कुम: सागरले ल्याएको सांगीतिक हलचल
खप्तड स्वामीको एउटा भनाइ छ, ‘सफलताको लागि तीन कुरा आवश्यक छ– दृढ संकल्प, आत्मविश्वास र निरन्तर प्रयास ।’
ठ्याक्कै यही कुरा मेल खान्छ, कुम: सागरको हकमा । उनको जीवनमा सफलताभन्दा असफलताको पल्ला भारी थियो । पढ्न गयो, असफलता । गिटार सिक्न गयो, असफलता । सांगीतिक प्रतियोगितामा भिड्यो, असफलता ।
तर, असफलताको यो शृंखलाले उनलाई कहिल्यै गलाएन । कहिल्यै थकाएन । किनभने, उनीसँग यो असफलतालाई जित्ने एउटै प्रयत्न थियो, निरन्तरता ।
कुम:ले आफ्नो गति रोकेनन्, लय छाडेनन्, धुन बिराएनन् । लागिरहे, लागिरहे । त्यसबेलासम्म लागिरहे, जबसम्म हजारौं दर्शकले उनलाई एक झलक हेर्न मात्र पनि तँछाडमछाड गरेनन् ।
यतिबेला कुम: सागर भनेपछि हुरुक्कै नहुने को छ ? उनको गीतमा लट्ठ नहुने को छ ? उनको कन्सर्टमा झुम्न नचाहने को छ ?
जबजब कुम: सागरको नाम उद्घोष हुन्छ, एउटा विशाल जमात हर्षले नाच्न थाल्छ । चाहे झमझम पानी परिरहेको बेला झ्यालमा बसेर संगीत सुन्न चाहने एकान्तप्रेमी होस् वा हुलमुलमा नाच्दै–उफ्रँदै भाकामा भाका मिलाउने तन्नेरी, कुम: सागरलाई नसुन्ने कोही छैनन् ।

खासगरी आफ्ना बाजेबाट सुन्दै आएको भजन र आफूले बाल्यकालमा सुन्दै आएको नेवारी लोक धुनलाई उनले आफ्नो गायकीमा मिसाइदिएका छन् । त्यही मधुर समिश्रण नै कुम:को खासियत हो ।
आखिर लड्दैपड्दै उनले यो स्थानसम्म आफूलाई कसरी ल्याइपुर्याए ?
आज धेरैले ‘कुम: सागर’ भनेर चिने पनि यी प्रतिभाशाली कलाकारको खास नाम सिद्धिसागर प्रजापति हो । माटोका भाँडा बनाउने प्रजापति समुदायलाई स्थानीय भाषामा ‘कुम’ भनिन्छ ।
त्यही भएर आफ्नो थर ‘कुम:’ र नामको ‘सागर’ जोडेर उनले नाम राखे । तर उच्चारणका कारण कसैले कुमस् सागर त कसैले कुम: सागर भन्न थाले । दुवै नामले चिनिन थाले ।
नाम त के भयो र ! चर्चा कामको जो भइरहेको छ । अनि यी नामलाई धेरैको जिब्रोमा झुन्ड्याउने खासियात पनि त उनको काम नै हो । अर्थात्, गायन ।
०००
कुम: सागर भक्तपुरमा जन्मे-हुर्केका रैथाने नेवार हुन् । उनको बोलीचालीमा नेवारीपन छ । सङ्घर्षका सुरुवाती दिनहरूमा कतिपयले उनलाई त्यहीँ विशेषणका आधारमा ‘जज’ गरे । तत्कालीन समयमा ग्लानी महसुस भयो होला । तर उनले त्यो ग्लानीलाई कमजोरी हुन दिएनन् ।
बरु त्यस्तै स्वपहिचानलाई खुला गरे । र त आज उनी भिडमा परबाटै देखिन्छन् । चिनिन्छन् ।
कुम: सागरको बाल्यकाल भक्तपुरका गल्लीहरूमा नेवारी भजन सुन्दै र सिक्दै बितेको थियो । उनका लागि ती संगीत पाठशाला पनि हुन् । किनकि, उनले कहिल्यै औपचारिक रूपमा संगीत सिकेनन् ।
बाल्यकालमा कुम: सागरलाई तेक्वान्दो र पौडी खेल्न मन पर्थ्यो । पढाइमा भने त्यति धेरै रुचि थिएन । जे जस्तो भए पनि आमाबाट धेरै माया र संरक्षण पाइरहे । बुबाले भने कहिलेकाहीँ कडा व्यवहार गर्ने गर्थे ।
पारिवारिक पृष्ठभूमि र परम्परागत भजन गायनले उनलाई सानैदेखि संगीतप्रेमी बनाएको थियो । सानैदेखि आफ्ना बाजेहरूसँग भजन गाउन मन्दिर जाने गर्थे । बाजेको निधनपछि पनि परिवार र समुदायको उत्प्रेरणाले उनलाई भजनमा निरन्तरता दिन र परम्परागत बाजाहरू प्रोत्साहन मिलिरह्यो । बारम्बार त्यहीँ गरिरहँदा अधिकांश नेवारी भजन कण्ठस्थ भयो, जसले उनको सांगीतिक जगलाई अझ बलियो बनायो ।
कुम: सागरले अहिले जुन प्रकारको संगीत गरिरहेका छन्, त्यसको जग त्यही नेवारी भजनहरूमा छ । खासमा भजनहरूलाई नै आधार बनाएर उनी अहिले उडिरहेका हुन् ।
एक समयमा भजन मन्दिरहरूमा मात्र सीमित हुन्थे, अहिले त्यसलाई उनले फराकिलो बनाएका हुन् । परम्परागत नेवारी संगीत र बाजाहरूमा डुबुल्की मारेर नै आफ्नो संगीतमा मौलिकता र परम्पराको फ्युजन ल्याएका हुन् ।
कुम: सागरले जुन समयमा गीतहरू ल्याए, त्यो समयमा अर्कै शैलीका गीतहरू चल्तीमा थिए । चलेका गायकरगायिकाहरू सुस्ताएका थिए । श्रोताहरू पनि एकै प्रकारका स्वर सुनेर वाक्कदिक्क भइसकेका थिए । त्यस्तोमा कुम: सागरले नयाँ स्वाद ल्याए । धेरैलाई ‘रिफ्रेस’ गर्ने गरी आए ।

सायद भविष्यमा यस्तो हुनसक्छ भनेर उनले सोचेका थिएनन् । सार्वजनिक छवि हेर्दा उनी त्यस्तरी फलको आशा गर्छन् जस्तो लाग्दैन । र त, मस्तले सुरुमा परम्परागत बाजाहरू बजाउन सिके ।
यसले उनलाई भजन गायनमा मात्र नभई वाद्यवादनमा पनि पोख्त बनायो । भलै त्यो प्रारम्भिक झुकाव थियो होला, तर त्यो उनको सांस्कृतिक विरासतसँगको गहिरो सम्बन्धको द्योतक थियो ।
यो समयमा कुम: सागर गायकको रूपमा मात्र छैनन् । एउटा सांस्कृतिक संवाहकको रूपमा पनि स्थापित छन् ।
०००
कुम: सागर विद्यालय पढ्दादेखि नै गीत लेखन र गायनमा प्रगाढ रुचि राख्थे । साथी भाइलाई सुनाउँथे । रोचक कुरा त के भने, मनपर्ने केटी पट्याउन पनि गीत लेख्ने र गाउने गर्थे । यसरी आफूभित्रको कलाकारलाई उनले सानैदेखि पोषण गरिरहेका थिए ।
आज उनी जहाँ छन्, त्यो सजिलै पाएका भने होइनन् । उनले सांगीतिक यात्राको सुरुवाती दिनमा ठूलै संघर्ष गर्नु परेको थियो । चाहे त्यो ‘गिग’ गर्नेमा होस् या एक रियालिटी शो जानेमा ।
एउटा कुरा निश्चित छ- रियालिटी शोले उनलाई ठूलो जनसंख्यामा चिनाएको थियो । जसले जे-जसरी हेरे, उनीहरू पनि गलत थिएनन् । कुम: स्वयं गलत हुने कुरै थिएन । त्यो त लामो समयदेखिको हाम्रो मानसिकताको नतिजा थियो ।
तर, त्यसले कुम: सागरलाई ‘मौलिक’ के भन्ने सायद थाहा दियो । र, संघर्षै संघर्षका बीच उनलाई आफ्नो मौलिक भजनलाई किन रेकर्ड नगर्ने भन्ने सोच आयो ।
अर्कोतर्फ, उनी आफ्ना बाजेसँग अलि बढी सामिप्ययतामा थिए । किनकि उनको वास्तविक नाम पनि बाजेसँग नै जोडिएको छ । अनि बाजेकै स्मृतिहरू सँगालेर सन् २०२० मा ‘बाजेको बजाङ’ रेकर्ड गरे ।
०००
सुरुआती दिनमा कुम: सागर भजनमा थिएनन्, मेटल र रकमा थिए । यो विधामा गितारको निकै महत्त्व हुन्छ । त्यसबेला गाउँले दाइहरूको लहलहैमा लाग्दालाग्दै उनले गितार बजाउन सिकेका थिए ।
‘चिहानकी परी’ उनले गितारमा बजाउन सिकेको पहिलो गीत थियो । अनि आफ्नो पहिलो गितार भने छिमेकी दाइसँग उधारोमा किनेका थिए । त्यतिबेला उनी ७/८ कक्षातिर पढ्दै थिए ।
पढ्न खासै नरुचाउने उनी त्यसपछि संगतले बिग्रिए । थप बिग्रेला भन्ने चिन्ताले बुबाले घरमा नै राखे । बाहिर जान दिएनन् । तर एउटा गुन गरे- इलेक्ट्रिकल गितार किनिदिएर । त्यसपछि औपचारिक रुपमा संगीतको कुम:को यात्रा अझ चम्किएको थियो । ब्यान्ड पनि खोलेका थिए । गिगहरू पनि गर्थे ।
त्यो कुरा उनका बुबालाई मन परिरहेको थिएन । बुबासँग केही नाकझोंक पनि परिरहेको थियो । तर उनको यात्रा रोकिएन । त्यसपछि रियालिटी शोतिर पाइला बढाए ।
०००
बाजेको बजाङ कुम: सागरले मोबाइलबाट रेकर्ड गरेका थिए । नजिकका साथीभाइहरूलाई सुनाउँदा सबैले हौसला दिए ।
त्यो बेलासम्म उनका लागि भजन सांस्कृतिक पक्षमात्र थियो । भजन पनि शक्तिशाली हुन्छ भन्ने उनलाई थाहै थिएन । एकफेर घरमा झगडा पर्यो । अनि रिसको झोकमा उनी भजन सुन्न गइदिए । त्यहाँ भजन सुनिरहँदासम्म शान्त भइसकेका थिए । यहीँ घटनाले कुम: सागरलाई भजनको शक्ति महसुस गरायो ।

त्यसपछि भजनमा बजाइने बाजालाई आफ्नो गीतमा प्रयोग गर्न बाजेहरूसँग सहमति मागे । त्यो समयमा उनले ‘चम्पा’ बनाइरहेका थिए । जसमा पहिलो पटक भजन गाएका छन् । नेपाली बाजा खिं राखेका छन् । नत्र त्यसअघि उनलाई ड्रमसेटको आवाज नै चाहिन्थ्यो । तर जसै आफ्नो गीतका लागि उनले खिं बजाए । त्यो ‘मोटो’ आवाजको शान्त शक्ति महसुस गरे । त्यसपछि निर्णय गरे( ड्रमसेट प्रयोग नगर्ने । नेवारी बाजा नै प्रयोग गर्ने । भजन नै गर्ने ।
‘चम्पा’लाई उनले २०२२ मा रिलिज गरेका थिए । यसमा पाश्चात्य र नेवारी बाजाहरू नै प्रयोग गरिएका छन् । जुन कुम:को ‘युनिक’ कुरो बनिदियो । भलै उनले त्यसअघि र्यागी र रक गीत गरेका थिए ।
०००
बाजेको बजाङमा, म साइकल, चमेली फूल, चमेली, ओ चम्पा निस्किसकेका थिए । त्यति चलेका थिएनन् । त्यसै समयमा उनको भेट रोजमान महर्जनसँग भयो । महर्जन पनि नेवारी समुदायमै बढेरहुर्केका वाद्यवादक थिए । कन्सर्टको बहानामा उनीहरूको भेट भएको थियो ।
यता कुम: ‘ए मै रे’ बनाउन लागि परेका थिए । यसमा खिं बजाउने जिम्मा महर्जनलाई दिए । किनकि महर्जनको खिं बजाउने कलाबाट कुम: प्रभावित भइसकेका थिए । गीत बन्यो । जोडी जम्यो । र, ब्यान्ड जन्म्यो- कुम: सागर एन्ड द ख्वपस्
०००
पहिलो, कुम: को व्यक्तित्व । हेर्दा उनी हँसिलो, मिजासिलो देखिन्छन् । शान्तसँग बोल्छन् । कुनै हतारमा बोल्दैनन् । हडबडाउँदैनन् । मुख्य कुरो सोझो देखिन्छन् ।
गीत चर्चित हुँदै गर्दा उनको त्यस्ता भिडिओहरू पनि भाइरल हुँदै गइरहेका थिए । अझ रियालिटी शोसँग जोडिएर गसिप पनि बढिरहेको थियो । गीतहरूको नयाँ स्वादलाई लिएर मान्छेहरूले प्रशंसा छरिरहेका पनि थिए । अर्थात्, दोस्रो कारण सामाजिक सञ्जाल ।
यसरी पृथक् बाटो रोजेर कुम: सागरले नयाँ उचाइ हासिल गरे । उनी कुनै समय नेपालमा कम लोकप्रिय मेटल गाउँथे । अहिले उनको पृथकताको सबले गुनगान गाउँछन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी