१ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका शहीद र घाइतेका माग सम्बोधन नभएको भन्दै एक युवक काठमाडौंको माइतीघर मण्डलामा ६ दिनदेखि आमरण अनशनमा छन् ।
विगतका राजनीतिक भूमिकाबाट टाढिएर स्वतन्त्र रूपमा आन्दोलनमा होमिएको दाबी गरेका यादव सिंह नामका ती युवक सरकारसँग चारवटा माग राख्दै आमरण अनशन बसेका हुन् ।
‘म भुइँमा रहेका जेनजी घाइते र शहीदको लागि अनशन बसेको हुँ । माग पूरा नहुन्जेल वा हुने ग्यारेन्टी नहुन्जेलसम्म अनशन छोड्दिनँ,’ उनले भने ।
यादव तिनै व्यक्ति हुन्, जो २३ भदौको प्रदर्शनमा संसद् भवनमा नेपालको झन्डा बोकेर उभिएका थिए । संसद् भवनको गेटबाट उनले अन्य प्रदर्शनकारीलाई पनि माथि चढ्न आह्वान गरिरहेका थिए । उनीसँगै अन्य व्यक्ति पनि संसद् भवनको माथि देखिए पनि उनको तस्वीर भने भाइरल बनेको थियो ।
जेनजी आन्दोलन, जसलाई तत्कालीन समयमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको युवा विद्रोहका रूपमा चिनिन्छ ।
सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा प्रहरीले न्यूनतम बल प्रयोगको मापदण्ड उल्लङ्घन गर्दै गोली चलाउँदा शहीद र घाइते भएको भनाइ यादवको छ । त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि ती घटनामा संलग्नताको आरोप जेनजीहरूले लगाइरहेका छन् ।
यिनै पृष्ठभूमिका टेक्दै यादवले सरकारसँग तत्कालीन सरकारको नेतृत्व गरेका ओली र लेखकलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
२३ भदौको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले न्यूनतम मापदण्डविपरीत हतियारमुक्त प्रदर्शनकारीमाथि गोली चलाएकोले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तुरुन्त पक्राउ गरी सामूहिक हत्याको मुद्दामा कारबाही गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, शहीद र घाइतेका माग सम्बोधन गरिनुपर्ने अडान पनि यादवले राखेका छन् । आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग तत्काल पूरा गर्नुपर्ने उनले बताए ।

जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको राष्ट्रिय जनआन्दोलनका रूपमा घोषणा गर्नुपर्ने माग पनि उनको छ ।
जेनजी आन्दोलनअघि सत्तामा रहेका हरेक नेता र सरकार प्रमुखहरुको सम्पत्ति छानबिन हुनुपर्ने माग उनले राखेका छन् ।
‘राजनीतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत आर्जन गर्नेहरूलाई भ्रष्टाचारजन्य कसुरको दायरामा ल्याउन उच्चस्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्ने र अदालतका न्यायाधीशहरूको सम्पत्ति छानबिन र कारबाहीको लागि न्यायपरिषद्मार्फत छानबिन आयोग गठन गरी प्रतिवेदनले दोषी देखाएका राजनीतिक पदाधिकारी प्रशासनिक व्यक्तिहरू र न्यायाधीशलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारको अन्त्य गर,’ चौथो बुँदामा उनको माग छ ।
यसरी जुन माग उनले राखेका छन्, त्यो माग शुक्रबार जेनजीका तीन समूह (जेनजी फ्रन्ट, जेनजी मुभमेन्ट अलायन्स र द काउन्सिल अफ जेनजी) मा पनि समावेश छन् । अन्य जेनजी समूहले जुन म्यान्डेटको मस्यौदा सरकारलाई बुझाए, त्यसमा आफूले उठाएका विषय परेको यादव स्वयंले स्वीकारे ।
‘मैले जे माग उठाएको छु, त्यो माग त्यसमा छ । अब सहमति कहिले होला वा उहाँहरुले गर्नुहोला थाहा छैन,’ उनले भने ।
तर, पनि अनशनमा किन त ? यादवले थपे, ‘म्यान्डेट बुझाउनुभन्दा अगाडिदेखि म अनशनमा बसेको हो । सरकारले मसँग सम्झौता गर्नुपर्यो । त्यो कार्यान्वयन हुने ग्यारेन्टी गर्नुपर्यो । अनि पो मैले अनशन तोड्छु त ।’
आफूसँग विभिन्न समूहले छलफल गरेको दाबीसमेत यादवले गरे । उनका अनुसार जेनजी फ्रन्टकी अगुवा रक्षा बम, प्रवेश दाहाललगायत अन्य घाइते र शहीद परिवारका व्यक्तिले आएर एक्यबद्धता जनाइरहेका छन् । आफूहरूको माग पनि सोही किसिमको रहेकोले यसमा समर्थन जनाउँछौँ भन्दै आउने धेरै रहेको दाबी उनले गरे ।

यादवसँग केही दिनअघि स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पनि भेट गरेकी थिइन् । माइतीघर मण्डलामै पुगेर मन्त्री शर्माले उनीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
‘मेरो मन्त्रालय अगाडि नै तपाईंहरू हुनुहुन्छ रे भनेर म आएकी हुँ । मैले केही डाक्टरहरूलाई पनि भनेको छु । उहाँहरू आउनुहुन्छ,’ शर्माले सिंहलाई भन्दै गर्दा भिडबाट कसैले प्रतिप्रश्न गरे, ‘अहिलेसम्म डाक्टर न सरकारी अस्पतालबाट आए न कतैबाट !’
त्यसपछि मन्त्री शर्माले आफूले डाक्टर पठाइदिने वाचा गरिन् । सोहीअनुसार उनको उपचारको प्रबन्ध पनि भयो । केएमसी अस्पतालका डाक्टर आएर उपचार गराए ।
त्यसपछि शनिबार प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि वार्ता भएको सिंहले बताएका छन् । उनका अनुसार सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता नदेखाएपछि अनशन तोड्न नसकिएको हो ।
‘प्रधानमन्त्री र गृहमन्त्रीसँग बालुवाटारमा हाम्रा प्रतिनिधि साथीहरूको वार्ता सम्पन्न भएको छ । हाम्रा मागहरूमा लिखित सम्झौता नभएपछि अनशन निरन्तर चल्ने जानकारी गराउँछु,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।

जेनजी आन्दोलन हाइज्याक भएको बताउँदै आएका यादवको विगतलाई लिएर विभिन्न प्रश्न पनि उठिरहेका छन् । यसबारे उनले आफूमाथि उठेका प्रश्न स्वाभाविक रहे पनि अहिले स्वतन्त्र रूपमा अनशन बसेको बताए ।
‘यो आन्दोलन नै हाइज्याक भयो । हामी ग्राउन्डमा गोली थापेका जेनजी सडकमै छौँ । अनि तिनै समूहले ममाथि केके भनिरहेका छन्, त्यो सबैको जवाफ मसँग छ,’ उनले भने ।
२७ वर्षीय सिंह कञ्चनपुर पुनर्वासका स्थायी बासिन्दा हुन् । विगतमा माओवादी केन्द्रसँग जोडिएका उनले पछिल्लो समय आफू स्वतन्त्र रहेको बताउने गरेका छन् । उनी माओवादी निकट अखिल क्रान्तिकारीको गत महाधिवेशनमा उपमहासचिव लडेका पनि थिए, जसमा १७ भोटले पराजय बेहोर्नुपरेको उनको भनाइ छ ।
तर, माओवादी पार्टीभित्र गुटबन्दी र नातावाद मौलाएपछि वाक्क भएर सो पार्टीबाट अलग भएको उनले बताए । ‘जेनजी आन्दोलनपछि छोडेको भन्ने गलत बुझाइ कतिपयमा रहेको पनि पाएँ । तर ९ महिनाअघि नै मैले फेसबुक स्टाटसमार्फत माओवादी पार्टीमा रहेर राजनीति गर्दिनँ भनेर घोषणा गरेको थिएँ । माओवादीको सिद्धान्तभन्दा पनि त्यहाँको गुटगत व्यवहार र नातावाद हाबी भएकोमा मेरो असन्तोष थियो,’ उनले भने, ‘अहिले म कुनै कमिटी वा समूहसँग जोडिएको छैन ।’
प्रतिक्रिया 4