+
+
Shares

चुनावबाटै संविधानलाई लिकमा फर्काउनु उत्तम विकल्प : पोखरेल समूह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:४२

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तोकिएको समयमा चुनाव सम्पन्न गरेर संविधानलाई लिकमा फर्काउनु नै उत्तम विकल्प भएको बताएका छन् ।

सोमबार पार्टी मुख्यालयमा बुझाइएको ईश्वर समूहले महाधिवेशनका लागि तयार पारेको अवधारणामा तोकिएको समयमा चुनाव हुन नसकेमा मात्र संसद पुनर्स्थापनाको मागमा जानुपर्ने मत राखिएको छ ।

‘देशलाई वैकल्पिक सरकार दिने अन्य अवस्थाहरू विद्यमान नहुँदा संविधानलाई कम क्षतिमा जोगाइराख्ने एउटा आपतकालिन विकल्प थियो,’ अवधारणापत्रमा भनिएको छ, ‘त्यसैले यसलाई तोकिएको समयमा चुनाव गर्न लगाएर बिदा गर्नु र नयाँ जनादेशसहितको संसदबाट संवैधानिक प्रक्रियालाई लिकमा ल्याउनु नै अहिलेको उत्तम उपाय हो।’

उनले अगाडि थपेका छन्, ‘हाम्रो पार्टी लोकतान्त्रिक पद्धतिमा आस्था राख्छ । प्रतिस्पर्धामार्फत् श्रेष्ठतामा विश्वास गर्छ । निर्वाचनबाटै राजनीतिक निकासको विकल्प खोज्ने कुरामा हामी विश्वास गर्छौं ।’

पोखरेलको प्रस्ताव छ, ‘त्यसैले पनि यतिबेला हामीसँग निर्वाचनमा जानु, नयाँ जनादेशसहितको संसद् स्थापना गर्नु र त्यसका माध्यमबाट विद्यमान संवैधानिक समस्या हल गर्दै बरालिएको राजनीतिक कोर्ष करेक्सन गर्नुको विकल्प छैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले अन्तरिम सरकार गठन र संसद् विघटनको अदालतमा भइरहेको न्यायिक परीक्षणलाई पनि स्वीकारेर जानुपर्ने बताएका छन् ।

‘यसैगरी कुनै विशिष्ट परिस्थितिमा संसदको निर्वाचन हुन नसकेको अवस्थामा राजनीतिक बाध्यताका कारणले पनि प्रतिनिधिसभा पुनर्स्थापनातिर जानुपर्ने हुन्छ,’ अवधारणापत्रमा भनिएको छ ।

यसरी पुनर्स्थापनामा जाँदा त्यस्तो पुनर्स्थापित संसदले आवश्यक परेमा सरकार निर्माणसम्बन्धी संविधानको धारा ७६ मा संशोधन गरी जेनजीसमेतको सहभागितामा सर्वदलीय सरकार बनाउने, सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने सम्बन्धमा थप कानुनी र संरचनागत व्यवस्था गर्ने, अन्य कतिपय विषयमा सहमतिका आधारमा संविधान संशोधन गरी छिटोभन्दा छिटो निर्वाचनमा जाने कुराको सुनिश्चितता गर्नुपर्ने उनले अवधारणापत्रमा उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?