News Summary
Generated by OK AI. Editorially reviewed.- गुस्ताभ क्लिम्टको \'पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर\' २३ करोड ६४ लाख डलरमा विक्री भएर आधुनिक कलामा सबैभन्दा महँगो कलाकार बनेका छन्।
हालै गुस्ताभ क्लिम्टको ‘पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर’ नामक कलाकृति २३ करोड ६४ लाख डलर (करिब साढे ३३ अर्ब रुपैयाँ) मा विक्री भयो। सार्वजनिक रूपमा दशकौंसम्म गोप्य राखिएको यो चित्र लिलामीमार्फत कीर्तिमानी मूल्यमा बिकेको हो ।
तर, यो किन त्यति धेरै मूल्यमा विक्री भयो ? धेरैको जिज्ञासा छ । किन यो यति धेरै मूल्यमा विक्री भयो भनेर चर्चा गर्नुअघि कलाकार गुस्ताभ क्लिम्टबारे बझ्नु जरुरी छ ।
‘पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर’ को विक्रीपश्चात अस्ट्रियाली चित्रकार गुस्ताभ क्लिम्ट आधुनिक कलामा सबैभन्दा महँगो कलाकार बनेका छन् । उनलाई २०औं शताब्दीका प्रमुख कलाकारमध्ये एक मानिन्छ । १४ जुलाई, १८६२ मा भियना नजिकैको बाउमगार्टनमा जन्मेका उनको ६ फेब्रुअरी १९१८ मा भियनामै मृत्यु भएको थियो ।
उनका बुबा सुन कुँद्ने काम गर्थे । तर पनि क्लिम्टले आफ्नो प्रारम्भिक जीवन गरिबीमा बिताउनु परेको थियो । यद्यपि १४ वर्षको उमेरमा उनले भियना स्कूल अफ आर्ट्स एन्ड क्राफ्ट्समा छात्रवृत्ति पाएर पढ्न गए । त्यहाँ उनले वास्तुकला र चित्रकला सम्बन्धी तालिम लिएका थिए ।
उनको मुख्य संलग्नता ‘भियना सेसेसन’ आन्दोलनमा समेत थियो । यो आन्दोलनले परम्परागत कलात्मक मान्यताहरूविरुद्ध विद्रोह गर्दै कलात्मक स्वतन्त्रता र आर्ट नोभ्यु (नयाँ प्रकारको कला विद्रोह) शैलीमा जोड दिएको थियो ।
उनका चित्रहरूको मुख्य विषय प्रायः महिला शरीर हुन्थ्यो । उनका प्राय: काम कामुकताका लागि प्रख्यात थिए । त्यही कारण उनले आफ्नो करियरभर विवाद र आलोचनाको समेत सामना गर्नुपरेको थियो ।
द किस, पोर्ट्रेट अफ एडेल ब्लोच-बाउर प्रथम जस्ता उनका केही प्रख्यात चित्र हुन् । उनको ‘पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर’ न्युयोर्कको सोथबीज नामक लिलामीगृहमा विक्री भएको थियो । त्यस चित्रमा नाम जस्तै एलिजाबेथ लेडेररको चित्र बनाइएको छ । एलिजाबेथ लेडरर क्लिम्टका प्रमुख संरक्षकहरू अगस्ट र सेरेना लेडररको छोरी भएको बताइन्छ । एक अर्थमा उनीहरू क्लिम्टका ग्राहक पनि थिए ।
उनैको यो चित्र नोभेम्बर १८ मा न्यूयोर्कमा विक्री भएर केही कीर्तिमान बनाएको छ । जस्तो, यसअघि उनकै अर्को चित्र ‘लेडी विथ अ फ्यान’ ले दुई वर्षअघि १० करोड ८० लाख डलरमा विक्री भएर रेकर्ड बनाएको थियो । तर अहिलेको विक्रीले त्यो रेकर्ड तोडिएको छ ।
अब यो चित्रकला लियोनार्डो दा भिन्चीको ‘साल्भाटोर मुन्डी’ पछिको दोस्रो सबैभन्दा महँगो कलाकृति बनेको छ । चित्र बनाउँदा एलिजाबेथ २० वर्षकी थिइन् । उनको लामो शरीर चम्किलो, सेतो रेशमी गाउनले सजिएको देखिन्छ । जुन करिब २ मिटर अग्लो क्यानभासमा आकर्षक देखिन्छ ।
तर क्लिम्टको यो चित्र उनको अन्य प्रसिद्ध कामहरूभन्दा अलि फरक देखिन्छ । जस्तो, द किस, पोर्ट्रेट अफ एडेल ब्लोच-बाउर प्रथम चित्रहरू सुन र भव्यताले भरिएका छन् । तर यो चित्रमा गहिराइ र रहस्य बढी छ । यसको सुन्दरता लुकेको र गम्भीर प्रकारको छ ।
त्यसबारे बुझ्न चित्रको इतिहास बुझ्नु जरुरी छ । एलिजाबेथको परिवार धनी थियो । उनीहरूसँग क्लिम्टका अन्य धेरै चित्रहरू पनि थिए । तर, सन् १९३८ मा नाजीहरूले अस्ट्रिया कब्जा गरेपछि उनीहरूको सारा सम्पत्ति र चित्रहरू लुटियो । त्यही क्रममा यो चित्र पनि धेरै वर्षसम्म हराएको जस्तो अवस्थामा थियो ।
एकै पटक सन् १९८० को दशकमा यो चित्र कला बजारमा आएको थियो । त्यसबेला यो चित्र ‘एस्टी लाउडर’ कस्मेटिक्सका मालिक लियोनार्ड ए लाउडरको निजी सङ्ग्रहमा फेला परेको थियो । त्यसपछि एकैपटक अहिले मात्र यो चित्रको चर्चा सतहमा आएको हो ।
यो चित्र पहिलो विश्वयुद्ध सुरु हुनुअघि बनाइएको मानिन्छ । छ न त क्लिम्टको अन्य चित्रहरूमा जस्तै यसमा पनि सुन प्रयोग गरिएको छ । तर अत्यन्त कम मात्रामा ।
त्यसको साट्टा चम्किला र आकर्षक रङहरू प्रयोग गरिएका छन् । पृष्ठभूमिमा गाढा निलो रङ छ । एलिजाबेथको गाउनको बुट्टाहरूमा चीन/जापान तथा विज्ञानको झल्को दिइएको छ । जस्तो, शाही अधिकार देखाउने ड्र्यागन तथा शरीरका कोषिकाहरूको आकार देख्न सकिन्छ ।
क्लिम्टले चित्रमा केवल सुन्दरतासँगै विभिन्न सभ्यताको शक्ति र जीवनको उत्पत्तिलाई एकै ठाउँमा जोडेका छन् । यसकारण यो चित्रलाई जति नजिकबाट हेर्यो, उति नै धेरै अर्थहरू खुल्दै जान्छन्।त्यस्तै एलिजाबेथको वास्तविक कथा पनि यो चित्रसँग जोडिएको छ ।
त्यसबेला क्लिम्टको मृत्यु भइसकेको थियो । १९३० को दशकको अन्तिमतिर एलिजाबेथ आफ्नो यहुदी वंशका कारण नाजीहरूबाट खतरामा परिन् । अनि उनले आफ्नो ज्यान बचाउन एउटा झुटो कथा रचिन् ।
उनले आफूलाई क्लिम्टको (जो यहुदी थिएनन्)को छोरी भएको बताइन् । त्यस कुरालाई प्रमाणित गर्न उनले झुटा कागजहरू समेत बनाइन् । जुन कुरालाई नाजीहरूले सही ठाने । यसरी एलिजाबेथको ज्यान जोगियो ।
त्यसैले यो चित्र एउटा कृति मात्र नभई रूपान्तरण, पुनर्जन्म र बाँच्नका लागि गरिएको संघर्षको प्रमाण बन्न गयो । चित्रमा एलिजाबेथको गाउन र आकृतिले पुतली कोकुनबाट निस्केको जस्तो देखाउँछ ।
यो चित्र महँगोमा बिक्नुको पछाडि यसको इतिहास, रहस्य, क्लिम्टको प्रतिभा र चित्र आफैंले बोकेको जीवन र मृत्युको कथा नै हो ।
प्रतिक्रिया 4