६ पुस, तनहुँ । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । २६ वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् ।
उनी आफ्नो शरीरलाई आफैं नियन्त्रण गर्न सक्दैनन् । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ । कालीमायाले झलकलाई देखाउँदै भनिन्, ‘देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ? ‘
उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।
कालीमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु पर्यो । उनले भनिन्, ‘श्रीमान्ले अकल्पनीय रुपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु ।’
केही समयअघि एक संस्थाले झलकका लागि ह्विलचेयर उपलब्ध गरायो । तर यो सहायताले पनि कालीमायाको आशामा पूरै उज्यालो थप्न सकेन । उनले भनिन्, ‘ह्विलचेयरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्विलचेयर घरको कुनामा थन्किएको छ ।’
कालीमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, ‘जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।’
झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन् ।
प्रतिक्रिया 4