
News Summary
Generated by OK AI. Editorially reviewed.- मेरिल्याण्डको बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरमा बुधबार गाईपूजा भव्य रुपमा मनाइएको छ।
- हिन्दु बुद्ध मन्दिर र पर्वत समाज अमेरिकाको संयुक्त आयोजनामा सयौं भक्तजनले गाईपूजा गरेका छन्।
- गाईपूजाले नेपाली संस्कार र संस्कृति दोस्रो पुस्ताका बालबालिकामा बुझ्न सजिलो हुने विश्वास आयोजकले लिएका छन्।
बाल्टिमोर (अमेरिका) । मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित हिन्दू बुद्ध मन्दिरमा गाईलाई पूजा गरेर बुधबार गाईपूजा मनाइएको छ ।
पूजा गर्नको लागि यसबर्ष पनि गाई ल्याएर मन्दिरमा पुजा गरिएको हो । अघिल्ला दुई वर्षमा पनि यो मन्दिरमा नेपाली समुदायले यसरी नै भव्यपूर्वक गाईपूजा गरे । यसवर्ष गोवर्धन पूजा परेकाले सबैलाई आमन्त्रण गरिएको थियो ।
यसवर्ष हिन्दू बुद्ध मन्दिर तथा पर्वत समाज अमेरिकाको संयुक्त आयोजनामा गोवर्धन पूजा भव्य रुपमा मनाइएको हो । पर्वत समाज अमेरिकाका महासचिव शिवलाल पुरी, उपाध्यक्ष रोशन लामिछाने र सचिव ईश्वर श्रेष्ठ, मन्दिरका सचिव तरुण पौडेलका अनुसार गाई पूजामा सयौं भक्तजनको उपस्थिति थियो ।
गौमाताको पूजा गरी पुण्य लाभ मिल्ने विश्वासमा भक्तजनले गाईपूजा गरेको सचिव पौडेलले बताए ।
केही वर्षदेखि गाईका बाछीहरु नै ल्याई भौतिक रुपमा पूजाअर्चना गर्दै गाई तिहार मनाउँदै आएको मन्दिरमा यसपटक पनि गरिएको हो । विशेषगरि, अमेरिकामा बसोबास गर्दै आएको दोस्रो पुस्ताका बालबालिकालाई गाईपूजामार्फत नेपाली संस्कार र संस्कृति बुझ्न सजिलो हुने विश्वास आयोजकले लिएका छन् ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी गाईलाई मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । नेपालमा गाईलाई सम्मानका साथ राष्ट्रिय जनावर पनि मानिन्छ । गाईलाई लक्ष्मीको प्रतिक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।
यससँगै अमेरिकामा अहिले नेपाली समुदायले देउसीभैलो खेल्दै तिहार मनाइरहेका छन् भने लक्ष्मीपूजामा पनि बत्तीले घर सजावट र झिलिमिलि पनि पारेका थिए ।
तस्वीर : द स्टोरी टेलर्स
प्रतिक्रिया 4