१७ मंसिर, जुम्ला । यस पटक पनि नेपालमा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै छ । तर धेरै अपांगता भएका व्यक्तिको जीवनमा सुधार आएको छैन । यस्तै पीडामा गुज्रिरहेको छ जुम्लाको हिमा गाउँपालिका– १ बड्की गाउँको अपांगता भएको एक दलित परिवार ।
बड्की गाउँका २५ वर्षीय रविलाल सुनार सुस्त मनस्थितिबाट पीडित एक युवक हुन् । अपांगताका कारण उनले पढ्न त सकेनन् नै बेसहारासमेत भए । अहिले उनी कहिले सडकमा त, कहिले गाउँ–गाउँमा आश्रय खोज्दै जीवन बिताइरहेका छन् ।
करिब १५–२० वर्षअघि उनका बुबाले पुर्ख्यौली जग्गा बेचेर सपरिवार तराई झरे । परिवारको जिम्मेवारी बढ्दै गएपछि तराईको जग्गा पनि बेचेर भूमिहीन बने । अनि बड्की गाउँ नै फर्किए ।
आफन्त तथा छिमेकीको सहयोगमा जीवन चलाइरहेको सुनार परिवारलाई स्थानीय मुनविर सुनारले एउटा कोठा दिए । त्यही कोठामा अपांगता भएकी आमा लाटी सुनार, रविलाल र उनका भाइ नरेन्द्र डेढ दशकदेखि बस्दै आएका थिए ।
हाल नरेन्द्र काम खोज्दै भारत गएका छन् । आमा गाउँमा नै छिमेकीको आश्रयमा छिन् भने रविलाल गाउँ–गाउँ डुल्दै खान र बस्न सहयोग खोजिरहेका छन् । अहिले उनी कालिकोटतिर रहेको परिवारले जनाएको छ । लुगा पनि सहयोगी तथा आफन्तले जुटाइदिएका छन् ।
उनीहरूको घर बनाउनका लागि पटक–पटक पहल भए पनि जग्गा उपलब्ध नहुँदा प्रयास सफल हुन सकेन । अपांग पुनर्स्थापन तथा विकास केन्द्रका पूर्वअध्यक्ष एवम् अभियानकर्ता नन्दराज धितालका अनुसार हरेक वर्ष अपांगता दिवस मनाइए पनि रविलाल जस्ता अपांगता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन आएको छैन । उनीहरुको पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको जस्तो देखिन्छ ।
स्थानीय हरिलाल सुनारले पनि रविलाल र उनकी आमाको बेसहारा जीवनलाई देखेर आफूहरू चिन्तित भएको बताए ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने जमिन उपलब्ध नहुँदा उनीहरुका लागि घर बनाइदिन नसकेको बताए । ‘जमिन उपलब्ध हुनेवित्तिकै हामी घर निर्माणलाई प्राथमिकता दिनेछौं,’ अध्यक्ष शाहीले भने, ‘हामी जमिनको खोजीमा छौं ।’ उनले सबैमा जमिन खोज्ने अभियानमा सहभागी हुन आह्वान पनि गरे ।
रविलाल सुनार परिवारको यो कथा केवल एक व्यक्तिको मात्र होइन, अपांगता भएका लाखौं मानवताको आवाज हो, जहाँ अधिकार र सम्मानभन्दा अघि जीवन निर्वाहको समस्या खड्किरहेको छ । यो अन्तर्राष्ट्रिय अपांग दिवसले कुनै पनि अपांगता भएका व्यक्ति बसोबासविना बिरानो नहोस्, शिक्षा र स्वास्थ्य जस्ता आधारभूति आवश्यकताबाट वञ्चित नहोस् ।
प्रतिक्रिया 4