
२७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने छलफल शुक्रबार बिहान पुन: बस्ने गरी स्थगित भएको छ ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफल निष्कर्षमा नपुग्दै टुंगिएको हो । स्रोतका अनुसार अबेर रातिदेखि भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म आइपुग्दा समेत निष्कर्ष निस्किएन ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमति भएपनि पनि संसद बिघटनका विषयमा टुंगो नलागेको स्रोतले बतायो ।
‘सुशीला कार्कीको नाममा विवाद छैन, संसद बिघटनको सन्दर्भमा कुरा मिलेको छैन,’ स्रोतले भन्यो ।
संविधानविद्हरुको उपस्थितिमा राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल भएको थियो ।
जेनजी युवाहरूको समूहले संसद बिघटनलाई पनि मुद्दा बनाएपछि दबाब बढेको हो ।
विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए ।
राष्ट्रपति पौडेलले बिहीबार नै नेपाली कांग्रेसका नेताहरूसँग पनि परामर्श गरेका थिए । साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शीतल निवासमै भेटेका थिए ।
कांग्रेस नेताहरूले अहिलेको परिस्थितिमा पूर्वप्रधान्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सकिने राय दिएको स्रोतले बतायो ।
स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरू सकरात्मक रहेको बताएका छन् ।
दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेको थियो । त्यसपछि उनीहरूले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए ।
कार्कीले समेत जिम्मेवारी लिन आफू सकरात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ ।
राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिबारे बिहीबार बेलुकी संविधानविद्हरुसँग समेत छलफल गरेका थिए । त्यसक्रममा उनीहरुले संविधानको फ्रेमभित्र रहेर कसरी अघि बढ्न सकिन्छ भन्ने सुझावहरु दिएका थिए ।
भ्रष्टाचारविरुद्ध जेनजीले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला केपी ओली नेतृत्वको सरकारले फेसबुकसहित २६ सामाजिक सञ्जालमा बन्द गराएको थियो । त्यसपछि ‘नेपोनेविज’ अभियान चलाइरहेका जेनजीले स्वतस्फूर्त सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा १९ जना मारिएका थिए, २०० भन्दा बढी घाइते भए । अहिले मृत्यु हुनेको संख्या ३४ पुगिसकेको छ । मृतकमध्ये नेपाली प्रहरीका समेत छन् ।
मंगलबार प्रशासनको कर्फ्यूका बीच प्रदर्शनकारी सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए । संसद् भवनमा आगजनी भएपछि जेनजी युवा नारावाजीसहित अन्यत्र हिँडेका थिए ।
पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा समेत आगजनी भएको थियो । यसपछि जेनजीसँग वार्ता गर्न नेपाली सेनाले समेत अग्रसरता लिएको थियो । सेनाको सहजिकरणमा जेनजीको मागहरुबारे एकमत बनाउने प्रयास भएको थियो ।
त्यसपछि राजनीतिक र कानुनी छलफलका लागि राष्ट्रपछि पौडेलले पहल लिएका थिए ।
प्रतिक्रिया 4