News Summary
Generated by OK AI. Editorially reviewed.- ककनी गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा 'आह्वान' नामक सडक नाटक प्रदर्शन गरिएको छ।
- नाटकले घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानसिक यातना र साइबर बुलिङ समेटेर हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
- उपाध्यक्ष मिठ्ठुमाया तामाङले भने, 'कला समाज परिवर्तनको सशक्त माध्यम हो' र नाटकले हिंसाविरुद्ध एकजुट हुन प्रेरित गर्ने अपेक्षा राखिएको छ।
ककनी (नुवाकोट) । लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।
नाटक मञ्चनको उद्देश्य विद्यालय तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नु रहेको जनाइएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्य र आदिइत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, ककनीलाई लक्षित गरी प्रदर्शन गरिएको थियो ।
ककनी गाउँपालिका उपाध्यक्ष मिठ्ठुमाया तामाङले कलाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सामथ्र्यमा जोड दिँदै भनिन्, ‘कला समाज परिवर्तनको सशक्त माध्यम हो । १६ दिने अभियानको मौकामा हामीले विद्यालय र समुदायलाई लक्षित गरी ‘हिंसा सहने होइन, आवाज उठाउने हो’ भन्ने मूल सन्देश रहेको नाटक देखाएका छौँ ।’
नाटकले सबैलाई हिंसाविरुद्ध एकजुट हुन प्रेरित गरोस् भन्ने अपेक्षा रहेको उनले बताइन् । ५० मिनेट लामो सडक नाटकले समाजमा जरा गाडेका लैङ्गिक हिंसाका विभिन्न रूपलाई सशक्त र मार्मिक कलात्मक शैलीमा उजागर गरेको छ ।
नाटकमा घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानसिक यातना र डिजिटल युगमा बढ्दै गएको साइबर बुलिङजस्ता संवेदनशील विषयवस्तुलाई समेटिएको छ ।
महेन्द्र मावि, चतुरालेका प्रधानाध्यापक शशीकुमार थपलियाले सडक नाटकको प्रभावकारिताको प्रशंसा गर्दै भने, “सडक नाटक एकै पटक धेरै मानिसलाई सन्देश पुर्याउने र भावनात्मक रूपमा जोड्ने सशक्त माध्यम हो । यस्ता चेतनामूलक कार्यक्रमले विद्यार्थीको सामाजिक संवेदनशीलता बढाउन मद्दत गर्छ ।’
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कविता काफ्लेले चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, “लैङ्गिक हिंसाको अन्त्यका लागि केवल कानुनको कार्यान्वयन मात्र पर्याप्त हुँदैन, सामाजिक चेतनाको स्तर उकास्नु पनि उत्तिकै जरुरी छ ।’
वडा ४ का वडाअध्यक्ष सोनाम लामाले नाटकले समुदायका सबै सदस्यलाई हिंसा सहने होइन, हिंसाविरुद्ध एकजुट हुन र सकारात्मक सामाजिक परिवर्तनका लागि एकसाथ काम गर्न प्रेरित गरेको बताए ।
शिक्षिक लक्ष्मी अधिकारीले सडक नाटक प्रदर्शनले विद्यार्थी र शिक्षकमा गहिरो प्रभाव पारेको बताइन् । स्थानीय शिक्षक एवं कवि सन्तोष सरिलले सडक नाटकले लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपहरू (घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, साइबर बुलिङ आदि) बारे विद्यार्थी र स्थानीय समुदायमा सचेतनाका लागि प्रभावकारी रहेको बताए ।
नाटकमा पुरु लम्सालको लेखन तथा निर्देशन छ । सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अञ्जना दुलाल, अन्जु खड्का र सन्ध्या नेपालको अभिनय छ ।
प्रतिक्रिया 4