
News Summary
Generated by OK AI. Editorially reviewed.- अमृत गुरुङले आफ्नो गोठमा बसेर गाउँलाई पुनः रंगाउन र स्थानीयपनलाई प्राथमिकता दिन थालेका छन्।
- अमृतले संगीतमा लागेर कालजयी गीतहरू दिएका छन् र आधुनीकरणभन्दा गाउँ फर्कने आन्दोलन थालेका छन्।
१० हजार हाराहारी दर्शक । १२ वर्षअघिको त्यो मानक । र, बनेको नवीन इतिहास । गत २४ साउनमा बेलायतको वेम्बली एरिनामा यी सबै भइरहेको थियो । र यसको जिम्मेवार थियो-नेपथ्य ।
नब्बेको दशकमा जन्मेको यो लोक रक ब्यान्डले देश/विदेशमा दर्शक झुमाउँदै आइरहेको छ । यसपटक ब्यान्डले आफ्नो ऊर्जालाई झन् तेज पारेको छ ।
गत महिना युरोप टुरमा निस्कँदै गर्दा ब्यान्डका फ्रन्टम्यान अमृत गुरुङलाई आफ्नो गोठको बेग्लै चिन्ता थियो । खेतीकिसानीमा रमाइरहेका उनी यो वर्ष धान रोपिसकेर युरोप निस्किएका हुन् । तर धान रोप्ने मौसममै पानी नपर्दा उनलाई कम्ता रिस उठेको थिएन । त्यो आक्रोश उनले सार्वजनिक रूपमै देखाइदिए ।
‘धान फल्ने खेतमा घर फल्यो, के असार के झरी ?’
सायद उनले पोखरानजिक कालाबाङ गाउँमा रहेको मुलपानी गोठमा बस्दा पर्यावरण मासिँदै गइरहेको तितोसत्य देखे । र, वेदना ओकले । त्यो उनको किसान मन थियो ।
अबको केहीसमयसम्म उनको गोठले उनलाई सम्झना मात्र गर्नेछ । किनकि, नेपथ्य २०२५ को युरोप टूरमा निस्केको छ । जुन अलि लामै हुन्छ ।
गुरुङको गोठमा भर्खरै ब्याएको भैँसी छ । अब चाँडै थप दुई वटा भैँसी ब्याउनेवाला छन् । उमेरले ५८ मा हिँडिरहेका उनी उक्त टुर सकेर नेपाल फर्केपछि सायद काठमाडौं धेरै बस्दैनन् । गोठको चुम्बकीय शक्तिले तानिएर तुरुन्तै कालाबाङ पुग्नेछन् । सुत्केरी भैँसी स्याहार्नु पनि छ । अनि कुकुर, बिराला र कुखुराहरू उनको प्रतिक्षामा छन् ।
000
आज अमृत गुरुङ सिङ्गो आन्दोलन बनेको अवस्था छ ।
कारण, जोजो गाउँबाट शहर, शहरबाट विदेश गइरहेका छन्- तर्क जे सुकै होस्, उनीहरूका लागि अमृत एउटा त्यस्तो पात्र बनिरहेका छन्, जो हालको प्रसिद्ध नारा ‘ब्रेन गेन’को दूत नै बनेका छन् ।
जोजो आधुनिकतामा लिप्त भएर माटोको बास्नादेखि परपर सरिरहेका छन्, थुम्काथुम्की भुलेर गगनचुम्बी भवनहरूमा मन रमाइरहेका छन्, आयातित खाना खाएर राष्ट्रियताको नारा लगाइरहेका छन्, तिनीहरूका लागि उनी प्रेरणा र झापड हुन् ।
अमृतका लागि गाउँ प्यारो छ । गोठ नै सर्वस्व छ । जहाँ उनी बस्न थालेको १५ वर्ष बढी भइसकेको छ । बाल्यकालमा उनी त्यहीँ हुर्केका थिए, जसले गर्दा उनी त्यो वातावरणमा अभ्यस्त छन्।
करियरलाई तिखार्ने बहानामा उनी लामो समय गाउँ गएनन् । जसै गाउँ गए, सबैले छाडेको अवस्थामा पाए । सायद उनले गाउँको रङ उडेको महसुस गरे ।
एक समय उनी चित्रकार बन्न चाहन्थे । फोटोग्राफीको पनि उनको रुचि छ । सम्भवत: कला मनलाई रङ उडेको गाउँ मन परेन । अनि आफ्नै गाउँमा बस्ने अठोट लिए, गाउँलाई पुन: रंग्याउन ।
सुरुका दिनमा धेरैले उनको कदममाथि प्रश्न गरे । भलै उनी टसमस भएनन् । त्यसको प्रभाव आज राष्ट्रिय रूपमै देखा परेको छ । शहरीकरणप्रतिको मोहलाई एउटा गतिलो झापड बनेको छ ।
आजकल उनको ढुकुटीमा अन्न त जान्छ । तर उनको बाहेक अन्यत्र खेत बाँडो छ । त्यसले पनि उनलाई पिरोल्दो हो । उनले थालेको मौन आन्दोलनले प्रलयको रूप नलिएसम्म हुनेवाला केही छैन । त्यो उनले देख्न पाउँलान्/नपाउँलन् । अब मृत्युपर्यन्त गाउँको माटोसँगै उनी रमाउने निश्चित छ ।
000
गिरीश गिरी लिखित ‘नेपथ्य’मा चर्चा गरिएको छ, उनीसँग गोठबाहेक सुकोमल ठाउँमा बस्ने अवसर छ । अहिले मात्र होइन, त्यो अवसर भर्खरै करियर सुरु हुँदाको बखत पनि थियो ।
चाहेको भए विदेश गएको बेला उतै बस्न सक्थे । तर उनमा भएको स्वाभिमानले रोक्यो । र, गाउँमा बसिरहँदा जस-जसले उनलाई गाली गरिरहेका थिए, त्यसबेला पनि शहर फर्कन सायद स्वाभिमानले नै रोक्यो ।
यहाँसम्म आइपुग्दा उनी आफू कहाँ खुसी हुन्छु, थाहा पाइसकेका छन् । जुन त्यो गोठ नै हो, जहाँ उनी निर्बाध चैनमा हुन सक्छन् । मनमौजी हुन सक्छन् । त्यहाँका कुकुर, बिराला र कुखुरासँग खेल्दै गीत गाउँदै रमाउन सक्छन् ।
गोठको वातावरणमा उनी यसरी अभ्यस्त भइसकेका छन् कि, दिनहरू बितेको पत्तो पाउँदैनन् । चराहरूको चिरबिर, खोलाहरूको कलकल सुन्दै बस्दा तिनले उनलाई मोहनी लगाएको छ ।
त्यो अपार खुसी शहरको कोलाहलले दिनै सक्दैन । सुख किनेर पाइने तर खुसी आफू हुनुपर्ने बुझाइ उनको छ ।
000
अमृतको सार्वजनिक छविले आधुनीकरणमा प्रेम भएको देखाउँदैन । सुन्दर, शान्त नेपाल अङ्कित क्याप, गोलाकार चस्मा, सर्ट, जिन्स पाइन्टमा सजिएका उनी निस्फिक्री हिँड्छन् ।
हिँड्छन्, अर्थात् उनी घुमन्ते पनि हुन् ।
उनी गीतहरू बनाउन लोकभाका टिप्ने चाहमा हिँड्छन् । नेपथ्य गुञ्जने बहानामा हिँड्छन्। स्मृतिमा बसेका अजरअमर पात्रहरू भेट्न हिँड्छन्।
नेपथ्यका चर्चित गीतहरूको रचना गर्भ माथि उल्लिखित पुस्तकमा चर्चा गरिएको छ । त्यहाा गीत सङ्कलन गर्न हप्तौं लगाएर यात्रा गरेको सन्दर्भ पनि उल्लेख छ ।
देशका अधिकांश भाग पुगिसकेका अमृतलाई घुम्न आधुनिक साधन चाहिँदैन । दुई खुट्टा र साथीहरू भए पुग्छ । यसको कारण आफैंमा सुन्दर छ-सम्झना ।
पढेका किताब, हेरेका सिनेमा बिर्से पनि गरेका यात्रा सदा सम्झना रहन्छ । यात्राले उनलाई आनन्द दिन्छ । मनोवाद गर्ने समय दिन्छ । यात्रा उनका लागि ध्यानसरह हुन्छ । र, यही पलमा उनी खुसीको चरम बिन्दुमा पुग्छन् ।
भनौं घुम्ने कुराका उनी दूत नै हुन् ।
000
दारीजुँगा र कपाल सेताम्मे भइसके पनि तर १० हजार दर्शकलाई तताउने, झुमाउने, उफार्ने ताकत उनमा उस्तै छ ।
युवाकालमा प्रेममा हुँदा लेखेको ‘ए माया तिमीलाई पर्खिबसेछु’ होस वा ब्यान्डको पहिलो गीत ‘आँगनै भरि’ गाउँदादेखि ‘कर्नालीका छाइला’ सम्म आइपुग्दा उनले असीम माया पाएका छन् ।
मिम पेजहरूले उनीबारे एउटा पोस्ट हाल्ने गरेका छन्, अ म्यान विथ जिरो हेटर्स । तर थोरै नजिकबाट उनको जीवनलाई हेर्ने हो भने संगीतमा लाग्दा उनको आफ्नै पितासँगको सम्बन्धमा दरार आएको देखिन्छ ।
उनले गाएको रेकर्डेड गीत सुनेर बुबा खुबै रिसाएका थिए । भलै उनका बुबा आफैं गीत गाउँथे । तर छोरा गायन क्षेत्रमा लागेकोमा साफ हकारे । ‘पोखराको बाटुले चौरमा नपढेका गाइनेहरू छन्, मेरो घरमा पढेका गाइनेहरू छन्,’ उनका बुबाले भन्ने गर्थे।
आफूले गरेको हरेक कुरालाई बुबाले मन नपराइदिँदा अमृत बैचेन पनि थिए । तर उनले बुबाले भनेका कुरा वास्ता गरेनन् । विद्रोही भएर निस्किए । आफ्नो मनको कुरो सुने ।
अहिले संगीतले उनलाई सबै दिएको छ । तर जतिबेला उनी यसमा लागे यस्तो अपेक्षा बिना नै लागेका थिए । आफू भित्र भएको कुराहरूलाई गीतमा ल्याउन नसके त्यो गीतले कसैलाई नछुने उनको विश्वास छ । र त उनी सुनाउँछन्, ‘सुखमा सुखै । दु:खमा दु:खै’
अमृतले अटेर गरे । र, संगीतमै लागे । फलस्वरूप, कालजयी गीतहरू दिए । हरेक पुस्तालाई मन छुने गीतहरू दिए ।
‘जुन गीत भावनामा बनेको हुन्छ, जसलाई कलाकारले इमादारिताका साथ गाइदिएको हुन्छ, स्वच्छ मनले बनाइदिएको छ, त्यसरी बनाएका गीतहरू नै मान्छेहरूले मन पराउने रहेछन्,’ उनी भन्छन् ।
000
यसरी अघोषित रूपमै भए पनि अमृतले गाउँ फर्कने, आधुनीकरणलाई भन्दा स्थानीयपनलाई प्राथमिकता दिने, देशदिवार घुम्ने र आफ्नै आवाज सुन्ने आन्दोलन थालेका छन् । त्यसमा ‘हो मा हो’ मिलाएर लाग्ने जिम्मा तपाईं हाम्रो !
प्रतिक्रिया 4