पुष्प दुलाल
६ भदौ काठमाडौं । विस्तार गरेको कर्जा तोकिएको समयमा नउठेपछि आर्थिक वर्ष २०७०/०७१ मा १६ वाणिज्य बैंकको निस्त्रिmय कर्जाको मात्रा बढेको छ । सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष १३ बैंकको निस्क्रिय कर्जा घटेको छ भने एभरेष्ट बैंकको स्थिर रहेको छ ।
असूल हुनुपर्ने समयावधि नाघिएको एक वर्ष भएपछि खराब कर्जामा राख्नुपर्ने नियामक निकायको व्यवस्था छ । भाखा नाघेको एक वर्ष नपुगेको कर्जालाई भने निस्क्रीय कर्जामा राख्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार तोकिएको समयभन्दा ३ महिना नाघेको कर्जामा २५ प्रतिशत, ६ महिना नाघेमा ५० प्रतिशत र एक वर्ष नाघेमा शत प्रतिशत प्रोभिजनिङ (जोखिम व्यवस्था) गर्नुपर्छ ।
खराब कर्जाको मात्रामा रियलस्टेट कर्जाको आकार बढी भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अनलाइनखबरलाई बताए । रियलस्टेटमा आएको मन्दीसँगै यो क्षेत्रमा प्रवाह भएको बैकहरुको कर्जा असूलीमा कठिनाइ भएको हो ।
‘निस्क्रीय कर्जा जति कम भयो बैंकको वित्तीय स्वास्थ्य त्यति राम्रो मानिन्छ’ दाहालले भने -यद्यपी अहिलेको नेपालको बैंकिङ क्षेत्रको निस्क्रीय कर्जा बढी चाहीँ होइन ।’
राष्ट्र बैंकले कूल कर्जाको ५ प्रतिशतभन्दा बढी निस्क्रीय कर्जा हुन नहुने व्यवस्था गरेको छ । गत वर्ष ३० वाणिज्य बैंकमध्ये तीनवटा बैंकको मात्रै निस्कक्रीय कर्जा राष्ट्र बैंकले तोकेभन्दा बढी छ । किष्ट बैंक २४.१८ प्रतिशत, ग्रान्ड बैंकको १९.०९ प्रतिशत र कृषि विकास बैंकको ५.३४ प्रतिशत निस्क्रीय कर्जा छ ।
सानिमाको कम
बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अुनसार सानिमा बैंकको निस्क्रीय कर्जा सबैभन्दा कम छ । अघिल्लो वर्ष कूल कर्जाको ०.३ प्रतिशत रहेको सानिमाको निस्क्रीय कर्जा गत वर्ष ०.२ प्रतिशतमा खुम्चिएको छ । निस्क्रीय कर्जालाई आधार मानेर विश्लेषण गर्दा सानिमा बैंक सबैभन्दा उत्कृष्ट बैंक हो ।
‘कर्जा व्यवस्थापनको हाम्रो प्रणाली चुस्त छ साथै भाग्यले साथ दिएका कारण सानिमा बैंकको खराब कर्जा कम भएको हो’ सीइओ दाहालले भने ।
किष्टकाे सबैभन्दा बढी
रियलस्टेटमा ठूलो लगानी गरेका कारण किष्ट र ग्रान्ड बैंकलाई समस्या परेको हो । अघिल्लो वर्ष ६.५९ प्रतिशत रहेको किष्ट बैंकको खराब कर्जा गत वर्ष २४.१८ प्रतिशत पुगेको हो । वित्तीय अवस्था विग्रँदै गएपछि किष्ट बैंक यही भदौ ३० गतेदेखि प्रभु विकास बैंकसँग मर्ज भएर प्रभु बैंकको रुपमा कारोबार सुरु गरिसकेको छ ।
बैंक | २०७० (प्रतशितमा) | २०७१ (प्रतिशतमा) |
---|---|---|
सानिमा बैंक | ०.३ | ०.२ |
नेपाल एसबिआइ बैंक | ०.३७ | ०.२६ |
स्टान्डर्ड चार्टड बैंक | ०.७७ | ०.४८ |
एनएमबी बैंक | १.८० | ०.५५ |
एभरेष्ट बैंक | ०.६२ | ०.६२ |
लुम्बीनी | ०.८६ | ०.८८ |
जनता | ०.२३ | १.०२ |
बैंक अफ काठमाण्डू | १.५० | १.०६ |
सेञ्चुरी बैंक | ०.४९ | १.१५ |
लक्ष्मी बैंक | १.२६ | १.१५ |
एनबी बैंक | १.३३ | १.३५ |
प्राइम बैंक | २.२३ | १.५० |
इन्भेष्टमेन्ट बैंक | १.९१ | १.६८ |
सिद्धार्थ बैंक | २.३१ | १.६९ |
माछापुच्छ्रे बैंक | २.८३ | १.७८ |
सिभिल बैंक | ०.५० | १.८८ |
एनसीसी बैंक | २.६० | २.७ |
मेगा बैंक | २.२७ | २.१८ |
नविल बैंक | २.१३ | २.२३ |
एनआइसी एसिया बैंक | २.३२ | २.२५ |
ग्लोवल आइएमइ बैंक | २.२७ | २.३७ |
सिटिजन बैंक | २.१ | २.४० |
हिमालयन बैंक | २.१९ | २.५८ |
कुमारी बैंक | २.८९ | ३.१९ |
राष्ट्रिय वाणिज्य बैंक | ५.३१ | ३.९५ |
सनराइज बैंक | ३.७४ | ४.५१ |
नेपाल बैंक | ४.५३ | ४.७४ |
कृषि विकास बैंक | ५.७२ | ५.३४ |
ग्रान्ड बैंक | ३.५२ | १९.०९ |
किष्ट बैंक | ६.५९ | २४.१८ |
ग्रान्डकाे अत्यधिक बढ्याे
त्यसैगरी ग्रान्ड बैंकको खराब कर्जा अत्यधिक बढेको छ । २०७० असार मसान्तमा ३.५२ प्रतिशत रहेको खराब कर्जा २०७१ असार मसान्तमा १९.०९ प्रतिशत पुगेको छ । तत्कालीन व्यवस्थापनले जथाभावी लगानी गरेकाले बैंकको खराब कर्जाको आकार बढेको बैंकका एक सञ्चालकले बताए ।
‘नयाँ व्यवस्थापनले कर्जा असूलीमा जोड दिएपनि उठ्न सकिरहेको छैन’ उनले भने- यो आर्थिक वर्षको पुस मसान्तसम्ममा खराब कर्जामा उल्लेख्य सुधार आउने हाम्रो अपेक्षा छ ।
कुन कुनको घट्यो ?
अघिल्लो वर्षको तुलनामा गत वर्ष सानिमा, एसबीआइ, स्टान्डर्ड चार्टर्ड, एनएमबी, बैंक अफ काठमाण्डू, लक्ष्मी, प्राइम इन्भेष्टमेन्ट, सिद्धार्थ, माछापुच्छ्रे, एनसीसी, मेगा, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैंकको निस्क्रीय कर्जा घटेको छ ।
कुन-कुनको बढ्यो ?
किष्ट, ग्रान्ड, कृषि विकास, नेपाल बैंक, लुम्बिनी, जनता, सेञ्चुरी, एनबी, नबिल, सिभिल, ग्लोवल आइएमई, सिटिजन, हिमालयन, कुमारी र सनराइज बैंकको निस्क्रीय कर्जा बढेको छ ।