+
+
Shares

प्रतिनिधिसभा निर्वाचन तयारीबारे आयोगले गरायो राष्ट्रपतिलाई जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते २०:३४

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको छ ।

आयोगका आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार भेटेर निर्वाचनको तयारीबारे जानकारी गराएका हुन् ।

आयोगका अनुसार आयुक्त भण्डारीले राष्ट्रपति पौडेललाई फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउनका लागि गर्नुपर्ने भावी कार्यक्रमलगायतका बारेमा जानकारी गराएका हुन् ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की लगायत विभागीय मन्त्रीहरूसँग छलफल गरिएको जानकारी आयुक्त भण्डारीले राष्ट्रपति पौडेललाई गराएको आयोगले जारी गरेको विज्ञप्तिमा छ ।

मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता सरकारको तर्फबाट आएको जानकारी आयुक्त भण्डारीले राष्ट्रपतिलाई गराएका थिए ।

निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्‍त भएको, निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनिक विषयहरूलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको र निकट भविष्यमा राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय भएकोबारे पनि भण्डारीले राष्ट्रपतिलाई गराएका छन् ।

यसैगरी संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सुचारु रहेको जानकारी समेत राष्ट्रपतिलाई भण्डारीले गराएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटमा राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता हुने वातावरण तयार गर्न, राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?