+
+
Shares

घिन्ताङघिसी नाचसँगै भक्तपुरमा सुरू भयो ८ दिने गाईजात्रा (तस्वीरहरू)

गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाँच प्रदर्शन गर्दै गाईजात्रा मनाइएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ साउन २५ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आज तौमढीस्थित भैरव मन्दिरबाट घिन्ताङघिसी नाच निकालेर सुरु भएको छ।
  • गाईजात्रा पर्वमा नेवार समुदायले दिवङ्गत व्यक्तिको सम्झनामा घर–घरबाट गाई निकालेर नौ जोर लुगा लगाउने, नौ थरी खानेकुरा खाने र नौ पटक टोल घुम्ने परम्परा पालना गर्छ।
  • जात्रा समापनमा तौमढीबाट परालबाट बनेको तमाचा र भैरव नाच निकालेर दरबार स्क्वायरमा तीन पटक परिक्रमा गरी जात्रा समाप्त गरिन्छ।

२५ साउन, भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व आजबाट सुरु भएको छ । आइतबार साँझ तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि सुरु भएको मानिन्छ ।

आइतबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । गाईजात्रा पर्वका अवसरमा भक्तपुर जिल्लाभरि नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङघिसी नाँच प्रदर्शन गर्दै गाईजात्रा मनाइएको छ ।

दिवङ्गत व्यक्तिको सम्झनामा आज नेवार समुदायको घर–घरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको संस्कृतिविद् बिन्दा जोशीले जानकारी दिइन् । आज गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खानेकुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ ।

यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको उनले जानकारी दिए ।

जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माक प्याखं अर्थात् बाँदर नाच समेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाच लगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ ।

आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ। विभिन्न घरबाट निकालिएको जात्रा दरबारस्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रेय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् ।

जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाच समेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबैभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि आजको जात्रा समापन हुने परम्परा छ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?