उनले किसान जगाइन्, आन्दोलनले नेता पायो
चार वर्षअघि मधेशमा किसान आन्दोलन हुन्थेन भने विनिता कुमारी सिंह दनुवार सांसद हुने थिइनन् । सांसद नभएको भए उनी अर्को वर्ष काठमाडौं आउने थिइनन् ।
२०७८ सालमा सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको मधेशकेन्द्रित किसान आन्दोलनले उनलाई आफ्नो खेती–किसानी समुदायको अगुवा बनाइदियो । त्यस बेलासम्म पार्टीमा लागिनसकेकी विनिता किसानलाई अघि बढ्न भने मज्जैले हौस्याउँथिन् ।
‘मेरो आग्रह मानेर त्यसबेला धेरै महिला किसान आन्दोलनमा जानुभयो’ उनी सम्झिन्छिन्, ‘अहिले सम्झिंदा लाग्छ, मैले त्यसबेला किसानलाई मात्रै होइन, आफैंलाई पनि अघि बढ्न प्रोत्साहित गरेछु ।’
महिला समूहमा रहेर काम गर्दै जाँदा विनितालाई आत्मविश्वास बढ्दै गएको थियो । यसबीचमा सडकमा ‘समयमै मलखादको व्यवस्था गर, सिंचाइ सुविधा दे, किसान कार्ड लागू गर, बालीनालीको स्वतः बीमा गर, किसानलाई निःशुल्क बिजुली दे, कृषि मिटर फ्री गर, किसानलाई पेन्सन दे, पेन्सन कार्ड लागू गर, कृषि बजारको व्यवस्था गर’ जस्ता नारा लागिरहेका थिए ।

आन्दोलनपश्चात् यी माग केही हदसम्म सम्बोधन भएका छन् । आन्दोलनकै कारण अहिले मधेशका अधिकांश स्थानीय तहमा कृषिमा बिजुली मिटरको बिल फ्रि छ । सिंचाइ व्यवस्था पहिलेभन्दा राम्रो छ यद्यपि अहिले सुक्खायामले समस्या नल्याएको होइन ।
विनिता सुनाउँछिन्, ‘तथापि, किसानले अझ धेरै सहुलियत पाउनुपर्नेछ, ताकि कृषकलाई प्रोत्साहित गर्न र उत्पादन बढाएर मुलुकलाई समृद्ध बनाउन सकियोस् । यसमा राज्यकै स्पष्ट नीति र लगानी आवश्यक छ ।’
किसान आन्दोलनमा सरिक भएको र आन्दोलन उठाउन बस्तीका मान्छेहरूलाई प्रदर्शनस्थल पुर्याउन खेलेको भूमिकाले सांसद पद दिलायो त ? अरू धेरै महिला पनि थिए होलान्, उनी नै पर्नुको कारण के होला !
२०५१ साल साउन ५ गते धनुषाधाममा जन्मिएकी विनिताको विवाह २०७१ सालमा सिरहाका पंकजकुमार सिंहसँग भएको थियो । विनिता युवा अनि महिला हुन् । उनलाई आदिवासी जनजाति समुदाय र मधेशको प्रतिनिधित्व गर्ने सुयोग मिल्यो । उनी सम्झिन्छिन्, ‘मेरो नाममा निर्णय भएपछि अध्यक्ष (सिके राउत) ले पार्टी निर्माण र निर्वाचनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवार बन्ने कुरा सुनाउनुभयो ।’
४ मंसिर २०७९ मा सम्पन्न आम चुनावमा जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जित्यो र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत बढी मत पाएर थ्रेसहोल्ड कटाउँदै थप ५ सिट प्राप्त गर्यो । जसमा विनिता पनि परिन् ।
सांसद भएपछि पहिलोपल्ट उनले संघीय राजधानी काठमाडौं टेकिन् । पारिवारिक जिम्मेवारी, रोजगारी आदिले उनलाई काठमाडौं आउने सपना पूरा हुन दिइरहेको थिएन । सांसद भएपछि भने काठमाडौं नै आउनुपर्ने थियो, आइन् ।
‘काठमाडौं आउने प्लान गरिराख्या थियौं, मिलिरहेको थिएन’, विनिता सांसद हुनु अगाडिको जीवन सम्झिन्छिन्, ‘बच्चा जन्मिएपछि थप व्यस्त भइयो । घरभित्रकै कामको जिम्मेवारी छँदैछ । केही समय स्कूलमा पढाएँ, बोर्डिङ स्कूलमा पनि पढाउँथें । सामाजिक काममा भ्याएसम्म पुग्ने गर्थें, काठमाडौं आउने समय मिलेकै थिएन । सांसद भएरै पहिलोचोटि काठमाडौं आएँ ।’
‘राजनीतिमा पहिलो–पहिलो अनुभव, काठमाडौं पनि पहिलो पल्टै छिरेको धेरै चीजको अनुभव थिएन’ उनी भन्छिन्, ‘स्कूल जीवनको बानीले काठमाडौंमा घुलमिल हुन सघायो– कि कुनै कुरा थाहा नभए नलजाई सोध्ने र अगाडि गएरै बोल्ने ।’
अन्य सांसदको व्यवहार नियालेर र नबुझेको विषयमा सांसदसँगै सोधेर विनिता संसदीय गतिविधिमा सरिक हुन्छिन् । उनी भन्छिन्, ‘संसद्को दोस्रो वर्षतिरबाट संसदीय अभ्यास अलि राम्रोसँग बुझ्न थालें ।’ तर, विनितालाई भाषाले समस्या पारेको र पार्दै आएको छ ।

संघीय संसद्मा कुनै पनि सांसदले आफ्नो मातृभाषामा बोल्न पाउँछन् । तर, नेपाली बाहेक भाषामा बोलेको संसदीय अभिलेखमा रहँदैन । संसद् सचिवालयका अनुसार नेपाली बाहेकका भाषामा सांसदले बोले त्यसलाई उतारेर सोही भाषामा अभिलेख राख्न कर्मचारी र आर्थिक स्रोत दुवै अभाव छ । संसदीय अखिलेखमा नरहने भएपछि सांसदहरू नेपाली भाषामै बोल्दछन् ।
देशकै नीति बनाउँछु भनेर आएको एउटा सांसदले मातृभाषामा बोलेको अभिव्यक्ति संसदीय अभिलेखमा राख्ने पहल समेत लिन नसक्ने रहेछन् कि, यसनिम्ति पहल नै भएको छैन ? जवाफमा विनिता हरेक मातृभाषामा बोलिएका अभिव्यक्ति संसदीय अभिलेखमा हुनुपर्ने र यसनिम्ति निरन्तर पहल लिने प्रतिबद्धता जनाउँछिन् ।
विनिता सोच्दछिन्– ‘नागरिकले खोजेको समस्याको समाधान हो । त्यसनिम्ति सांसदले पहल लिएर हुन्छ भने पनि त ठिकै छ । किनभने नागरिकलाई सरकार र संसद्को भूमिका बुझाउन सकिएको छैन । यसकारण नागरिकले सांसदबाटै हरेक समस्याको समाधान खोजिरहेका छन् ।’
विनिताको नजरमा अहिले पनि जनताले सांसदबाट विकास खोज्दछन् । न्यूनतम विकासको पूर्वाधार सबैतिर पुगेको छैन । यस्तोमा जनप्रतिनिधिबाट विकास खोजिनु स्वाभाविक हो । यस अन्तर्गत आफ्नो क्षेत्रमा बजेट पार्न सक्दो पहल लिएको र फेरि पनि लिइरहने सांसद विनिताको प्रतिबद्धता छ ।
दनुवार समुदायमा खुशी मात्रै !
विनिता राजनीतिमा सक्रिय भइन, सांसद भइन् । महिनामा एक पटक भए पनि जिल्ला पुग्ने प्रयासमा हुन्छिन् । जिल्ला जाँदा औपचारिक र अनौपचारिक दुवै प्रकारका कार्यक्रम तय हुन्छन् । यसको चाँजोपाँजो पार्टी कमिटी मार्फत तय गरिन्छ । जसमा विनिताका श्रीमान् पंकजको सक्रिय भूमिका रहन्छ ।
विनिताका अनुसार निर्वाचन क्षेत्रमा फरक समूह र समुदायका फरक–फरक चाहना हुन्छन् । विकासका कुरा गर्ने, योजनाको प्रगतिका कुरा गर्नेहरू पनि हुन्छन् । संसद्मा उठाउनुपर्ने विषयबारे सुझाव दिनेहरू ज्यादा हुन्छन् । संसद्मा राखेको विषयलाई लिएर प्रोत्साहन गर्ने र कतिपय विषय संसद्मा उठाउँदा नमिलेको भनेर सुझाउनेहरू पनि हुन्छन् ।
उनी भन्छिन्, ‘निर्वाचन क्षेत्र जाँदा कति वडामा भ्याइन्छ समय अनुसार वडा/वडा केन्द्रित कार्यक्रम राखेर जनतासँग छलफल गर्ने गरेकी छु । उहाँहरूले राखेको कुराहरू टिप्छु र संसद्मा उठाउने गर्छु ।’
विनिताका अनुसार सिरहामा भोक, गरिबी, अभाव र असुरक्षा लगायत थुप्रै समस्या छन् । ‘एउटा सांसदले उहाँहरूको कुरा धैर्यपूर्वक सुनिदिए मात्रै पनि धेरै राहत मिल्छ जस्तो लाग्छ’ उनी भन्छिन्, ‘म गाउँमै जान्छु र उहाँहरूको कुरा सुन्छु । म महिला सांसद भएर पनि होला, धेरै गुनासो महिला दिदीबहिनीले मसँग खुलेर गर्नुहुन्छ ।’
महिला दिदीबहिनीले खुलेर राख्दा कस्ता विषय उठाउँछन् त ? विनिता सुनाउँछिन्, ‘त्यहाँका महिलाहरूमा पछिल्लो समय आत्मनिर्भर बन्ने चाहना बढेको छ । आफ्नै खुट्टामा उभिन चाहनुहुन्छ । कपडा सिलाउने मेसिन, धूप बनाउने सामग्री, व्यापार गर्ने लगानी कसरी जुटाउने होला भनेर सोध्नुहुन्छ र अनुरोध गर्नुहुन्छ ।’
विनितालाई संसद्मा बोलेको देख्न पाउँदैमा खुशी हुनेहरू पनि उत्तिकै छन् । ‘म संसद्मा बोल्नुलाई मात्रै गर्वको रूपमा लिनेहरू भेट्दा भावुक हुन्छु । जो केही माग्दैनन्, बस खुशी हुन्छन्’ विनिता सुनाउँछिन्, ‘मैले कुरा गर्दा मात्रै उत्साही भएर सुन्नुहुन्छ, एकदम पोजिटिभ हुनुहुन्छ, एनि टाइम पोजिटिभ । यस्तो चाहियो भन्नुहुन्न, बरु सन्चो–बिसन्चो सोध्नुहुन्छ र राम्रो गर्नु भन्नुहुन्छ ।’
विनिताका अनुसार राजनीतिमा होमिन आम रूपमा महिलाका लागि सहज छैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले राजनीतिमा महिला समावेशितालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म मधेशका महिला देखिन्छन् । परिवारभिक्रको जिम्मेवारी, राजनीतिक शत्तिको संघर्ष र संसदीय भूमिका निभाउन सांसद भएपछि पनि महिलाका निम्ति सहज छैन । तथापि, सबै जिम्मेवारी एकसाथ निभाउन सक्ने व्यवस्थापकीय खूबी महिलामा विकास हुँदै आएको उनको विश्वास छ ।
फेरि पनि आफूले प्रतिनिधित्व गरेको दनुवार समुदायमा पुग्दा र महिलाहरूका बीचमा रहँदा केही नमाग्नेहरूप्रति विनिता भावुक छिन् । ‘बोलेर माग्न सक्नेहरूले अरूसँग पनि माग्छन् । त्यसमा मेरो पनि पहल अवश्य हुन्छ । जसले नबोलेर मप्रति गर्व मात्रै गरेका छन् उनीहरूप्रति मेरो जिम्मेवारी ज्यादा छ ।’

खुशी मात्रै प्रकट गर्नेहरूप्रति के गर्ने त ? विनिताको जवाफ छ, ‘किसानले कृषि उपजको उचित मूल्य पाए भने आर्थिक अवस्था राम्रो हुन्छ । आथिक अवस्था राम्रो भएपछि सन्तानलाई राम्रो शिक्षा दिलाउन सक्छन् । पढ्न पाए भने नयाँ पुस्ताले आफ्नो अधिकार आफैं लिन्छन्, अरूले टाउको दुखाउनै पर्दैन ।’ यसकारण आफूले संसद्मा विषय राख्दा समेत किसानका कुरा, शिक्षाका कुरा उठाउने गरेको विनिता सुनाउँछिन् ।
मधेश शिक्षामा पछाडि छ । स्वास्थ्यमा पछाडि छ । विद्यालयका भवनहरू जीर्ण अवस्थामा छन् । विद्यालयहरूमा डेस्क–बेन्चको पनि धेरै कमी छ । विनिता थप्छिन्, ‘डेलिभरी हुँदा अप्ठ्यारो भए एम्बुलेन्स नपाउनेसम्मको अवस्था छ । यी सबैका लागि आवाज उठाइरहेकी छु ।’
उनका नजरमा अहिले पनि मधेशका महिला घुम्टो उठाउँदै अघि बढ्नुपर्ने चुनौतीमै छन् । ‘म पनि त्यही माटोकी हुँ । म त्यो घुम्टोबाट अछुतो कसरी हुन सक्छु !’ विनिताको दृढता छ, ‘ममा थोरै भए पनि राजनीतिक चेत छ । त्यसैले परिवारमा मात्रै रुमलिएर हुँदैन, देश र जनताका लागि केही गर्नुपर्छ भन्ने भावना सँगालेकी छु । मेरै अवस्थामा मधेशका धेरै महिलालाई पुर्याउन के–के गर्नुपर्छ र के–कति सक्छु सबै गर्छु ।’
नेपालमा दनुवार कम जनसंख्या भएको समुदाय हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दनुवार समुदायको जनसंख्या ८२ हजार ७८४ छ । एकातिर मधेश आफैंमा पछाडि परेको भूगोल हो । त्यसमा पनि दनुवारलाई राजनीतिमा आउनै समस्या छ । त्यो पनि नयाँ पार्टीबाट विनिता सांसद भएकी छन् । यसकारण पनि दनुवार समुदायमा संसद्मा विनिता देखिनु नै महत्वपूर्ण उपलब्धि हो ।
मधेशमा अत्यन्त सीमित महिलाले राजनीतिमा आउने अवसर पाउँछन्, जुन विनिताले पाएकी छन् । उनी यस अवसरको श्रेय परिवार र श्रीमान्लाई ज्यादा दिन्छिन् ।
सरकारले सांसदलाई मासिक तलब बाहेक बैठक र आवास भत्ता दिन्छ । तर, त्यसले नपुग्ने विनिताको अनुभव छ– ‘सरकारले दिने खर्च र भत्ताले भ्याउँदैन । सबैलाई थाहा छ काठमाडौंमा बस्न कति गाह्रो छ र कति महँगी छ भनेर ।’
सरकारले काठमाडौंमा घर हुने सांसदका लागि मासिक ९ हजार र काठमाडौंमा घर नहुनेका लागि मासिक १८ हजार आवास भत्ता दिन्छ । विनिताको प्रश्न छ, ‘जनता, गाउँबाट आए र समस्या पर्यो भने राख्नुपर्यो, खाना खुवाउनुपर्यो, बसाउनुपर्यो । पैसा छैन भने दिनुपर्यो । अनि सरकारले दिने भत्ता र तलबले भ्याउँछ त ?’
एउटा सांसदबाट नीति बनाउन कति समय लिने हो पूर्णतः लिइनुपर्ने र सांसदका लागि आवश्यक पूर्वाधारको प्रबन्ध गरिनुपर्ने विनिताको राय छ ।
सरकारले दिएको पैसाले नपुग्ने भए कसरी खर्च व्यवस्थापन भइरहेको छ त ? जवाफमा विनिता ससुराको पेन्सन देखाउँछिन् । ‘मेरो ससुराको पेन्सन आउँछ, त्यो पैसा यता खर्च हुन्छ ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी