कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको रुपमा काम गरेको आरोप लागेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार, गत एक हप्तामा त्यहाँ च्याट जिपिटीविरुद्ध सातवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन्।
च्याट जिपिटी निर्माता कम्पनी ओपन एआइले आफ्नो प्रडक्टको जिम्मेवारीपूर्ण प्रयोगमा लापरवाही गरेको र मानिसको जीवनसँग खेलबाड गर्न सक्ने खतरालाई रोक्न असफल भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो ।
दुई संवेदनशील घटना
पहिलो घटना १७ वर्षीय एमूरी लेस नामक किशोरसँग सम्बन्धित छ। उनले च्याट जिपिटीसँग आत्महत्या कसरी गर्ने भन्ने विषयमा प्रश्नहरू सोधे । उनले फाँसी कसरी लगाउने ? र कति समयसम्म सास लिन सकिन्छ? भन्नेजस्ता प्रश्न सोधेका थिए ।
त्यस्तै दोस्रो घटना टेक्सासमा भएको हो। जहाँ २३ वर्षीय एक विद्यार्थीले आफ्नो कारभित्र बन्दुक, सुसाइड नोट र केही सामान राखेर आत्महत्या गरे।
अनुसन्धानका क्रममा उनले मृत्यु अघि च्याट जिपिटीसँग चार घण्टा लामो कुराकानी गरेको खुलासा भएको थियो ।
च्याट जिपिटीविरुद्ध मुद्दा हाल्ने वकिलका अनुसार च्याटबोटले ती युवकलाई सान्त्वना दिने क्रममा ‘म तिमीलाई माया गर्छु राजा’, र तिमी ठीक छौ” जस्ता वाक्यहरू प्रयोग गरेको थियो, जसले उनलाई आत्महत्याको निर्णयमा पुग्नका लागि सघायो ।
सुधारको बाचा
आत्महत्याका लागि उक्साएको भन्ने गम्भीर आरोपपछि ओपन एआइले आफ्नो प्रणालीमा सुधार गर्न लागिरहेको जनाएको छ ।
निकट भविष्यमै किशोर किशोरीहरुका लागि विशेष फिचर, प्यारेन्टल कन्ट्रोल तथा आपतकालीन सहायता नम्बर जस्ता सुविधाहरू ल्याउने तयारी च्याट जिपिटीले गरेको छ। तर यी सुविधा कहिलेबाट लागू हुने भन्नेबारे कुनै टाइमलाइन सार्वजनिक गरिएको छैन ।
च्याट जिपिटीमाथि लागेको यस्तो आरोपले पुनः एकपटक एआइको जिम्मेवारी र नैतिक सीमाबारेको बहसलाई तीव्र बनाएको छ।
प्रतिक्रिया 4