+
+
Shares

पार्टी बैठकमा कांग्रेस नेता राणा : विशेष महाधिवेशन भए चक्रव्यूहमा फसिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:२९
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले विशेष महाधिवेशनले पार्टी चक्रव्यूहमा फस्ने टिप्पणी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै राणाले विशेष महाधिवेशन गर्न नहुनेमा आफू स्पष्ट रहेको बताए ।

‘विशेष महाधिवेशनमा गर्‍यौं भने महाभारतको चक्रव्यूहमा पसेको जस्तै हुन्छ । त्यो चक्रव्यूहमा हामीहरू छिर्न सक्छौं । तर, बाहिर कसरी आउँछौं हामीलाई थाहा छैन,’ राणाले भने, ‘कुनै पनि हालतमा हामी विशेष महाधिवेशनमा जानु हुँदैन। पार्टी फुट्ने सम्भावना हुन्छ ।’

राणाले कांग्रेस विभाजन हुँदाको समय समेत बैठकमा स्मरण गरे ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजन भई कांग्रेस प्रजातान्त्रिक गठन भएको तत्कालीन समय स्मरण गर्दै राणाले भने, ‘म सम्झिन्छु प्रजातान्त्रिक कांग्रेस र कांग्रेस छुट्टिँदा त्यतिबेलाको पहिलो भेलामा मेरो बुवा सागरशमशेर जिल्ला सभापति हुनुहुन्थ्यो । आजको दिनसम्म पनि उहाँले मैले गल्ती गरेको भन्ने उहाँको मनमा छ ।’

पार्टीको नियमित महाधिवेशनमा केन्द्रित हुनुपर्ने उनको जोड थियो । पुस वा वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने उनले बताए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका राणाले नजिता भने राम्रो नआउने बताए ।

कांग्रेस नियमित वा विशेष महाधिवेशनको मुद्दामा अल्झिरहँदा अन्य दलहरूले भने आफ्नो तयारी गरिरहेको उनले सुनाए ।

‘अहिले नेपाली कांग्रेस छापा सञ्चारमाध्यममा फ्रन्ट पेजबाट हाम्रो न्युज थर्ड पेजमा पुगिसकेको छ । हामी राष्ट्रिय राजनीतिबाट अलि-अलि बिस्तारै बिस्तारै बाहिरिँदै छौं । त्यसलाई विचार गरेको छ कि छैन ?’

कार्यकर्ताहरू निराश रहेको उल्लेख गर्दै राणाले नेताहरू मिलोस् भन्ने उनीहरूको चाहना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?