News Summary
Generated by OK AI. Editorially reviewed.- रोयल स्विडिस एकेडेमी अफ साइन्सको अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको छ।
- विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको सर्वेक्षणमा नेपालले १ दशमलब ३९ अंकसहित पहिलो स्थान पाएको छ।
- अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको अध्ययनले देखाएको छ।
नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञान सम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको हो ।
प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरुमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको छ ।
उक्त सर्वेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरूले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो ।
त्यस क्रममा १ दशमलब ३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ ।
उक्त सूचीमा १ दशमलब २२ अंक सहित इरान दोश्रो स्थानमा छ भने तेश्रो स्थानको दक्षण अफ्रिकाले १ दशमलब २० अंक पाएको छ।
सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरूमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।
यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुई युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औँ स्थानमा रहेको छ ।
प्रकृतिसँग सर्वाधिक जोडिएका देशहरूको शीर्ष सूचीमा अधिकांस एसिया तथा अफ्रिकाका देश रहँदा स्पेन भने यो सूचीको सबैभन्दा पुछारमा रहेको छ । उसको माइनस ० दशमलब ६१ अंक छ। त्यसैगरी जापान अन्तिमबाट दोश्रो स्थानमा छ ।
प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्याण८, साउदी अरब, बेलायत, नेदरल्याण्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका छन् ।
ब्रिटिस तथा अष्ट्रियन शोधकर्ताहरूको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरूको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको देखाएको छ ।
रोचक त के भने देशको बजारमैत्री अर्थतन्त्रको स्तर प्रदर्शन गर्ने विश्व बैंकको डोइंग बिजनेस इन्डेक्समा उच्च स्थानमा रहेका देशहरू प्राकृतिक वातावरणसँगको सम्बन्धको हिसाबले कमजोर देखिएका छन् ।
त्यसैगरी सहरीकरणको स्तर, औषत आय तथा इन्टरनेट प्रयोगको दरले पनि प्रकृतिसँगको आबद्धतालाई प्रभाव पार्ने देखिएको रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था गार्जिएनले जनाएको छ ।
प्रकृतिमैत्री देशको सूचीमा केही मुलुकहरूको स्थान यस्तो छ :
- भारतः ३०औँ
- चीनः ३६औँ
- पाकिस्तानः ४२ औँ
- इटालीः ४४ औँ
- अष्ट्रेलियाः ४६ औँ
- अमेरिकाः ४७ औँ
- स्विट्जरल्याण्डः ५२ औँ
- ब्राजिलः ११ औँ

(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4