माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले केही दिनअघि त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरे । रजिस्ट्रार कार्यालयको ढोकाको सिसा र गमला फुटाए । विश्वविद्यालय परिसरभित्र झडपको स्थिति बन्यो । आफ्ना माग पूरा गराउने नाममा नाममा हुने यस्ता गतिविधि अखिल क्रान्तिकारीको शैक्षिक आन्दोलनकै हिस्सा हो त ? भन्ने प्रश्न खडा भएको छ ।
शैक्षिक आन्दोलनको नाममा विश्वविद्यालय तोडफोडमा उत्रिएको अखिल क्रान्तिकारीको आफ्नै संगठनभित्र भने असन्तुष्टि बढ्दो छ । एकातिर पदाधिकारी बैठक बोलाइएको छैन भने अर्कातिर नयाँ नेतृत्वको शपथपछि एकपटक बसेको केन्द्रीय कमिटीको बैठक फेरि कहिले बस्छ टुंगो छैन । आफैँ अल्पमतमा परेका भनिएका अध्यक्ष विजयप्रकाश सापकोटालाई बैठक बोलाउन डराइरहेको आरोप लागेको छ । संगठनलाई व्यवस्थित गरेर चलाउन नसकेको भन्दै अलोचना गर्नेको तप्का संगठनभित्र बढ्दै गएको बताइन्छ ।
यिनै विषयमा केन्द्रित रहेर अखिल क्रान्तिकारीका अध्यक्ष सापकोटासँग अनलाइनखबरकर्मी कौशल काफ्लेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
अस्ति (सोमबार) तपाईंहरूसहित संयुक्त विद्यार्थी संगठनले शिक्षा समिति सभापतिलाई ज्ञापनपत्र बुझाउनुभयो । के माग्नुभयो ?
हामीले शिक्षा समितिलाई पहिलेदेखि नै विभिन्न माग र ध्यानाकर्षणपत्र बुझाउँदै आएका छौं । अस्ति पनि संयुक्त विद्यार्थी संगठनको तर्फबाट ज्ञापनपत्र बुझायौं । हाम्रो मुख्य माग शिक्षा ऐन चाँडो ल्याउनुपर्छ र त्यो विद्यार्थीमैत्री हुनुपर्छ भन्ने हो । शिक्षा ऐनले विद्यार्थी र अभिभावकको हितलाई प्राथमिकता दिनुपर्छ । संविधानमा लेखिएको शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्न हामीले जोड दिएका छौं ।
शिक्षा ऐनले निःशुल्क र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नुपर्छ । विशेषगरी, गरिब र मध्यमवर्गीय परिवारका विद्यार्थीले उच्च शिक्षा सहज रूपमा पाउनुपर्छ । विश्वविद्यालय र क्याम्पसहरूमा शुल्क मनपरी नहोस्, पाठ्यक्रम समयसापेक्ष होस् र शिक्षकहरूलाई पनि नियमित तालिम दिइयोस् । यी कुराहरूलाई हामीले जोडदार रूपमा उठाएका छौं ।
त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्नुभयो । विश्वविद्यालय परिसरभित्र झडपसमेत भयो । यस्तो कार्यलाई विद्यार्थी/शैक्षिक आन्दोलनको हिस्सा मान्न सकिएला ?
हामीले त्रिभुवन विश्वविद्यालयमा २६ दिनदेखि १८ वटा माग राखेर आन्दोलन गरिरहेका छौं । हाम्रो माग हो- विश्वविद्यालयको शिक्षा गुणस्तरीय, सस्तो र सर्वसुलभ होस् । जनताका छोराछोरीले सहज रूपमा उच्च शिक्षा पाउन् । तर सरकारले मेरिटोक्रेसी लागु गरेन, पुरानो मेरिटोक्रेसी भत्कायो । प्राइभेट प्रोजेक्टहरूलाई विश्वविद्यालयको विभागमा गाभियो, जसले शुल्क महँगो बनायो ।
हामीले बारम्बार भन्यौं- आवश्यक संरचना, बजेट र दरबन्दी बिना यस्तो नगर्नुस् । तर विश्वविद्यालयले सुनेन । यसकै लागि गरिएको यो आन्दोलन शान्तिपूर्ण थियो । तर विश्वविद्यालय र प्रहरीको व्यवहारले स्थिति तनावपूर्ण बन्यो ।
‘प्राइभेट प्रोजेक्ट’लाई विश्वविद्यालयमा गाभ्दा के-के समस्या आए ?
अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, प्राइभेट सेक्टरमा महँगो शुल्कमा सञ्चालित थिए । विश्वविद्यालयमा गाभिएपछि पनि शुल्क १ लाख ८० हजारभन्दा माथि राखियो, जबकि अन्य विभागमा ४० देखि ८० हजारमा पढाइ हुन्छ । यो अन्याय हो । यसको शुल्क अन्य विभागजस्तै बनाउनुपर्छ । महँगो शुल्कले अभिभावकको ढाड सेक्छ र दक्ष जनशक्ति विदेश पलायन हुन्छ ।
अनि त्रिभुवन विश्वविद्यालयमा भएको झडप र तोडफोड ? के यस्ता आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्न नसकिने रहेछन् ? यो शैक्षिक आन्दोलन गर्ने तपाईंहरूको शैली हो ?
हामीले १९ दिनसम्म शान्तिपूर्ण रूपमा धर्ना र रिले अनसन गर्यौं । हाम्रा माग विश्वविद्यालयका पदाधिकारीसँग राख्यौं, तर उहाँहरूले वार्ता गर्नुभएन । जब हामी रजिस्ट्रार र भिसी कार्यालय पुग्यौं, प्रहरीले लाठीचार्ज गर्यो । भागदौडमा केही गमला र ढोका फुटे ।
हामी गुण्डागर्दीमा विश्वास गर्दैनौं । आन्दोलन शान्तिपूर्ण थियो र माग सम्बोधन नहुँदा तनाव भयो । बारम्बार छलफलका लागि गरेको आह्वान विश्वविद्यालयले नसुन्दा यो दु:खद घटना हुनपुग्यो ।
तर, विश्वविद्यालयका पदाधिकारी त तपाईंहरूको आन्दोलनले उपकुलपति कार्यालयमै छिर्न नसक्ने अवस्था बन्यो । त्रिविले सुरक्षा माग गर्नुपर्ने अवस्था आयो भन्छन् नि ?
यो गलत हो । हामीले भीसी कार्यालयमा ताला लगाएका थिएनौं, केवल धर्ना बसेका थियौं । मेरिटोक्रेसी लागु नभएको विरोधमा विद्यार्थीले भिसीलाई नैतिक प्रश्न उठाएका थिए । व्यक्तिगत रूपमा पनि मैले भीसीलाई कार्यालय आउन र वार्ता गर्न अनुरोध गरेको थिएँ । कार्यालय प्रवेश नदिएको भन्ने कुरा सत्य होइन ।
यता, तपाईंको संगठनकै बैठक पनि बस्न सकेको छैन । बैठक बोलाउन डराउनुभएको हो र ?
हाम्रो संगठनको बैठक नियमित रूपमा बसिरहेको छ । शपथपछि केन्द्रीय समितिको भौतिक बैठक बस्यो, भर्चुअल बैठक पनि भएको छ । ६-६ महिनामा बैठक बस्ने नियम छ, तर आवश्यकताअनुसार पहिले पनि बस्न सक्छ । दुई महिनाअघि पेरिस डाँडामा बैठक बस्यो, बागबजारमा चार दिनसम्म बस्यो ।
संगठनभित्र तपाईं आफैँ अल्पमतमा हुनुहुन्छ भन्छन् । जनार्दन शर्मा पक्षका २४ पदाधिकारीले बैठक बोलाउन माग गरेको केही हप्तामात्र बितेको छ । तपाईंले कुन बैठकको कुरा गर्नुभएको ?
२४ जनाले ज्ञापनपत्र बुझाएको भन्दा पनि पर्सिपल्ट भर्चुअल बैठक बस्यो । केन्द्रिय कमिटीको बैठक फेरी कहिले बोलाइन्छ, पदाधिकारी कहिले बस्छ भन्ने प्रश्नमा- यो आवश्यकताअनुसार जहिले पनि बस्न सक्छ । यसअघिका बैठकले निर्देशित गरेका कार्ययोजना पूरा गरेपछि बस्छ । म निर्वाचित अध्यक्ष हुँ, मेरो ५१ प्रतिशत अधिकार छ । अल्पमत-बहुमतको कुरा आउँदैन ।
तपाईं गुटको घेराभन्दा माथि उठ्न सक्नुभएन भन्ने छ नि ! न पार्टी नेतृत्व खुसी छ, न सँगैका सहकर्मी ?
मलाई गुटको आवश्यकता छैन । म निर्वाचित अध्यक्ष हुँ र हाम्रो संगठन एकढिक्का छ । यही भएर स्ववियु चुनावमा हामीले ९१ वटा क्याम्पस जित्यौं । देशभर शैक्षिक बहसहरू चलिरहेका छन् । राष्ट्रिय सभागृहमा हामीले शैक्षिक सुधारबारे छलफल गर्यौं । विभिन्न क्याम्पसमा युवा र विद्यार्थीको भूमिकाबारे कार्यक्रमहरू भइरहेका छन् । गुटबन्दीको आरोप गलत हो । हामी एकजुट भएर काम गरिरहेका छौं ।
अर्को प्रसंगमा जाऔं । अहिले नयाँ पुस्ता (जेन जी, अल्फा) को सोच फरक छ । सिर्जनशील देखिन खोज्छ । विश्व बुझेको छ । तर तपाईंहरूको विद्यार्थी राजनीति पुरानै शैलीको भयो । यो पुस्ताका भावनालाई छुन सक्नुभएन भन्ने आरोप छ नि ?
यो प्रश्न जायज छ । हामीले विद्यार्थी आन्दोलनलाई डिजिटल र टेक्नोलोजीको युगअनुसार रूपान्तरण गर्न छलफल गरिरहेका छौं । नयाँ पुस्ताको मागअनुसार शैक्षिक कार्यक्रमहरू बनाइरहेका छौं ।
विश्वविद्यालयमा जलवायु परिवर्तन, प्रविधि र रोजगारमुलक पाठ्यक्रम थप्न माग गरेका छौं । शिक्षकहरूलाई तालिम र विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्छ । फोटोग्राफी कम्पिटिसन, फरेस्ट्री र एग्रिकल्चर प्रदर्शनी जस्ता हाम्रा कार्यक्रम नयाँ पुस्तालक्षित छन् । गर्न धेरै बाँकी होला, तर केही नगरेको भन्न मिल्दैन ।
पुरानै शैलीको विद्यार्थी राजनीतिको औचित्य सकियो भन्नेहरू पनि छन् । औचित्य पुष्टि कसरी गर्नुहुन्छ ?
हिजोका आन्दोलनले संविधानमा शिक्षाको मौलिक हक लेखायो, तर त्यो कार्यान्वयन भएको छैन । त्यसका लागि दबाब दिन आज पनि आन्दोलन जरुरी छ । आजको आन्दोलनले प्रश्न मात्र होइन, समाधान पनि दिनुपर्छ ।
हामीले विश्वविद्यालय सुधार, शुल्क घटाउने र समयसापेक्ष पाठ्यक्रमको माग राखेका छौं । जलवायु परिवर्तन, हिमताल फुट्ने समस्यामा विश्वविद्यालयले अनुसन्धान र पढाइ थाल्नुपर्छ । हाम्रो आन्दोलनले यस्ता विषयमा समाधान खोज्छ ।
छिमेकी मुलुक भारतमै जेएनयूजस्ता विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले विभिन्न मुद्दामा डिस्कोर्स चलाउँछन् । राम्रा कार्यक्रम गरिरहेको देख्न पाउँछौँ । तर हाम्रा विश्वविद्यालयमा त्यस्तो देखिँदैन । किन ?
हामीले पनि डिस्कोर्स चलाएका छौं । गणतन्त्र दिवस, शहीद सप्ताह र विद्यार्थी एकता दिवसमा समाजवादी शिक्षा, पाठ्यक्रम सुधार र रोजगारमुलक शिक्षाबारे देशव्यापी छलफल गरेका छौं ।
गर्नका लागि गर्नुहुन्छ कि, डकुमेन्टेसन पनि गरिएका छन् ?
यी छलफलहरू रेकर्डेड छन् । हामीले स्थानीय पालिकाहरूको आवश्यकताअनुसार सुझावपत्र पनि यही आधारमा बुझाएका छौं । कुन पालिकामा कस्तो शिक्षा चाहिन्छ, त्यसको निचोड निकालेर विश्वविद्यालय र सरकारलाई सुझाव दिएका छौं ।
स्ववियुमा तपाईंहरूले ९१ क्याम्पस जित्नुभयो । त्यहाँ के-के नयाँ काम भइरहेका छन् ?
९१ क्याम्पस जित्नु हाम्रो ठूलो उपलब्धि हो । बानेश्वरलगायत क्याम्पसमा हामीले सरसफाइ, फोटोग्राफी कम्पिटिसन, फरेस्ट्री र एग्रिकल्चर प्रदर्शनी र शैक्षिक बहसहरू सञ्चालन गरेका छौं । यी कार्यक्रमले विद्यार्थीलाई सिप र रोजगारसँग जोड्छ । हामीले पढ्दै-कमाउँदैको अवधारणालाई जोड दिएका छौं । यी कामहरूको प्रभाव धेरै विद्यार्थीमा परिरहेको छ ।
विद्यार्थी आन्दोलनलाई सधैँ सत्ताको प्रतिपक्षी बन्नुपर्ने हो भनिन्छ । तपाईंहरू त सत्ताको भरिया जस्तो देखिनुभयो नि ?
यो आरोप गलत हो । हामी सत्ता वा विपक्ष जहाँ भए पनि जनजीविका, शिक्षा र राष्ट्रियताका सवालमा सधैं सडकमा छौं । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हामीले मेरिटोक्रेसी, आईओई र आईओएमका विषयमा आन्दोलन गर्यौं । अनसन गरेका छौं । यदि सरकारले जनजीविका र विद्यार्थीका सवालमा कमजोरी गर्छ भने सधैं दबाब दिन्छौं । सत्ताको भक्तिगान गाउँदैनौं ।
अन्त्यमा, अबको विद्यार्थी आन्दोलन कस्तो हुनुपर्छ ? तपाईंका योजना के-के छन् ?
अबको विद्यार्थी आन्दोलन नयाँ पुस्ताको मागअनुसार हुनुपर्छ । शिक्षालाई आमुल परिवर्तन गरेर उत्पादनमुलक बनाउनुपर्छ । युवाले आफ्नै देशमा भविष्य देख्ने वातावरण बनाउनुपर्छ ।
हामी अब शैक्षिक महाबहस सुरू गर्दैछौं, जसले विश्वविद्यालयदेखि ईसीडीसम्म पुनर्संरचना र समयसापेक्ष पाठ्यक्रमको माग गर्छ । विद्यार्थीले पढाइपछि देशमै रोजगार पाओस्, सिप लागु गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो । हामीले जलवायु परिवर्तन, प्रविधि, र रोजगारमुलक शिक्षामा जोड दिएका छौं । यो आन्दोलनले आत्मविश्वास जगाउनुपर्छ, ताकि दक्ष जनशक्ति विदेश नजाओस् ।
तस्वीर/भिडियो : कमल प्रसाई/अनलाइनखबर
प्रतिक्रिया 4