+
+
Shares

‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको ग्राण्ड प्रिमियर, प्रसारण शुक्रबारदेखि (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनको ग्राण्ड प्रिमियर बिहीबार जमलस्थित विश्वज्योती हलमा गरिएको छ।
  • सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको निर्देशक लक्ष्मण पौड्यालले बताए।
  • सातौं सिजनमा ‘सुपर ब्लक’ नामक नयाँ नियम लागू गरिएको छ जसले कोचलाई प्रतिस्पर्धी छनोटमा रोक लगाउन अनुमति दिन्छ।

काठमाडौं । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ ।

आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता रह्यो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । प्रिमियरमा सहभागीले पहिलो एपिसोडको मुक्तकण्ठले प्रशंसा गरे ।

निर्देशक लक्ष्मण पौड्यालले सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको बताए । चारैजना कोच यसअघि विजेता भैसकेकाले यो सिजन निकै प्रतिस्पर्धात्मक हुने उनले बताए ।

कोच प्रमोद खरेल र राजु लामाले पनि नयाँ सिजनमा कडा प्रतिस्पर्धा हुने बताए । यी दुबैजना कोच नयाँ सिजनमा फर्किएका हुन् । ‘प्रतिस्पर्धा कडा हुने भएपनि कुनै दबाब विना म देखिनेछु’ कोच प्रमोदले भने ।

कोच राजुले पनि नयाँ प्रतिभाको उत्साहजनक सहभागिता यसमा भएको बताए । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले टिभीले युवा लक्षित सामग्री केन्द्रित कार्यक्रम ल्याउने बताए ।

यसपटक राजु र प्रमोदसहित मेलिना राई र खेम सेञ्चुरी कोचको रुपमा सहभागी छन् ।

‘दर्शकको रुचि र चाहनाअनुसार युवा लक्षित कन्टेन्ट ल्याउनमा हामी केन्द्रित छौं’ उनले भने । सो अवसरमा हिमालय टिभीका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र प्रायोजकहरूले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सातौं सिजनको शीर्ष प्रायोजक भेसलिन रहेको छ । भेसलिनका प्रमुख वित्तिक अधिकृत आयुष शर्माले स्वस्थ आवाजजस्तै स्वस्थ छाला जरुरी रहेको बताए । ‘भ्वाइससँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं’ उनले भने ।

पहिलो एपिसोड रोचक देखियो । बुद्धि परियारको बहुचर्चित गीत ‘रेशम फिरिरी’लाई चारैजना कोचले गाउँदै सिजनको सुरुवात गरे । सातौं सिजनमा ‘सुपर ब्लक’ नामक नयाँ नियम ल्याइएको छ । यसको अर्थ, कुनै कोचलाई अर्को कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्छ ।

पहिलो एपिसोडमा आफूले झुक्किएर ‘सुपर ब्लक’को बटन थिचेको कोच राजुले बताएका छन् । उनलाई यसबारे पत्रकारले पनि प्रश्न गरेका थिए । उनले झुक्किएर भन्ने जवाफ दिएका थिए ।

शुक्रबारदेखि ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि ब्याटलसहितका प्रतिस्पर्धामा शो अघि बढ्नेछ । द भ्वाइस अफ नेपालको सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

तस्वीर : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?