+
+
Shares

स्मार्ट च्वाइस टेक्नोलोजीले सुरु गर्‍यो ३डीएस एसीएस सेवा

एसीएस विश्वव्यापी ३डी सेक्योर प्रोटोकलको महत्त्वपूर्ण अंग हो, जसले कार्डवाहकलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रिया सही बनाउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) ले ३डीएस एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ । यो सेवाले अनलाइन कारोबार सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

एसीएस विश्वव्यापी ३डी सेक्योर प्रोटोकलको महत्त्वपूर्ण अंग हो, जसले कार्डवाहकलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रिया सही बनाउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्दछ । यसको मुख्य उद्देश्य डिजिटल भुक्तानी अझ सुरक्षित र भरपर्दो बनाउनु हो ।

ग्लोबल आईएमई बैंक नेपालमा एससीटीको ३डीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै एनएमबी बैंकलाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ ।

यी सहकार्य मार्फत ग्लोबल आईएमई बैंक र एनएमबी बैंकका कार्डवाहकले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सही प्रमाणीकरण सुविधा पाउनेछन् ।

एससीटीले सुरु गरेको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रूपमा स्थापित भएको छ । यसले अनलाइन कारोबारमा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकेटिङ र अन्य भुक्तानी अनुभव अझ सुरक्षित र विश्वासिलो बनाउने कम्पनीको विश्वास छ ।

यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै गतिशील अर्थतन्त्रको यात्रा पनि टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?