+
+
Shares

प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन

बन्द सूची तयार पार्दा शीर्ष नेतृत्वले मसँग कुनै सल्लाह गरेको थिएन । मेरो नाम काटिँदै छ भन्ने जानकारी पनि मलाई दिइएको थिएन।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १०:३२
Listen News
0:00
0:30
🔊

वैकल्पिक शक्तिको केन्द्र मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूची यतिबेला विवादित छ । उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको रास्वपाले त्यसबाट निर्वाचित भएकालाई पाखा लगाएर सेलीब्रेटीहरुलाई स्थान दिएको आरोप छ । पुराना दलमा झैँ एलीटकै कब्जामा समानुपातिक सूची पर्‍यो भन्दै प्रश्न उठिरहेका छन् ।

यसबाटै पीडित पात्र हुन्, विजय जैरु । उनी रास्वपाको प्राइमरी इलेक्सनमा दलित क्लस्टरमा १३ हजार १४३ मत ल्याएर शीर्ष स्थानमा निर्वाचित भए । तर, समानुपातिकको बन्दसूची हेर्दा उनको नाम कतै देखिँदैन । यो कसरी भयो ? प्राइमरी इलेक्सनबाटै निर्वाचित भएकाहरू पाखा लाग्ने स्थिति रास्वपामा किन बन्यो ? यसबारे लिस्टबाट बाहिरिएका निर्वाचितहरू के भन्छन् ? यिनै विषयमा रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका विजय जैरुसँग अनलाइनखबरका कौशल काफ्लेले कुराकानी गरेका छन् ।

तपाईंले प्राइमरी इलेक्सनमा दलित क्लस्टरमा सबैभन्दा धेरै, १३ हजारभन्दा बढी मत ल्याउनुभयो । सबैभन्दा पहिलो हुनुभयो । तर अहिले सार्वजनिक भएको बन्द सूचीमा तपाईंको नाम त कतै छैन नि !

रास्वपाले परम्परागत राजनीतिक दलहरूको शैलीभन्दा फरक अभ्यास गर्न खोजेको पक्कै हो । प्राइमरी इलेक्सन पार्टी भित्रका सदस्यहरूको मात्र भएको थियो । तर, पछि अन्य वैकल्पिक शक्ति र नयाँ उदयमान नेताहरूसँग पार्टी एकता गर्नुपर्ने अवस्था आयो । एकताका क्रममा अन्य समूहका मान्छेहरूलाई पनि समेट्नुपर्ने बाध्यता भयो । यसबारे हिजो पार्टी सभापति रवि लामिछानेले पनि बोल्नुभएको छ । उहाँले बन्द सूची बुझाउने अन्तिम दिन भएको र एकताको काम पनि सँगै गर्नुपर्ने भएकाले हतारमा केही प्राविधिक त्रुटीहरू भएको स्वीकार गर्नुभएको छ । उहाँले ती त्रुटीहरूलाई सच्याउन पहल गरिने आश्वासन दिनुभएको छ ।

तर, तपाईं त आफ्नो क्लस्टरमा शीर्ष स्थानमा हुनुहुन्थ्यो ।अन्य वैकल्पिक शक्ति थपिएर नाम नै हटाउनुपर्दा तलकाहरूको हटाउन सकिन्थ्यो होला। यसरी त आन्तरिक चुनावको के मतलब भयो र ?

मेरो क्लस्टरमा मसँगै प्रतिस्पर्धागर्ने अन्य साथीहरू पनि हुनुहुन्थ्यो । जस्तै – ८ हजार मत ल्याउने प्रकाश चन्द्र परियार र ११ हजार मत ल्याउने डा. रूपक घिमिरे । डा. रूपक घिमिरे सातौँ नम्बरमा हुनुहुन्थ्यो । तर अहिलेको सूचीमा उहाँ एक नम्बरमा आउनुभएको छ । उहाँ कसरी एक नम्बरमा पर्नुभयो भन्ने मलाई थाहा छैन, किनभने बन्द सूची तयार पार्दा शीर्ष नेतृत्वले मसँग कुनै सल्लाह गरेको थिएन । मेरो नाम काटिँदै छ भन्ने जानकारी पनि मलाई दिइएको थिएन।

पार्टीको आन्तरिक चुनावमा राम्रो मत ल्याएको तपाईंले जब अन्तिम सूचीमा आफ्नो नाम देख्नुभएन, कस्तो महसुस भयो ? मन दुखेन ?

मैले यसलाई सकारात्मक रूपमा लिने प्रयास गरेको छु । पार्टी एकताको क्रममा नेतृत्व हतारमा भएको हुन सक्छ र त्यही कारणले समस्या आएको होला । हामी विधिको शासन मान्ने र फरक राजनीतिक संस्कार बोकेर जन्मेको पार्टी हौँ । नेतृत्वले यो त्रुटी सच्याउने आश्वासन दिएको छ । केही आशा अझै जीवित छ ।

रास्वपाले नेपाली राजनीतिमा नै पहिलो पटक गरेको यो ‘प्राइमरी इलेक्सन’ खासमा के हो ? यसले कसरी नेतृत्व छान्छ ? आम पाठकलाई बुझाइदिनुस् न ।

प्राइमरी इलेक्सनको मतलाई मात्र अन्तिम मानिँदैन । यसको भार ५० प्रतिशत मात्र हुन्छ । बाँकी ५० प्रतिशतका लागि राजनीतिक सामिप्य ९एयष्तिष्अब िएचयहष्mष्तथ०, लिडरसिप एकेडेमीको अंक, समावेशिताको आधार र पार्टी सचिवालयको निर्णयलाई मापदण्ड बनाइएको थियो । प्राइमरी भोटिङको मत सार्वजनिक गरिए पनि अरू मापदण्डको अंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यसैले पनि फेरी भनेँ, अहिले हतारमा बन्द सूची बुझाउनुपर्ने र एकताको प्रक्रिया टुङ्ग्याउनुपर्ने भएकाले यो अलमल भएको हो।

तपाईंहरुको प्राइमरी चुनावमा भोट हाल्ने अधिकार कुन तहको कार्याकर्तालाई हुन्छ ?

देश र विदेशमा रहेका रास्वपाका सम्पूर्ण सक्रिय सदस्यहरूले पार्टीको ‘घन्टी एप’ मार्फत मतदान गर्न पाउँछन् । यसमा क्लस्टर अनुसार निश्चित मापदण्ड तोकिएको हुन्छ र सोही अनुसार सदस्यहरूले आफूलाई मन पर्ने उम्मेदवार छनोट गर्छन् ।

उम्मेदवार बन्नका लागि चाहिँ कस्ता योग्यताहरू चाहिन्छन् ?

यसका लागि कडा नियमहरू छन् । देशद्रोह नगरेको, फौजदारी वा क्रिमिनल मुद्दा नलागेको हुनुपर्छ । यदि कुनै मुद्दामा सफाइ पाएको हो भने पनि ३ महिना पुगिसकेको हुनुपर्छ । त्यस्तै, बलात्कारको मुद्दा नलागेको र विदेशी नागरिकता त्यागेको कम्तिमा ३ महिना पुगेको नेपाली नागरिक हुनुपर्ने अनिवार्य व्यवस्था छ।

समानुपातिक उम्मेदवार बन्न ५० हजार रुपैयाँ बुझाउनुपर्ने नियम पनि छ हैन ? यो त खास पैसा नहुने, समाजको पिँधमा रहेकाहरुलाई अगाडि सार्न ल्याइएको संरचना हो भन्दै आलोचना भयो । यसबारे चाहिँ के भन्नुहुन्छ ?

पार्टी सञ्चालनका लागि स्रोत त चाहिन्छ । रास्वपाले अरू पार्टी जस्तो ठूला व्यवसायी वा अज्ञात स्रोतबाट चन्दा लिँदैन, त्यसैले यो प्रक्रिया पारदर्शी छ । सामान्यतया सांसद बन्न चाहने व्यक्तिको ५० हजार तिर्न सक्ने हैसियत हुन्छ भन्ने अनुमान हो । तर, यदि कोही आर्थिक रूपमा साच्चै विपन्न छ भने उसले वडा कार्यालयबाट सिफारिस लिएर आएमा शुल्क मिनाहा हुने व्यवस्था पनि गरिएको थियो। यसपटक पनि धेरैले यो सुविधा लिएका छन् ।

अर्कोतर्फ, समानुपातिक सूचिमा नाम राख्दा तपाईंको सभापतिले ५० प्रतिशत मत र बाँकी ५० प्रतिशत योगदानलाई हेरिन्छ भन्नुभयो। मतमा त योग्य हुनुभयो । पार्टीभित्रको भूमिकामा योगदान नपुर्याएको भन्ने बुझायो नि । के तपाईंको पार्टीमा योगदान पुगेको थिएन त ?

म पार्टी स्थापनाको पहिलो दिन, २०७९ असार ७ गतेदेखि नै संलग्न छु । मैले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगरसभापति भएर संगठन निर्माणको काम सुरु गरेँ । सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पार्टीको संगठन विस्तार र उत्कृष्ट नतिजा ल्याउन मेरो अहम भूमिका छ । त्यसैले योगदान पुगेन भन्ने कुरा म स्वीकार गर्दिनँ।

सुदूरपश्चिम र कर्णालीसहितका दलित समुदायले तपाईंलाई विश्वास गरेर भोट दिएका थिए। अब तपाईंको नामै नभएपछि उनीहरूले रास्वपालाई किन विश्वास गर्ने ?

सुदूरपश्चिममा दलितको जनसंख्या ९.१४ प्रतिशत छ । यदि पार्टीले यस्ता पछाडि पारिएका र उत्पीडित समुदायको नेतृत्वलाई उचित स्थान दिएन भने भोलि जनतासँग भोट माग्ने आधार हुँदैन । हाम्रो पार्टी‘समतामूलक समावेशिता’को सिद्धान्तमा चल्छ । नेतृत्वले यो कुरा पक्कै बुझ्नुहुनेछ र त्रुटी सच्याउनुहुनेछ भन्ने मेरो विश्वास छ । बालेन शाह र कुलमान घिसिङ जस्ता शक्तिहरूसँगको एकताको कुरा मिलाउँदा समय कम भएर यो समस्या आएको हो भनेर अब जनतालाई पनि बुझाउनुपर्छ ।

यदि सूची सच्चिएन भने तपाईं के गर्नुहुन्छ ? के पार्टी छोड्नुहुन्छ ?

म कतै विचलित हुन्नँ । म रास्वपाभित्रै रहेर काम गर्छु । यदि समानुपातिकमा परिनँ भने पनि म प्रत्यक्ष निर्वाचनमा लड्न सक्छु । विधिको शासन मान्नेहरूका लागि पद नै सबै थोक होइन, तर न्याय हुनुपर्छ भन्ने मेरो अडान हो।

सुसंस्कृत राजनीतिको अपेक्षा गरेर नै तपाईं नयाँ दलमा सुरुवातदेखि नै आबद्ध भएर लाग्नुभयो । तपाईंले पुराना दलले अपनाइरहेको शैली राजनीति हैन भनेर बारबार भन्नुहुन्छ । खासमा राजनीति के रहेछ ?

राजनीति भनेको राष्ट्र सञ्चालन गर्ने र समाज बनाउने नीति हो । म पेशाले स्वास्थ्यकर्मी हुँ र विगत ८–९ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेँ । कोरोना कालपछि सामाजिक कार्यमा सक्रिय भएँ । देशका विकट गाउँहरूमा शिक्षा र स्वास्थ्यको अवस्था निकै दयनीय छ। मानिसहरू अहिले पनि तुइन तरेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । यी आधारभूत समस्या समाधान गर्न र दबिएका आवाजहरूलाई संसदमा पु‍र्‍याउन म राजनीतिमा आएको हुँ। मेरो लागि राजनीति यही हो ।

अन्त्यमा, पहिल्यै गाँसमा ढुंगा चखाएको रास्वपालाई नागरिकले किन पत्याउने ? अरुभन्दा रास्वपा कसरी फरक छ ?

हामी देशको प्रशासनिक संरचनामा सुधार ल्याउन चाहन्छौँ । अहिले नेपालमा पानीजहाज छैन तर पानीजहाजको कार्यालय र कर्मचारी छन् । रेल छैन तर रेल विभागमा मान्छेहरू तलब खाएर बसेका छन् । यस्ता काम नलाग्ने र खर्चिला संरचनाहरू हामी हटाउँछौँ । हाम्रो पार्टीले विज्ञहरूको टोलीमार्फत देशको मुहार फेर्ने ‘ब्लुप्रिन्ट’ तयार पारिरहेको छ।

रास्वपा अन्य पुराना दलहरूभन्दा फरक छ । सानातिना त्रुटिहरू भए पनि हामी त्यसलाई सच्याएर अघि बढ्छौँ । रास्वपाले लक्षित र उत्पीडित वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नेछ । हामी भ्रष्टाचारमुक्त देश र सुशासनको ग्यारेन्टी गर्छौँ । सुदूरपश्चिम र कर्णालीका जनतालाई न्याय दिलाउन म सधैँ लडिरहनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?