+
+
Shares
रविसँग प्रश्नोत्तर :

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

हामीले हेर्‍यौं, कतिपयको पहिले नै नाम लेखिएको हुँदा जस्तो पठाउनुभयो, त्यस्तै गएको हुनसक्छ । मैले चेक गरें, चितवनका ४ देखि ६ जना छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष १६ गते २१:०८

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हट्नुपर्‍यो । सूर्यदर्शन सहकारी ठगीकै विषयले रविको कारागार यात्रासमेत सुरु भयो ।

२०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका रवि पुस २५ गते सहकारी ठगी प्रकरणमा ६५ लाख रूपैयाँ बझाएर धरौटी रिहा भए । तर ग्यालेक्सी मिडियामार्फत सहकारीको रकम हिनामिना गरेको आरोप रविलाई लाग्दै गयो ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुस ४ गते बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएपछि रविले नेपालको राजनीतिमा हलचल ल्याइरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै तारिख बुझ्न बुधबार पोखरा आइपुगेका रविले राजनीतिक भेटघाटसमेत गरे । उनले प्रतिशोध साध्ने पुराना नेताहरूलाई जेनजी आन्दोलनको जगमा पाखा लगाउने उद्घोष गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिले देशमै राजनीतिक तरंग ल्यायो । उनीहरूको मिलनले ठूला र परम्परागत दलहरूलाई पनि नजिक्यायो ।

रवि–बालेनसँगै सरकारका भौतिक पूर्वाधार, ऊर्जा मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीलाई पनि मिल्न दबाब दियो । जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङकै जोडबलमा कुलमानसँग पनि ७ बुँदे सहमति भएपछि पुराना दलहरू झस्किएका थिए ।

तर, निर्वाचन आयोगमा सोमबार समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसदका उम्मेदवारहरुको बन्द सूची बुझाएको रास्वपाले त्यसपछि आलोचना खेपिरहेको छ ।

समानुपातिकको कोटामा राजनीतिक शक्ति र सत्ता आर्जनको माध्यम बनाइएको भन्दै रास्वपाको आलोचना भइरहेको छ । चर्चित सेलिब्रेटी तथा कलाकारहरु नै सम्बन्धित समुदाय र भुँइतहका आवाज लिएर जाने प्रतिनिधिहरूको मर्मलाई चिरहरण गरेको आरोपसमेत लागिरहेको छ ।

सामनुपातिकतर्फको बन्द सूचीमा परेका उम्मेदवार, बालेन–कुलमानसँगको एकता, अबको चुनाव र त्यसको अंकगणितका विषयमा रास्वपा सभापति रवि लामिछानेले पोखरामा पत्रकारसँग प्रश्नोत्तर गरे । प्रस्तुत छ, रविसँग भएको प्रश्नोत्तर–

समानुपातिक प्रणालीको मर्म र भावनाविपरीत चर्चामा रहेका र धनाढ्यहरूलाई समावेश गरेर पठाइएपछि आलोचना भइरहेको छ, किन यस्तो गरियो ?

हामी नयाँहरू एक ठाउँमा उभिएर जाने निर्णय अलिकति छोटो समयमा भयो । जसका कारण तयारीमा समय नपुगेको हो । सार्वजनिक चासोमा आउनुभन्दा अगाडि नै यसलाई रिभ्यु गर्ने समय हुन्छ भन्ने थियो । किनभने कुलमानजीसँग त हामीले यता सूची बनाउनु छ, यता सहमति गर्दै थियौं । रास्वपासँग विधि छ, विधिभन्दा बाहिर कुनै हालतमा जाँदैन ।

परिवारवादमा रास्वपा स्पष्ट छ, विधानले नै दिँदैन । कथंकदाचित यी सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टू रिकलको व्यवस्था विधानले गरेको छ । यसको अभ्यास अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा गरेकै हौं । समयले गर्दा अझै २ दिन अरू पनि केही विवाद आउँछन् कि भनेर वेट गरिराखेका छौं । अब २ दिनमा जति पनि देखिएका जायज मागहरू छन्, सबै सम्बोधन गर्छौं । बोक्न पर्ने एउटा पनि मान्छे छैन पार्टीले । म साथीहरूलाई निर्धक्क भन्छु, लोकतन्त्रको सुन्दरता यो हो कि गुनासो आएपछि समाधान गर्ने अभ्यास हामीबाट सुरु भएको छ । यो खबरदारी हाम्रा लागि सुवर्ण अवसर हो । त्यसका लागि धन्यवाद दिन चाहन्छु । तर कुनै पनि समस्या आउनेवाला छैन ।

क्रमसंख्या त सच्याउनुहोला तर रोज्दाखेरी नै चर्चामा रहेका, अलि बढी धनाढ्य पात्रहरू रोजेको देखियो नि ?

नेपाल सबै तप्का, वर्ग, पेसा, व्यवसायमा भएका मान्छेहरूको राजनीतिमा रुचि भएको राष्ट्र हो । जुन किसिमको राजनीति देशमा चल्यो, त्यसले राजनीति नगर्ने मान्छेहरूलाई पनि जुर्मुराएको हो । यो पुरानो दलको दबदबा हटाउनका लागि सबै अगाडि बढेको यो, संयोग हो । त्यसकारण यसलाई अन्यथा लिनु हुँदैन ।

अन्यथा भएछ भने सच्याउने ठाउँहरू छँदै छन् । व्यापार–व्यवसाय क्षेत्रका ४ जना जति साथीहरू हुनुहुन्छ । उहाँहरूको पनि कुनै किसिमको संविधानले नदिएको, गैरकानुनी वा आपराधिक क्रियाकलापको पृष्ठभूमि रहेछ भने विधान, विधि पनि छ नि ।

तपाईंहरूले बुझाएको बन्द सूची हेर्दा चितवन र मोरङमा यतिधेरै समानुपातिक उम्मेदवार कसरी भए, किन भए ?

तपाईंहरूले समाचार पढ्नुभयो होला । ४ कि ६ जना छन् । हामीले हेर्‍यौं, कतिपयको पहिले नै नाम लेखिएको हुँदा जस्तो पठाउनुभयो, त्यस्तै गएको हुनसक्छ । मैले चेक गरें, चितवनका ४ देखि ६ जना छन् ।

प्राइमरी इलेक्सनमा अगाडि आउनेलाई पनि पारिएन, पछाडि पारियो भन्ने आरोप छ नि ?

प्राइमरी इलेक्सनको विधिलाई हेर्न जरुरी हुन्छ । भोटिङको वेटेज नै सम्पूर्ण होइन । सबै मान्छे आफ्नो सदस्य बनाएर भोटै हालिदिनुभयो भने त स्वयं निर्वाचित हुनुभयो नि त । त्यस कुरालाई पनि मध्यनजर राख्दै वेटेज राखेको छ, ५० प्रतिशत मात्र भेटिङबाट हुने हो । भोटिङबाट जितेका थिए भन्ने भइरहेको छ, त्यस्तो होइन । यसमा समस्या छ भने हल गर्छौं ।

विधिभन्दा बाहिर गएर बोक्नुपर्ने एउटा पनि मान्छे रास्वपासँग छैन । नयाँ सबै आउनुभएका साथीहरू अब रास्वपा हो । हिजो उहाँहरू कहाँ हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो बेग्लै कुरा हो । रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिन, छन् । तर, त्यसलाई समाधान गर्छौं ।

१०० प्रतिशत म ग्यारेन्टी गर्दिनँ, बढीभन्दा बढी सच्याउने कुरामा हामी छौं । जुन कुरा अहिले सच्याउनुपर्ने भनेर आएका छन् नि त्योभन्दा ठूलो समस्या त देखेका छौं । कतिपय साथीहरूलाई उम्मेदवारी फिर्ता लिनुपर्छ है, प्रत्यक्ष लड्न जानुपर्छ पनि भनेको छु । निर्देशन दिने तहमा पुग्यो भने पनि म निर्देशन दिन्छु । यसमा कुनै चिन्ता लिनु पर्दैन । अर्को कुरा जुन सार्वजनिक चासो, आम गुनासो आयो नि, हामीले खोजेकै यही त हो । लोकतन्त्रमा मजबुत हुने नै यसरी हो नि ।

पुराना दलभित्र समानुपातिकमा रहेका एक/एक मान्छेलाई केलाएर अहिले जसरी प्रश्न गरिएको छ, हामीले हिजोदेखि प्रश्न गर्न सकेको भए, खबरदारी गर्न सकेको भए लोकतन्त्र यति ठूलो मजाकको विषय बन्ने थिएन । आज तपाईँहरुले चिन्ता गर्नुभएको खेलाडी आए, कलाकार आए, पत्रकार आए । आए नि, देश बचाउन किन आउँदैनन् ? जतिखेर देश संक्रमणकालीन अवस्थामा पुग्छ, देशलाई प्राण भर्छु भनेका मान्छेले काम नगरेपछि सबै आउनुपर्छ । एकदमै हतार र ध्रुवीकरणले हामीसँग समय नै थिएन । तर सच्याउने समय हामीसँग छ । नयाँ पनि उस्तै भन्ने अवस्था रहँदैन । बन्दसूचीमा पर्न नहुने मान्छे परेको रहेछ भने त्यो नाम काटिन्छ ।

त्यस्ता मान्छे समानुपातिकमा परे भन्ने तपाइँलाई चाहिँ लागेको छ कि छैन ?

छ । मैले निर्देशन नै दिइसकेको छु । लागिसकेको छु र मैले भनिसकेको पनि छु । अरु दलमा भन्दा हामीमा धेरै प्रश्न आउनु भनेको जनताले हामीमाथि विश्वास गरेका हुन् नि । रास्वपाले गडबड हुन दिँदैन, निर्धक्क हुनुहोला । नाम काटिँदा बरु १०० जनाको नाम जान्छ भने पनि जाओस् ।

लोकतन्त्रको आधारभूत मान्यता र समानुपातिक, समावेसिताको मर्मभन्दा विपरीत गएर हामी केही पनि गर्दैनौं । हिमाल, पहाड, तराई सबैको उपस्थिति छ । चर्चित मान्छेहरूमा तपाईं हाम्रो ध्यान गएको हो । नियत खराब छैन ।

तपाईंले आफूमाथि लागेको फौजदारी अभियोगका कारण प्रधानमन्त्रीमा बालेनलाई अगाडि सार्नुभएको हो ?

मलाई मुद्दा थिएन भने पनि गर्नुपर्ने यही नै थियो । म के स्पष्ट पार्छु भने युवाहरूमा राजनीतिक चेतना ल्याउनका लागि काठमाडौंका मेयरका रूपमा बालेनको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो । अब राँकोको रूप दिँदैछौं । युवाहरूको आन्दोलनपश्चात् काठमाडौंका मेयर साबले जुन जिम्मेवारी देखाउनुभयो, त्यसका आधारमा पनि सहमति भएको हो । उहाँको संलग्नता नभए पनि कहीँ न कहीँ उहाँको सद्भाव, सुझाव र सल्लाहको बलमा यो सरकार बनेको पनि हो ।

जेनजीको विश्वासको पात्र पनि त अरू दलका नेताहरूभन्दा बालेनजी हुनुहुन्थ्यो नि । नयाँ परिवर्तनको झिल्को लिएर आएको मान्छेका रूपमा, युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक रुचाएको व्यक्तिको रूपमा पनि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनुपर्छ ।

अबको निर्वाचनमा तपाईंको उम्मेदवारी र भूमिकाको योजना चाहिँ के हो ?

षडयन्त्रको निर्वाचनबाट पनि डिपार्चर लिने हो हामीले । चुनाव अगाडि गठबन्धन गर्ने, आफ्नो चुनाव चिह्नभन्दा बाहिरको लागि मत माग्ने काम रास्वपाले गर्दैन । रास्वपाको चुनाव चिह्न घन्टी हो, अरू उम्मेदवार हाम्रा छैनन् । चुनावी गठबन्धनले लोकतन्त्रको जुन हुर्मत लिइएको छ, हामी त्यसबाट बाहिर जान चाहन्छौं ।

जिम्मेवारी बाँडफाँटको कुरामा भोलि छेउमा बसेर मैले यसो गर्न पाए हुन्थ्यो, यसलाई हाल्न पाए हुन्थ्यो भन्ने त्यो षडयन्त्रको युगबाट पनि बाहिर निस्कन चाहन्छौं । त्यसैले हामी कसरी चुनाव लड्छौं, हाम्रो प्रधानमन्त्री को हो भन्ने स्पष्ट पारेर गएका हौं । मेरो उम्मेदवारीको कुरा त त्यस्तो ठूलो कुरा होइन । चितवन–२ बाटै उम्मेदवार हुने हो । तर पार्टीमा सरसल्लाह गर्दा केही भन्नुभयो भने बेग्लै कुरा हो ।

लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता विषयमा तपाईंहरूको विगतका अभिव्यक्ति स्पष्ट थिएनन् । खास तपाईंहरूले गर्न, बनाउन चाहेको कस्तो हो ?

हाम्रा राजनीतिक प्रतिवेदनहरूमा यी कुरा स्पष्ट छन् । रास्वपाका जन्मदेखि आजसम्म विभिन्न विवादमा पारियो । हाम्रा कुराभन्दा बढी हाम्रा विवादले स्थान पाए । आम नागरिकमा जाने सन्देश हामी जोडिएका विवादले प्राथमिकता पाए । नीति, सिद्धान्त, आदर्श केही छैन भन्दै आइएको छ । ती साथीहरूसँग समय छैन, हाम्रा दस्तावेज पढ्न ।

हामीले सबैभन्दा बढी गरेको पेचिलो प्रश्न देशको संरचनाको विषय थियो । बोझिलो र पार्टीका नेता व्यवस्थापन गर्ने जुन प्रदेश संरचना छ, रेक्ट्रोफिट हुनुपर्छ भन्ने कुरामा जोड लगाएका छौं । अन्य शासकीय स्वरूपका विषयमा पनि हामीले प्रश्न गरिरहेका छौं, हाम्रो सामर्थ्य पुगेका दिनमा प्रत्यक्ष कार्यकारीको विषय उठाउँला, यो त बहसको विषय हो ।

हामीले त्यसमा सघन छलफल गर्नुपर्छ । सबै राजनीतिक दल, स्टेकहोल्डर्स बसिसकेपछि हाम्रो अनुभवले यो गर्दा कहाँ पुग्छौं त्यो त्यसपछिको कुरा होला । हाम्रा कागजात, हाम्रा सिद्धान्त र नीति मिलेपछि मात्र सहमति गर्ने निष्कर्षमा पुगेर सम्झौता गरेका हौं । हाम्रो देशको शासकीय संरचना कस्तो हुन्छ भनेर हामीले अघिल्लो बाचापत्रमै स्पष्टसँग पनि भनेका छौं । धेरै मानिसका रगतले सिन्चिएर बनेको संविधान हो, फेरि पनि यी विषयले व्यापक छलफलको माग गर्छ ।

अहिलेकै निर्वाचन प्रणालीअनुसार कुनै पनि दललाई बहुमत ल्याउन सजिलो छैन । तपाईंहरूले हिसाब गरेको अंकगणित के हो ? फेरि पुरानै दलसँग सहकार्य गर्नुपर्ने स्थिति पनि आउन सक्ला, के छ प्रक्षेपण ?

नेपाली नागरिकले धेरै साथीहरूलाई नेताका रूपमा, पार्टीका रूपमा आशा गर्नुभएको छ । अधिकांश मानिसले आशा र भरोसा गरेका मानिसहरूलाई एक ठाउँमा उभ्याइसकेपछि ठूलो परिवर्तन गर्नसक्ने राष्ट्रिय सपना, इच्छा, आकांक्षा पूरा गर्न सक्ने मत ल्याउँछ भन्ने लाग्छ । संख्या त म आज भन्न सक्दिनँ, हामीले चाहेका अधिकांश कुरा पूरा सम्बोधन गर्नसक्ने मत प्राप्त गर्छौं । बाँकी कुरा नागरिकको विवेकमा छोडौं ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?