७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाउने गरिन्छ ।
तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।
दहीचुरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित १००१ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।
भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास गर्ने गर्छन् भने रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।
राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरीथरी लोक तथा गाली गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुशन्तलाई गाली गरी स्वागत गर्ने चलन छ । यसरी सम्धि मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा राजा जनकले छोरी जानकीको योग्य बर छनोटका लागि भगवान पर्शुरामले दिएको शिव धनुष भाँच्ने यज्ञ गरेका थिए ।
अहिले पनि त्यसरी नै धनुष यज्ञको आयोजन गर्ने गरिन्छ । धनुष यज्ञमा रामको स्वरुप बनेका बालकले धनुष भाँच्ने गर्दछन् । धनुष यज्ञ अव्लोकन गर्न हिजो साँझ जानकी मन्दिरमा हजारौको संख्यामा साधुशन्त तथा दर्शनार्थी भेला भएका थिए ।
भोलि पाँचौ दिन सोमबार राम र जानकीको मटकोर, मुख्यदिन मंगलबार जानकी र भगवान रामको विवाह र बुधबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।
यही मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन, दोस्रो दिन मंसिर ५ गते फूलबारी लिला र मंसिर ६ गते धनुष यज्ञ मनाइएको थियो ।
त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई सोयम्बर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
प्रतिक्रिया 4