५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुन:स्थापना गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनर्स्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिए ।
‘चुनाव २१ गतेको छ । यहाँ सुरक्षा व्यवस्थाको अवस्था हेर्यो जस्तै आजभोलि नै के होला भन्ने खालको असुरक्षाको महशुस भइरहेको छ । सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु उदाहरणेको छ, त्यो बोलेर मात्रै होइन, गरेर देखाउनु पर्यो । ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै राम्रो हो । तर कथं कदाचित विभिन्न कारणबाट निर्वाचन नभएको खण्डमा संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ । अब हामी निर्वाचनको लागि तयार हुनुपर्छ,’ उनले भने ।
वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेको उनको भनाइ थियो । पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आमनिर्वाचन जस्तै पार्टीभित्रको निर्वाचन हो । आम निर्वाचनको लागि मतदाता नामावली अपडेट गरेको हामीलाई थाहा छ नी, मतदाता नामावलीको अपडेट पुरा भएपछि न निर्वाचनको प्रक्रिया शुरु हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन हुनको लागि पनि क्रियाशील वितरण गर्ने प्रक्रियालाई कांग्रेसको विधानअनुसार हुनुपर्छ,’ सिंहले भने ।
महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न समेत उनले आग्र गरे । तर महाधिवेशन विधिअनुसार हुनुपर्ने उनको भनाइ थियो ।
‘महाधिवेशन किन नहुने ? सर्वसम्मत रुपमा कार्यतालिका पारित भएको छ । यसको प्रक्रिया पूरा गर्नको लागि विधि पूरा गर्नुपर्छ । कसैलाई हतार भयो भन्दैमा विधि प्रक्रिया नै नपुर्याईविधि मिचेर महाधिवेशनलाई अगाडी बढाउने भन्ने चाहीँ हुँदैन,’ सिंहले भने ।
प्रतिक्रिया 4