News Summary
Generated by OK AI. Editorially reviewed.- दीपकप्रसाद आचार्य निर्देशित कथानक फिल्म 'परान' १४ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
- फिल्म 'परान'ले सन्तान र अभिभावकबीचको सम्बन्ध र नेपाली समाजको मानवीय संवेदनालाई प्रस्तुत गर्छ।
- निर्देशक आचार्यले फिल्मलाई आफ्ना व्यक्तिगत अनुभव र समग्र नेपाली परिवेशसँग जोडेर तयार पारेका छन्।
काठमाडौं । दीपकप्रसाद आचार्यलाई धेरैले वास्तविक नामले कम, ‘काकु’ नामले ज्यादा चिन्छन् । मेरी बास्सै, भद्रगोल, सक्किगो निजस्ता हिट टिभी श्रृंखलामा उनले ‘काकु’ पात्रको रुपमा प्रसिद्धी कमाए । उनको डेब्यू निर्देशकीय कथानक फिल्म ‘परान’ १४ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।
सन्तान र अभिभावकको सम्बन्धको कथा पेश गर्ने यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । वर्षौं लामो टिभी श्रृंखला र म्युजिक भिडियोको अनुभवलाई आफूले फिल्ममा मिसाएको काकुले बताएका छन् । अनलाइनखबरकर्मी विष्णु शर्मासँग काकुले ‘परान’ र आफ्नो करिअरबारे संक्षिप्त संवाद गरेका छन् ।
‘परान’ फिल्मको अवधारणाबारे भन्नूस न ।
मेरो घरबाट सुरु भएको कथा हो । जुन आममान्छेको कथा पनि हो । समग्र नेपालको परिवेशसँग मिल्दोजुल्दो छ । विशेष गरि मेरो बुवा बालकृष्ण आचार्यको कथा यसमा यसमा छ । परिवारभित्र मैले जस्तो भोगेँ, त्यसको कथा यसमा छ । बुवा बितेपछि धेरै सोचविचार गर्दा, कथाको रुपमा फिल्म बनाउने आइडिया आयो । किनकी त्यो आममान्छेको कथा हो ।
बुवाको देहान्त कसरी भयो ?
बुवाको देहान्त अनपेक्षित ढंगले भयो । हामीले बुवालाई सुख दिने जमर्को गर्र्यौं । तर, खुसी बुझेनछौं भन्ने कुरा बुवा बितिसकेपछि थाहा भयो । सुख दिने बहानामा हामीले बाआमाको खुसी बुझ्न जरुरी रहेछ भन्ने कुरा महसुस भयो । बुवाले खुलेर हामीसँग कुरा गर्नुभएन । किन गर्नुभएन भन्दा, मैले मेरा इच्छा चाहना छोराहरूलाई यदि भनेँ भने उनीहरूलाई दुःख हुने हो कि, अथवा प्रगतिमा बाधा पर्ने हो कि भनेर मनको कुरा मनमै राख्नुभएछ । एउटा समयमा हामीले महसुस गर्यौं । ट्रेलरमा पनि आइसक्या छ- सन्तान भनेको ढुकढुकी बन्ने होइन, ढुकढुकी गन्ने हुनुपर्छ । कतिपय कुरा बाआमाले भन्दैनन् तर छोराहरूले बुझ्नुपर्छ भन्ने कुरा ।
टेलिभिजन र म्युजिक भिडियोमा ब्यस्त कलाकार किन फिल्म निर्देशनमा आउने निर्णय गर्नुभयो ?
मान्छे प्रगतिशिल हुनुपर्छ । काम गर्ने सिलसिलामा फड्को मार्नुपर्छ भन्ने कुरा पहिल्यैदेखि लागिरहेको थियो । उचित समय मिलेको थिएन । टिमको आफ्नो फिल्म बनाउने कुरामा म आफू सहभागी हुने कुरादेखि लिएर सबै कुरा । ‘परान’मा आइपुग्दा सबैकुरा मिलेपछि गर्या हो ।
मैले सन् २०१४ मै ‘श्री ५ अम्बरे’ भन्ने फिचर फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसक्या थिएँ । त्यसपछि दुईटा फिल्ममा पटकथा लेखकको रुपमा काम गरिसक्या थिएँ । मलाई भन्न मन लागेको कथा भन्न म निर्देशकको रुपमा तयार भएँ भन्ने हिसाबले ‘परान’ गरेको हुँ ।

बीचमा तपाईंको टिम (सक्किगो नि)ले फिल्म गर्ने तयारीको समयमा तपाईं पनि हुनुहुन्थ्यो । किन छाड्नुभयो ?
यसको (परानको) कथा ‘लाज शरणम’को भन्दा अघिको हो । हाम्रो टीममा पनि ‘लाज शरणम’पछि ‘परान’ गर्ने समझदारी पनि थियो । हाम्रो ठूलो टिम छ । ‘लाज शरणम’लाई अरु साथीहरूले अघि बढाउने र ‘परान’को कथालाई म अघि बढाउँछु भन्ने हिसाबले आएको हुँ ।
सानो पर्दामा नाम कमाएको मान्छे ठूलो पर्दामा आउनु पछाडि केही उद्देश्य छन् ?
हामीले टेलिभिजनको पर्दामार्फत एउटा दर्शकीय वर्गलाई कथा भनिरहेका थियौं । एउटा दर्शकीय समूह यस्तो पनि छ, जो टिभीको पर्दाभन्दा हलमै गएर फिल्म हेर्न रुचाउँछ । कथा भन्नेहरूको अन्तिम गन्तव्य भनेको, ठूलो पर्दाको फिल्ममा काम गर्ने नै हुन्छ । त्यसकारण, प्रगतिशिल हुँदै जाँदा टेलिभिजनको अनुभव पनि बटुलियो । टिभीका श्रृंखला भन्दा पनि हलमै गएर हेर्न रुचाउने दर्शकलाई पनि कथा भन्नुपर्छ भनेर फिल्ममा अघि बढेका हौं ।
शीर्षक ‘परान’ नै किन राख्नुभयो ?
चलचित्र हेरेपछि दर्शकले शीर्षकलाई सान्दर्भिक मान्नुहुनेछ । रिलिज भैसकेपछि दर्शकले यसको कथा यो भन्दा अन्य उचित हुँदैन भन्नुहुनेछ । स्क्रिप्ट राईटर याम थापाले शीर्षक दिनुभएको हो । बाआमाको परान छोराछोरी होला, श्रीमानको परान श्रीमती होला । कतिपय जन्मघरसँगका सम्बन्धहरू केले अडिएको हुन्छ ? सासले होइन, साथले चल्ने सम्बन्धहरू । साथ भयो भने, परान चलिराखेको हुन्छ भन्ने हुन्छ । यसकारण ‘परान’ शतप्रतिशत यसको उचित शीर्षक हुन्छ ।
विगतमा आमाको संवेदनामाथि धेरै फिल्म बने । पछिल्लो समयमा बाको इमोसनमाथि धेरै फिल्म बनेका छन् । के सन्तान र अभिभावकबीचको यो समस्या र संवेदना अहिले देशभर छ वा तपाईंको मात्र नीजि अनुभव हो ?
यसको बलियो पक्ष भनेको आमदर्शकको कथा हो । ९० प्रतिशतभन्दा धेरै दर्शकले यो फिल्मभित्र आफूलाई पाउनुहुनेछ । त्यो लेभलको कथा बुनेका छौं । यो कुनै पनि दर्शकले आफूलाई पाउन बञ्चित हुँदैन । चाहे विदेश बसिरहेको दर्शक होस् या गाउँमा बुुवाआमालाई छाडेर सहर बसिराखेको दर्शक होस् । चाहे बुवाआमाकै सेवा गरिराखेको सन्तान होस् । यी तीनवटै वर्ग चलचित्रभित्र छन् । उनीहरूको आ–आफ्नो दृष्टिकोणबाट कथा भनिएको छ ।
आमदर्शक र समग्र नेपाली परिवेशको कथा हो । गाउँमा विकासको लहर चलेको छ । पिच बाटा छन् तर गाडीमा चढ्ने मान्छे छैनन् । घर छन्, बटुवा बास माग्न आउँदैन । गाउँमा विकास छ, इन्टरनेट प्रविधि पुगिसक्यो, तर, त्यहाँ बस्न मान्छेको मन छैन । त्यो मनलाई कसरी लैजाने, मुख्य चुनौती त्यहाँ छ ।
एउटा बाउले नै फिल्मलाई काँधमा बोकेको छ । नीर शाह जसलाई ‘लिभिङ लिजेन्ड’ भन्न रुचाउँछु, उहाँले टेलिभिजन, चलचित्र, कलाकारितामा जुन योगदान दिनुभएको छ, एक हिसाबले चलचित्र हेरिसक्दा नीर शाहप्रति यो फिल्म समर्पित भन्दा पनि हुन्छ । किनकी सुरुदेखि अन्त्यसम्म उहाँले यसरी कथा भन्दै जानुहुन्छ, दर्शकलाई होल्डमा राख्नुहुन्छ, त्यो बाउको ‘पर्सपेक्टिभ’को कथा हो यो ।
बाउको कथामा बनेका ‘महापुरुष’ र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका कथा यसमा छन् । ठ्याक्कै तिनै कथा होइन, ती फिल्ममा दर्शकले जुन कथा हेर्न पाउनुभएको थिएन, डिटेल र डेप्थमा ती कुरा ‘परान’ले पुरा गर्छ ‘महापुरुष’ र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका बाउका कथाहरू ।
सुरुमा त मैले कथा लेखेर परिवारलाई देखाएँ । बसेर छलफल गरिसकेपछि वृहत्तररुपमा देशको लागि बनाउनुपर्छ भनेर बनाएँ । कथा रिलेट नहुने कोही पनि भेटिन । मलाई पनि यस्तै भएको थियो भन्नेहरू भेटेँ । परिवारभित्र मात्र होइन, समग्र नेपाली समाज बोलेको छ ।
टेलिभिजन र ठूलो पर्दाको फिल्मलाई निर्देशन गर्दाका अनुभव र भिन्नता कस्तो पाउनुभयो ?
दर्शकले घरभित्र बसेर टिभीमा हेर्नुहुन्छ, त्यसको छुट्टै आनन्द छ । धेरै कुरा संवेदनशिल पनि छन् । चलचित्रमा ठूलो क्यानभासमा अलिकति वृहत्तर तयारी हुन्छ । सिरियल हेर्दा हप्तैपिच्छे एउटा एपिसोड निकाल्नुपथ्र्यो । तर, चलचित्र चाहिँ झण्डै १ वर्षभन्दा धेरैदेखि कथा र मेकिङमा वृहत्तर तयारी गरेर गर्नुपर्ने हुन्छ । यसले गर्दा यो ठूलो क्यानभासमा गरिने हुन्छ ।
कथावाचकको रुपमा मजा कुनमा आउने रहेछ ?
टेलिभिजनको कथा भन्न चाहिँ अलिकति हतार हुन्छ हामीलाई । हप्तैपिच्छे कथा भन्नुपर्ने । काम गराइको हिसाबले चलचित्रमा नै मजा हुन्छ । चुनौती हुन्छ फिल्ममा । च्यालेन्जमै हुन्छ मजा ।

निकट भविष्यमा फिल्ममा मात्र लाग्ने कि टिभीमा पनि फर्किने तयारी छ ?
ठूलो पर्दालाई निरन्तरता दिएर हामीले टेलिभिजनका दर्शकलाई पनि निराश नबनाउने हिसाबले हाम्रो टिमले टिभीको लागि सिरियल आउँछ ।
तपाईंको टिम भन्नुको अर्थ ?
‘सक्किगो नि’ लगायतका टिम । अहिले निश्चित समय विश्राम लिए पनि निकट भविष्यमा एकसाथ देखिने सम्भावना बिल्कुल छ । त्यही दर्शक जसले हामीमाथि भरोसा गर्नुभएको थियो, जसले हरेक हप्ता कन्टेन्ट हेर्न खोजिरहनुभएको छ भने उहाँहरूलाई हामीले निराश बनाउने कुरा आउँदैन । केही न केही त हामीले लिएर आइहाल्छौं ।
‘परान’ किन हेर्ने ? ५ कारण भन्नूस न ।
मैले लामो समय कलाकारिता, निर्देशन, लेखनको अनुभवपछि पहिलोपटक चलचित्रको कथा भन्दैछु । सबैभन्दा बलियो कारण चाहिँ– ‘परान’ तपाईंको कथा हो । तपाईंले आफूलाई त्यसभित्र पाउनुहुन्छ ।
नेपाली चलचित्र क्षेत्रका जिउँदो इतिहास नीर शाहले यो लेभलमा अभिनय गरेको सायदै उहाँको जीवनमा चलचित्र बनेका छन् । उहाँको लागि पनि हेर्नुपर्छ । अरु कास्टिङ पनि नयाँ र पुरानो पुस्ताको फ्युजन छ । दुई पुस्ताले गरेको काम हेर्न पाउनुहुनेछ ।
साथै, चलचित्रले यस्तो मानवीय संवेदना बोकेको छ जहाँ ती संवेगहरू जबर्जस्ती कुनै दृश्य क्रिएट गरिएका छैनन् । यति प्राकृतिक छन् कि तपाईंलाई फिल्म हेरिरहेको जस्तो महसुस हुँदैन । सत्य घटनामा आफूभित्र बगिरहेको महसुस गराउँछ ।
तपाईंको अर्थ, ‘परान’ ले नेपाली समाजको मानवीय प्रवृत्तिलाई पनि प्रश्न गर्छ । होइन ?
एकदमै ठूलो प्रश्न गर्छ र महसुस पनि गराउँछ । हामीले अभिभावकलाई सुख दिन चाहिरहेका हुन्छौं तर खुसी बुझिरहेका छौं कि छैनौं भन्ने प्रश्न गर्छ । गाउँमा सबै कुरा छ तर हाम्रो मन छैन । किन छैन भन्ने प्रश्न सोध्छ । अमेरिकाजस्ता विकसित देशमा के हुन्छ रे भन्दा– सबै कुरा सम्पन्न भैसकेपछि मानिस न्यूयोर्कबाट अलिकति गाउँतिर जान गएर बस्न रुचाउँछ । एकदमै शान्त खोज्छ । त्यो शान्ति हाम्रो गाउँमा छ । उहाँहरूले छाडेका आँगनमा हरिणहरू आउन थालिसके । आँगनमा उत्तिस उम्रिसके । तुलसीको मठलाई बनमाराले ढाकिसके । त्यहीँ छ नि त शान्ति ।
‘परान’ डायस्पोरालाई पनि उत्तिकै सान्दर्भिक छ भन्न खोज्नुभएको ?
उहाँहरूले पनि अपनत्व महसुस गर्नुहुनेछ । चलचित्रको मूल कथा त्यता नभएपनि सायद केही कथाले उहाँहरूलाई अपनत्व महसुस गराउनेछ । मैले त्यो आशा राखेको छु ।
प्रतिक्रिया 4