
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनपछि लुटपाट र चोरीका घटना रोक्ने उद्देश्यले ठमेलबासीले रात्रि गस्ती गर्न थालेका छन् । ठमेल पर्यटन विकास परिषदको नेतृत्वमा प्रहरी र स्थानीयबासीले रात्रि गस्ती थालेका हुन् ।
यसक्रममा शनिबार एकै दिनमा शंकास्पद १५ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष सहदेव धमला (विमल)ले जानकारी दिए ।
‘ठमेल पर्यटन विकास परिषदको संयोजनमा प्रहरी वृत्त लैनचौर, दरवारमार्ग, रात्रिकालीन व्यावसायीहरु र स्थानीय सहितको संयुक्त अनुगमन र गस्ती सुरू गरिएको हो । ठमेल सुरक्षित छ र यहाँ यस संक्रमणकालीन अवस्थामा केही पनि अवान्छित गतिविधि नहोस् र व्यवसायी तथा पर्यटकको चहलपहल सुचारू रहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो,’ धमलाले भने ।
उनका अनुसार यो गस्ती एक महिनासम्म चल्ने छ ।
भ्रष्टाचार र सामाजिक सन्जाल प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका छन् । यो घटनाले नेपालबारे विदेशी पर्यटकबीच गलत म्यासेज गएकोमा ठेमल क्षेत्रका व्यापारी तथा व्यवसायीहरु चिन्तित छन् ।
‘अन्तरिम सरकार गठनसँगै अब नेपालमा शान्तिको वातावरण सुरु भइसकेको छ, ठमेल पनि सुरक्षित छ भन्ने सन्देश दिन चाहान्छौं’ विकास परिषदका उपाध्यक्ष धमलाले भने ।
प्रतिक्रिया 4