च्याट जिपिटी निर्माता कम्पनी ओपनएआईले हालै आफ्नो पहिलो ‘एजेन्टिक एआई’ ब्राउजर एटलस सार्वजनिक गरेपछि प्रविधि बजारमा ठूलो हलचल मच्चियो।
उक्त घोषणासँगै गुगल कम्पनीको शेयरमा तीव्र गिरावट आयो र गुगलको बजार मूल्य करिब १५० अर्ब अमेरिकी डलरले घट्नपुग्यो।
सबैको ध्यान तानेको यो विषय केवल एउटा नयाँ ब्राउजरको कुरा मात्र होइन, यो भविष्यको कम्प्युटिङ मोडेल परिवर्तन गर्ने ठूलो कदम हो ।
ओपनएआई अहिले त्यस्तो बजार कब्जा गर्न खोज्दैछ, जुन वास्तवमा वर्तमानमा अस्तित्वमै आइसकेको छैन। त्यो हो, ‘एजेन्टिक एआई’।
यस प्रविधिको मुख्य अवधारणा यो हो कि यसमा कम्प्युटरले तपाईंको आदेश सुनेर आफै काम गर्नेछ ।
प्रयोगकर्ताले केवल आफूले के गर्न चाहेको हो भन्ने कुरा बताउनुपर्नेछ र बाँकी सम्पूर्ण प्रक्रिया प्रणालीले स्वतः पूरा गर्नेछ ।
ओपनएआईका प्रमुख साम अल्टम्यानले यो प्रविधिलाई आगामी केही वर्षभित्र विश्वव्यापी रूपमा विस्तार गर्ने लक्ष्य लिएका छन्, जसले गुगलजस्ता ठूला कम्पनीहरूलाई पुनः पछाडि पार्न सक्छ।
एटलस ब्राउजरमा गुगल क्रोममा उपल्बध रहेका सबै आधुनिक सुविधा छन् । तर, यसको मूख्य विशेषता भनेको यसमा रहेको एआई असिस्टेन्ट हो। प्रयोगकर्ताले कुनै पनि कमान्ड दिएपछि यो ब्राउजर आफैंले इमेल लेख्नेदेखि रिपोर्ट तयार पार्नेसम्मका सबै कार्यलाई सम्पन्न गर्छ। यस कारण यो ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्ने पक्का छ।
त्यसैगरी एटलस सार्वजनिक भएलगत्तै ओपनएआईले अर्को ठूलो घोषणा पनि गर्यो । उसले एप्पलको शर्टकट तयार पार्ने टिमलाई अधिग्रहण गरेको छ। यो टिमले पहिले वर्कफ्लो एप बनाएको थियो, जुन पछि एप्पलले खरिद गरेर Shortcut को रूपमा विकसित गरेको थियो ।
अहिले सोही अनुभवी टिम ओपनएआईमा सामेल भएको छ र उनीहरूले स्काई एआई नामक परियोजनामा काम गरिरहेका छन्। स्काई वास्तवमा म्याकबुकका लागि बनाइएको एआई प्रणाली हो, जसले प्रयोगकर्ताको आदेशअनुसार स्वतः कुनैपनि टास्क पूरा गर्छ । जसमा कोड लेख्नेदेखि फाइल व्यवस्थापन गर्ने वा योजना बनाउने लगायतका छन् । यसरी हेर्दा स्काई वास्तवमा म्याकबुकका लागि च्याट जिपिटीजस्तै रैथाने एआई असिस्टेन्ट’ बन्ने दिशामा अघि बढिरहेको छ ।
ओपनएआईले अहिले पुरानो कम्प्युटिङ मोडेललाई प्रतिस्थापन गर्ने प्रयास गरिरहेको छ। विगत तीन दशकदेखि मानिस र कम्प्युटरबीचको सम्बन्ध स्थिर थियो । जसमा मानिसले क्लिक र टाइप गर्थ्यो र कम्प्युटरले प्रतिक्रिया दिन्थ्यो। तर अब यो मोडेल परिवर्तन हुँदैछ। भविष्यमा प्रयोगकर्ताले केवल आफ्नो आवश्यकता बताउनेछ र कम्प्युटरले त्यसका लागि सबै काम आफैं गर्नेछ। यसले समय, ध्यान र अनावश्यक नेभिगेशनको झन्झट घटाउनेछ ।
स्काई टिम ओपनएआईसँग जोडिएपछि अब च्याट जिपिटी जस्ता प्लाटफर्महरु केवल संवाद गर्ने बोट मात्रै होइन, पूरै कम्प्युटर एजेन्ट बन्नेछन्। ओपनएआईको उद्देश्य एआईलाई अपरेटिङ सिस्टम, एप्स, ब्राउजर र फाइलहरूमा गहन रुपमा एकीकृत गर्नु हो, जसले गर्दा प्रयोगकर्ताले बोलेर वा लेखेर कुनै पनि कार्य गराउन सक्नेछ ।
गुगलका लागि वास्तवमा यो अवस्था चुनौतीपूर्ण बन्न थालेको छ। एआई प्रतिस्पर्धामा केही समयका लागि पछि परेको गुगल अहिले तीव्र गतिमा पुनः अग्रता लिने प्रयासमा छ। हालै पर्प्लेक्सिटीले कोमेट एजेन्टिक ब्राउजर ल्याएपछि गुगलले पनि क्रोममा एआई असिस्टेन्ट थपेको थियो।
तर अब ओपनएआईको एटलास बजारमा आएसँगै गुगलको हिस्सा घट्ने सम्भावना बढेको छ। माइक्रोसफ्टले पनि एजेन्टिक एआई ब्राउजर सार्वजनिक गरेको छ र उसले ओपनएआईमा ठूलो लगानी गरेको भएकाले यो प्रतिस्पर्धा अब थप चर्किने निश्चित देखिन्छ।
केही वर्षअघिसम्म इन्टरनेटमा गुगल सर्चलाई टक्कर दिने कुनै विकल्प नभएको देखिन्थ्यो। तर अब परिस्थिति बदलिसकेको छ।
गुगल सर्चको ट्राफिक निरन्तर घट्दै गएको छ र कम्पनीले आफ्नो बजार हिस्सेदारी जोगाउन संघर्ष गरिरहेको छ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4