+
+
Shares

भारतीय झन्डा ओढेर कराँते खेल्ने सुशनको नेपाल प्रेम

उनी भारतको प्रतिनिधित्व गर्दै टर्कीको इस्तानबुलमा भइरहेको वर्ल्ड च्याम्पियनसिप खेल्न जाँदै थिए । कर्मचारीले अकास्मत प्रश्न तेर्साए- ‘आप नेपाल से है ?’

सापेक्ष सापेक्ष
२०८२ पुष १७ गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुशन थापाले भारतीय नागरिक भएर पनि नेपाली भाषा र संस्कृतिसँग गहिरो आत्मीयता राख्दै कराँतेमा अन्तर्राष्ट्रिय सफलता हासिल गरे।
  • सन् २०१० मा टर्कीको इस्तानबुलमा भएको डब्लु.के.एफ. क्लब्स वर्ल्ड कपमा सुशनले भारतको प्रतिनिधित्व गरे।
  • सन् २०१४ मा उनले 'सुशान कराटे-डो एकेडेमी' स्थापना गरी नयाँ पुस्तालाई कराँते सिकाउने काम सुरु गरे।

एउटा मान्छेका लागि राष्ट्र र भाषा संस्कृतिमध्ये कुन बढी नजिक हुन्छ ? नागरिकताले उसको सीमा रोक्छ कि रोक्दैन ? आफ्नो समुदाय प्यारो हुन्छन् कि राष्ट्रको झन्डा ? पहिचान र आत्मीयताको द्वन्द्वमा ऊ कसरी फस्छ ? भूगोल र सपनाको दूरीको मापन उसले कसरी गर्छ ?

यस्तै प्रश्नहरू बोकेर उनी हिँडिरहेझैं लाग्छ । हिँडिरहँदा के-के भोगे, के-के महसुस गरे, के-के देखे ? उनले फुर्सदमा बसेर लेखाजोखा गरेकै छैनन् । सायद गर्दैनन् पनि । उनी जसरी, जुन रूपमा हुर्के/बढे । जेमा हिँडे, जेमा चढे– तिनले उनलाई हिसाब गर्न दिने पनि छैन सायद ।

तर, जब उनी ऐकान्तिक हुन्छन् भाषाको रूपमा, जब उनी आफ्नैहरूको भीडमा हुन्छन्– तब पनि हिसाब गरेर बस्दैनन् ।

000

कक्षा ९ मा पढ्दै गर्दा उनको उमेर १३-१४ वर्षको थियो । उनी फुर्सदमा फिल्म हेर्थे । विशेषगरी ‘ब्रुस ली’को । आफूलाई ‘ब्रुस ली’ ठान्ने कल्पना नै सही, उनी फुरुङ्ग हुन्थे । दङ्ग फर्थे । र, गाउँघरमा किक ब्याग हिर्काउँदै हिँड्थे ।

उनी आफ्नो स्मृतिको हिरोजस्तै बन्न चाहन्थे । तर, त्यहाँसम्म पुग्ने बाटोबारे अनभिज्ञ थिए । सिकाउने, बाटो देखाउने कोही पनि थिएनन् ।

कहाँ पुग्नुपर्छ भन्ने उनलाई थाहा थियो । कसरी ? उनीसँग उत्तर थिएन ।

हेर्दा उनी पूर्वतिरका नेपाली जस्तै देखिन्छन् । सायद शारीरिक बनावटमै झुक्किएर कर्मचारीले त्यस्ता प्रश्न गरेका हुन सक्छन् । तर, सत्य यो हो नि उनी नेपालीभाषी हुन् ।

अनि उनी आफ्नो ठाउँ दार्जीलिङदेखि १५०० किलोमिटर टाढा रहेको नयाँ दिल्ली जाँदै थिए, भुटानी साथी उगेन वाङचुकको साथ लागेर । घरकाले पनि उनलाई ‘नजा’ भन्न सकेनन् ।

त्यसबेला वाङचुक तेक्वान्दो खेल्थे । तर उनलाई पनि कराँते खेल्नु थियो । दुवैले आफ्नो इलाकामा कसैले कराते सिकाउँछन् कि भनेर खोजेका पनि थिए । नभेटेपछि दिल्लीमा कराँते सिकाउने ठाउँ वाङचुकले नै फेला पारेका थिए।

त्यसरी उनीहरू नयाँ दिल्लीमा रातको १ बजेतिर पुगे । थकित शरीरलाई विश्राम दिए । र एकाबिहानै बोलाइएको एउटा इन्डोर हलमा पुगे ।

त्यहाँ सेतो ड्रेस र ब्ल्याक बेल्ट लगाएका सयौं थिए । त्यस्तो दृश्य उनीहरूले त्यसअघि कहिल्यै देखेका थिएनन् । करातेको तालिम लिँदा आफूहरूले पनि त्यस्तै ड्रेस लगाउनुपर्छ भन्ने उनीहरूमा चेतना पनि थिएन।

भाषाको पनि समस्या थियो। तर रहरलाई कसले रोक्न सक्छ ? उनीहरूले ड्रेसको व्यवस्थापन गरे । र जीवनमा पहिलो पटक कराँते खेलाडीझैं देखिए ।

त्यसयता उनी अर्थात् सुशन थापा, कराँतेको दुनियाँमा छाए ।

प्रशिक्षार्थी हुँदै खेलाडी भए । खेलाडी हुँदै प्रशिक्षक भए । उनले सन् २००८ मा ब्ल्याक बेल्ट फर्स्ट डान हासिल गरेपछि कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । उनले नेपाल, भुटान, श्रीलंका र दुबई जस्ता देशमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण र रजत पदकहरू समेत जिते । तर, सन् २०१० मा टर्कीको इस्तानबुलमा आयोजित ‘डब्लु.के.एफ. क्लब्स वर्ल्ड कप’ मा भारतको प्रतिनिधित्व गर्नु उनको करियरको एउटा ठूलो उपलब्धि थियो ।

पछि खेलाडीको रूपमा सफलता प्राप्त गरेपछि सुशनले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने लक्ष्यका साथ सन् २०१४ मा ‘सुशान कराटे-डो एकेडेमी’ स्थापना गरे, आफैं ठाउँमा । हाल उनी ५औँ डान ब्ल्याक बेल्ट हुनुका साथै विश्व कराते महासंघ र एसियन कराते महासंघबाट मान्यता प्राप्त रेफ्री र प्रशिक्षक समेत हुन् । उनले अहिलेसम्म ७० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

000

‘आप नेपाल से है ?’

इन्डियन ट्र्याक सुट र पासपोर्ट लिएर इमिग्रेसनमा उभिरहेका सुशनलाई कर्मचारीले अकास्मत प्रश्न तेर्साए । उनी भारतको प्रतिनिधित्व गर्दै टर्कीको इस्तानबुलमा भइरहेको वर्ल्ड च्याम्पियनसिप खेल्न जाँदै थिए । उनीसँगै भारतका अन्य खेलाडी पनि थिए ।

हेर्दा उनी पूर्वतिरका नेपाली जस्तै देखिन्छन् । सायद शारीरिक बनावटमै झुक्किएर कर्मचारीले त्यस्ता प्रश्न गरेका हुन सक्छन् । तर, सत्य यो हो नि उनी नेपालीभाषी हुन् । अहिले कराँतेका धेरैजसो साथीहरू नेपाली नै छन् । उनको विवाह पनि नेपालीसँगै भयो । पहिचान र जरा नेपाली भए पनि उनी भारतीय नागरिक हुन पुगे । र, उनले भारतको झन्डा लिएर नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा सहभागी बने ।

नेपाली कराँते वृत्तसँग भने उनको हिमचिम भुटानमा अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा भइरहँदा भएको थियो । त्यसबेला नेपालबाट १३ जना गएका थिए । उनीहरूसँग सुशनको हिमचिम बाक्लै भयो । भुटानमा नेपाली भाषी भेट्दा नेपालबाट गएका अन्य अफिसियलहरूलाई पनि सजिलो भयो ।

तर, त्यसभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा उनी दिनभर नेपाली टिमसँगै समय बिताउने गर्थे । भलै उनी भारतीय टोलीको सदस्य थिए । उनको त्यस्तो गतिविधिले गर्दा भारतीय टोलीका सदस्यहरूले उनलाई ‘कब्स देश छोड दिया?’ भनेर समेत जिस्क्याउने गर्थे । तर उनी त भाषा र संस्कृति मिल्दा मानिसहरूबीच हुने गहिरो आत्मीयतामा लीन थिए ।

000

जुन खेलबाट उनले आफ्नो पहिचान बनाउन सफल भए, त्यो खेल उनको ठाउँमा सुरु गर्ने अग्रजहरू नेपाली नै थिए । उनको गाउँ-ठाउँ नै नेपालीले भरिएको थियो । दार्जीलिङका धेरैले नेपालमा राष्ट्रिय च्याम्पियनसिप खेल्थे भन्ने पनि उनलाई थाहा थियो ।

तर, एक भारतीय नागरिक भएका नाताले राष्ट्रलाई उनले गद्दारी गर्न सकेनन् । नियम-कानुन पालना गर्दै उनले भारतबाट नै खेले । उनी आफैं भाषाले मात्र नेपालसँग नजिक रहेको, तर नागरिकताको हिसाबले भारतीय भएको सुनाउँछन् । त्यही कारण कहिले पनि नेपालबाट खेल्नुपर्थ्यो भन्ने उनलाई महसुस नै भएन ।

अब त उनी एरिनाभित्र परेर कराँते खेल्न सक्दैनन् । उनको भूमिका परिवर्तन भइसकेको छ । उनी अब सिकाउने, खेलाडीहरूले सही खेले/खेलेनन् निर्णय गर्ने ठाउँमा छन्।

तर, अझैं पनि उनलाई नयाँ दिल्लीको त्यो क्षण सम्झना आइरहन्छ- पाँच दिनको तालिममा हरेक खेलपश्चात उनीहरूलाई अनुशासनबद्ध तरिकाले युनिफर्मलाई पट्याउन सिकाइएको थियो । त्यो कुरा यसरी सिकाइएको थियो कि आजपर्यन्त उनलाई सम्झना छ ।

अहिले पनि, जति नै ढिलो किन नहोस्, नयाँ खेलाडीहरूलाई तालिम दिँदा युनिफपर्मलाई एकदम सही तरिकाले पट्याउन सकिकाउँछन् । आफू पनि त्यसै गर्छन् ।
यसरी कराँतेलाई जीवन दिँदा कराँतेले आफूलाई उपहारको रूपमा नियम, अनुशासन दिएको उनको भनाइ छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?