+
+
Shares

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:०१

९ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले शिष्टाचार भेट गरेकी छन् । नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति पौडेललाई भेटेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए । त्यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको जानकारी गराएका थिए ।

सो अवसरमा भियतनामका उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बिच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताएकी थिइन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएकी थिइन् ।

राष्ट्रपति पौडेल नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी गराएका थिए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुशी पनि व्यक्त गरेका थिए ।

उनले विशेषत: बौद्ध धर्म नेपाल र भियतनाम दुवै देशका जनताबीचको गहिरो सम्बन्ध सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नुपर्ने बताएका थिए ।

भियतनामकी उपराष्ट्रपति सुआन आजै स्वदेश फर्किंदैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?