
२८ असोज, काठमाडौं । कार्यालय अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा जेनजीको एउटा समूह दैनिकजसो विभिन्न सरकारी कार्यालयहरूमा पुग्ने गरेको छ । यसरी ज्ञापनपत्र र अनुगमनको नाममा सरकारी कार्यालयमा केही युट्युबरहरू बोकेर जानेमध्येका एक व्यक्ति हुन् अर्जुनबहादुर शाही ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
कतिसम्म भने, घरबाटै थुत्नेदेखि राजीनामा दिनुस् भन्दै निर्देशनसम्म दिने गरेको सार्वजनिक भिडिओहरूमा देखिन्छ, सुनिन्छ ।
केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।
शाहीले बिना तथ्यांक संस्था किन निरन्तर घाटामा गइरहेको छ ? भन्दै प्रश्न गर्छन् । जवाफमा महानिर्देशक अधिकारीले क्यान कहाँ घाटामा गएको छ भन्दै प्रतिप्रश्न गरेको देखिन्छ ।
त्यसपछि प्राइभेटहरूलाई मात्रै फोकस गर्ने नेपाल वायु सेवा निगम किन घाटामा, किन सरकारी जहाज छैनन् जस्ता प्रश्न गर्छन् । जहाज किन्ने आफ्नो क्षेत्राधिकार नै नभएको अधिकारीले सम्झाउँछन् ।
संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर बस्ने भन्दै शाही धम्क्याउने शैलीमा प्रस्तुत हुन्छन् । प्रमाण ल्याओस् म सजाय भोग्न तयार हु भन्दै अधिकारीले प्रतिवाद गरेको भिडिओमा सुनिन्छ ।
‘ठाउँ खाली गर्नुस्, काम गर्न अर्को आउँछ,’ शाहीले महानिर्देशक अधिकारीलाई धम्क्याउँछन् ।
सरकारले हटाओस् न त भन्ने किसिमको जवाफ अधिकारीले दिएको सुनिन्छ । तर जेनजी अगुवा भनिएका शाही स्वेच्छिक राजीनामा दिनुस्, काम गर्न नसक्ने मान्छे किन बस्ने भन्दै धम्क्याउने शैलीमा प्रस्ततु हुन्छन् ।
कर्मचारीले भ्रष्टाचार गरेको वा संसदीय समितिको प्रतिवेदनअनुसार कारबाही नै अघि बढाएको भए पनि त्यो सरकारको कार्यक्षेत्रभित्र पर्छ । तर शाही भने विभिन्न सरकारी कार्यालयमा जाँदै धम्क्याउँदै राजीनामा माग्नेसम्मका हर्कत गरिरहेका छन् ।
यतिमात्रै होइन, शाहीकै टिमले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई त घरबाटै थुत्नेसम्मको अभिव्यक्ति दिएको थियो ।
वायु सेवा निगमको कार्यालय पुगेर शाहीले प्रमुखहरूलाई यहाँ बोलाउनुस् भनेर थर्काएका थिए । ‘यो सबै नाटक हो, बोलाउनुस्, नत्र थुतेर ल्याउँछु घरबाट,’ शाहीले निगमका कर्मचारीलाई धम्क्याएका थिए ।
ज्ञापनपत्र बुझ्न आउनु पर्यो । तलै बोलाउनु पर्यो भनेपछि युवराज अधिकारी तल झरेका थिए ।
यसपछि शाहीको टोली अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्यो । त्यहाँ पुगेर लडफा सुरु गर्यो । अख्तियारमा पनि उनीहरूले प्रमुख आयुक्त प्रेम राईसँग भेट्ने समय मिलाउन भने ।
समय मिलेपछि भेट गराउने अख्तियारका कर्मचारीले बताए । त्यसपछि भने शाही जंगिए, ‘सोझो हिसाबले कर्मचारीतन्त्रलाई नगाल्ने रैछ । हामीले जनतालाई के म्यासेज दिने, भित्र भेट्न दिएन भन्ने ? टाइमको कुरै नगर्नुस् । हामी विथआउट टाइमिङ आएको हो । मन्त्रालयमा हरेक ठाउँमा विथआउट टाइमिङ गइरहेका छौं । संवैधानिक आयोगका १२ वटा निकायमा हामी पुगिसकेका छौं । अख्तियारमा मात्र किन भेट्न नमिल्ने ? उजुरीको कुरै छैन, यस्ता त कति हुन्छन्, कति हुन्छन् ।’
वैदेशिक ठगीदेखि चेक बाउन्ससम्मका अभियुक्त
अनुगमन र ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने तिनै शाही वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको पाइएको छ ।
उनीविरुद्ध श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा चेक बाउन्सको कसुरमा उजुरी दिएका थिए । फुयालका अनुसार शाहीले आफ्नो कार्यालयबाट कम्युटर, क्यामेराहरू शाहीले लगेका थिए । त्यसवापत फुयाललाई चेक दिएका थिए ।
रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका शाहीका पार्टनर होमराज खोपाङ्गी मगर थिए । उनीहरूले तीनवटा चेकमार्फत ३ लाख ८० हजार उल्लेख गरेर फुयाललाई दिएका थिए । तर खातामा रकम नभएपछि उक्त चेक साटिएन ।
चेक बाउन्स भएपछि रेड स्टारको खातासमेत कालोसूचीमा रोखिएको थियो । त्यसपछि भने फुयालले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।
वृत्त स्रोतले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी आएको पुष्टि गर्यो । ‘जाहेरी आएको हो । यो विषयमा अनुसन्धान जारी छ,’ प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो ।
चेक बाउन्स मुद्दामा पक्राउ गरेर वृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाउन खोज्दा शाही अर्को एउटा मुद्दामा समेत पक्राउ परेको खुल्यो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई त्यतिबेला विभिन्न युवायुवतीलाई विदेश पठाउँछु भनेर ८ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । वैदेशिक ठगीको कसुरमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने कानुनी प्रावधानअनुसार उनलाई विभाग पठाइएको थियो ।
जापान पठाउने भन्दै ठगी गरेको आरोप शाहीमाथि छ । सुवास तामाङ नाम गरेका व्यक्तिले वैदेशिक ठगीको कसुरमा उनीविरुद्ध उजुरी दिएका थिए ।
फुयालभन्दा अघि प्रहरी वृत्त महाराजगञ्जमै रोजिना थापा नाम गरेकी महिलाले शाहीविरुद्ध चेक बाउन्स (बैंकिङ कसुर)को जाहेरी दिएकी थिइन् । शाहीले आफ्नो सिटिजन्स बैंकको चेकमा १० लाख ३० हजार रुपैयाँ उल्लेख गरी दिएको तर रकम नभएकाले चेक नसाटिएको भन्दै वृत्त महाराजगञ्जमा २७ वैशाख २०८१ मा उजुरी दर्ता भएको थियो ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार शाही त्यतिबेला गम्भीर रोगका बिरामी भन्दै अस्पताल भर्ना हुन खोजेका थिए । पीडित पक्षलाई रकम तिर्ने सहमति गरेर उनी छुटे । ‘पीडितले रकम पाएन नपाएको भन्ने अहिलेसम्म हामीलाई केही खबर आएको छैन,’ ढकालले भने ।
उनीविरुद्ध विद्या श्रेष्ठ नाम गरेकी महिलाले प्रहरी वृत्त स्वयम्भूमा २३ वैशाख २०८२ मा उजुरी दर्ता गराएकी थिइन् । व्यापार विस्तार गर्न रकम चाहिएको भन्दै १० लाख रुपैयाँ सापटी लगेको र त्यस वापत उनले प्रभु बैंकको खातामार्फत २२ सेम्टेम्बर २०२४ को मिति उल्लेख गरेर चेक दिएका थिए । तर रकम भएकाले चेक नसाटिएपछि ती महिलाले गत वैशाखमा उजुरी दिएकी थिइन् ।
२३ पुस २०८१ मा प्रहरी वृत्त बौद्धमा अर्को चेक बाउन्सको उजुरी उनीविरुद्ध परेको प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ । बौद्ध प्रहरीमा उनीविरुद्ध ७ लाख रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो ।
पछि विभागबाट भने उनी धरौटीमा रिहा भएको स्रोतले बतायो । त्यसैमा यता फुयालको मुद्दा भने अहिले पनि प्रहरीकैमा छ ।
उनै शाही जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतल निवास पुगेका थिए । जेनजी अगुवा सुदन गुरुङको छेउमा बसेका उनीहरूले एकअर्काको हात समाउँदै उठाएका थिए ।
वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्तलाई रेड कार्पेट ओच्छ्याएपछि पीडितहरू भने न्याय पाउनेमा झनै सशंकित भएका छन् ।

इलामको उपचुनावमा ल्याएका थिए ५५ भोट
अहिले जेनजीको नाममा सरकारी कार्यालयहरूमा गएर कर्मचारीलाई निर्देशन दिनेदेखि राजीनामा गर्नुस्, थुतेर ल्याउँछु भन्नेसम्मको अभिव्यक्ति दिने शाही यसअघि चुनावसमेत लडैको व्यक्ति भएको पाइएको छ ।
एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको इलाम–२ मा शाहीले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा उम्मेदवार हुन कम्तीमा २५ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ । ८ मंसिर २०५५ मा जन्मिएका उनी उम्मेदवार बन्दा बल्लबल्ल २५ वर्ष पूरा भएका थिए ।
१५ वैशाख २०८१ मा इलाम–२ को उपचुनावमा भाग लिने उनी सबैभन्दा कान्छा उम्मेदवार दिए ।
स्वतन्त्र उम्मेदवार बनेका उनको चुनाव चिह्न डोजर थियो । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा शाहीले भने जम्मा ५५ मत ल्याएका थिए ।
प्रतिक्रिया 4