८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति जनाएको छ ।
फ्रन्टले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ ।
‘सुशासन र जवाफदेहीताको नाराको बलमा बनेको सरकारमा पुन: नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ?’ जेनजी फ्रन्टले भनेको छ । उसले यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी माग गरेको छ ।
श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन् ।
स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् ।
सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।
आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।

प्रतिक्रिया 4