यही प्रोग्रामिजको प्लेटफर्मबाट प्रयोग गरिरहेको बताउँछन् ।
यता, नेपालका केही आईटी कलेज तथा इन्ष्टिच्युटहरूले पनि प्रोग्रामिजले बनाएका कोर्षहरू अहिले निःशुल्क रूपमा पढाइरहेका छन् । ‘हामीले नेपालका चलेका आईटी कलेज र इन्ष्टिच्युटहरूलाई निःशुल्क रूपमा पढाउन उपलब्ध गराएका छौं’, पुनित भन्छन् । यो नेपालका लागि ज्ञानमा पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम हो ।
देश चिनाउने लक्ष्य
ललितपुरको झम्सिखेलमा रहेको प्रोग्रामिजमा हाल ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कम्पनीका सीईओ पुनितका अनुसार उनीहरू खासगरी प्रोग्रामिङ कोर्ष तयार पार्ने, नयाँ–नयाँ कन्सेप्टमा काम गर्ने र ग्राहकका सेवाहरूलाई थप स्तरीय बनाउनमा सघाउँछन् ।
‘प्रोग्रामिङको काम गर्नु भनेको अरूभन्दा थप मिहिनेत गर्नु हो । यसमा धेरै इफोर्ट र माइन्ड कन्सन्ट्रेसन गर्नुपर्छ, त्यसकारण आरामको बढी आवश्यकता भएकाले कर्मचारीहरूलाई दुई दिन (शनिवार र आइतवार) बिदा दिएका छौं’, पुनित सुनाउँछन् ।
हाल प्रोग्रामिज डट प्रोमा १७ हजार बढी प्रयोगकर्ताले शुल्क तिरेर र १२ लाख बढी विद्यार्थीले निःशुल्क रूपमा सिकिरहेका छन् ।
प्रोग्रामिजको कुल ट्राफिक १ करोडभन्दा बढी रहेको छ । कम्पनीले यो प्रोडक्ट मोडेललाई विभिन्न कलेजमा समेत उपलब्ध गराउने योजना बनाएको छ ।
पछिल्लो समय विश्वभर एआईको लोकप्रियता बढ्दै जाँदा प्रोग्रामिजले पनि आफ्नो प्लेटफर्ममा एआई इन्टिग्रेट गर्ने योजना बनाएको छ । ‘एआईले संसारलाई नै आफूतिर तानिसकेको छ । हामीले पनि यसलाई सदुपयोग गरेर विद्यार्थीलाई थप ज्ञान दिन एआईका टुल्स इन्टिग्रेट गर्न लागेका छौं’, पुनित भन्छन् ।
प्रोग्रामिजको मुख्य प्रयोगकर्ता नेपालभन्दा विदेशमा बढी छन् । विशेषगरी भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, इन्डोनेसियाका साथै अमेरिका र युरोपमा पनि सब्सक्रिप्सन लिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । तर, कम्पनी नेपाली हो भनेर धेरैलाई थाहा छैन ।

‘हामी कहींकतै विदेशमा आईटी कन्फरेन्समा भाग लिन जाँदा प्रोग्रामिजबाट भनेर परिचय दिंदा कतिले त पत्याउँदैनन्’ पुनित अनुभव सुनाउँछन्, ‘कतिले त तपाईंहरूकै कोर्ष पढेर हामीले आफ्नो डिग्री पूरा गरेको पनि भन्छन् ।’
यही कारण, प्रोग्रामिजलाई नेपालमै बसेर कोडिङ र प्रोग्रामिङ सिकाउने अब्बल प्लेटफर्म भनेर विश्व बजारमा चिनाउने उनीहरूको लक्ष्य छ । ‘हामीलाई विश्वबजारमा कोडिङका कमान्डर गुरु बन्न मन छ’ पुनित दृढतापूर्वक भन्छन्, ‘नेपाललाई अब हिमालयको देश, सम्पदाको देश मात्रै होइन, कोडिङ र प्रोग्रामिङ अर्थात् सूचनाप्रविधिमा अब्बल देश भनेर चिनाउन मन छ ।’
नेपालमै बसेर पनि एउटा कम्पनीले आफ्नो व्यवसायलाई विश्वभर विस्तार गर्न सकिन्छ भन्ने सन्देश दिन चाहने उनीहरूले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्ने सपना पनि देखेका छन् । तर, यसका लागि सरकारले प्रविधि स्टार्टअप कम्पनीहरूका लागि नीति र कानूनमा अझै खुकुलोपन ल्याउनुपर्ने उनीहरूको माग छ ।
‘हामी नेपालमै बसेर विश्वबजारमा वार्षिक ५ देखि ७ हजार अब्बल तथा दक्ष जनशक्ति तयार गर्न सक्ने क्षमता राख्छौं’ अश्विन र पुनित भन्छन्, ‘तर सरकारले करमा छुट गरिदिए सुनमा सुगन्ध हुन्थ्यो । कानूनी र नीतिगत रूपमा खुलेर आइदिए हाम्रो सपना साकार पार्न अझ सहज हुनेछ ।’