News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दलले समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
- गोरखाबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवारहरूको नामावली समावेश छ।
- प्रत्यक्षतर्फ गोरखाका विभिन्न दलहरूले उम्मेदवार सिफारिस गरिसकेका छन् र नेकपा एमालेले पुस १९ गते टुंगो लगाउने बताएको छ।
१६ पुस, गोरखा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोहीअनुसार ६४ वटा दलले समानुपातिकतर्फको बन्दसूची पेस गरे ।
दलहरूले बुझाएको बन्दसूचीमा गोरखाबाट पनि केही उम्मेदवारहरूको नाम रहेको छ । बन्दसूचीमा यसअघि गाउँपालिका, प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएर पराजित भएकादेखि पहिलोपटक उम्मेदवार भएका र सशस्त्रद्वन्द्वको समयमा जेल ब्रेक गरेकासम्म छन् ।
नेकपा एमालेबाट मीना बराम समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । आरुघाट गाउँपालिका- १० की उनी समावेशीतर्फको एक नम्बर सूचीमा छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी आरुघाट गाउँपालिकाको उपाध्यक्षमा लडेकी थिइन्, तर पराजित भइन् । उनी हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । यसअघिको निर्वाचनमा पनि समानुपातिकतर्फको सूचीमा उनको नाम समावेश थियो ।
नेपाली कांग्रेसबाट जगतबहादुर बराम समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । २०३८ सालमा भीमसेन थापा गाउँपालिका–१ मसेलका उनी विद्यार्थी राजनीतिमा पनि संक्रिय थिए । २०५५ सालमा उनले विन्द्रावती मावि मसेलमा स्कुल इकाइ सहसचिव भएर काम गरे । २०६२ सालमा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको गाउँ सभापति बने । देउवा र गिरिजाप्रसाद कोइराला नेतृत्वको पार्टी एकतासँगै बराम आमन्त्रित जिल्ला सदस्य भए । उनी २०६७, २०७२ र २०७८ मा पार्टी महाधिवेशन प्रतिनिधिसमेत बनिसकेका छन् । हाल उनी कांग्रेसनिकट लोकतन्त्रबादी आदिवासी जनजाती महासंघको महामन्त्रीको रुपमा कार्यरत छन् ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट गोरखाकी कमला नहर्की समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उनी २०७२ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश क बाट चुनाव लडेकी थिइन् । नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्यसँग ३ हजार २७८ मतान्तरले पराजित भइन् । २०३८ सालमा गोरखा नगरपालिका–१४ देउरालीमा जन्मेकी उनी आठ कक्षा पढ्दादेखि नै अखिल क्रान्तिकारीको सदस्यता लिएर राजनितिमा होमिएकी हुन् ।
२०५४ सालमा महिला संगठनमा आवद्ध भइन् । विद्यार्थी संगठन हुँदै २०५५ सालमा उनी पार्टीको पूर्णकालिन कार्यकर्ता बनिन् । तत्कालिन द्धन्द्धको समयमा भूमिगत हुदाँ उनी २०५६ सालमा गाँइखुरबाट पक्राउ परिन् । तर २०५७ सालमा जेल तोडेर भाग्न सफल भइन् । उनी पार्टीको एरिया सदस्य हुँदै, जिल्ला सदस्य, उपब्युरो सदस्य र ब्युरो सदस्य भइन् । नहर्कीले जनमुक्ति सेनामा इन्चार्ज हुदै बटालियन कमिसार र बिग्रेड कमाण्डरको रुपमा पनि काम गरिन् । अहिले उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट एजिला गुरुङ समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित केरौजामा जन्मेकी उनी २०७९ सालको निर्वाचनमा पनि समानुपातिक उम्मेदवारको सूचिमा थिइन् । हाल उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखाका चार जनाको नाम समानुपातिको बन्दसूचीमा समावेश भएको छ । शहिद लखन गाउँपालिकाका दिनेशबाबु जोशी, सिरानचोक गाउँपालिकाका महेश गुरुङ, पालुङटार नगरपालिकाका नारायणी अधिकारी र लालबहादुर विश्वकर्मा समानुपातिकतर्फको उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोहनकुमार श्रेष्ठ बन्दसूचिमा परेका छन् । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका उनी पार्टीका केन्द्रिय प्रवत्ता एवं प्रचार विभाग प्रमुख हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम जिल्लाका दलहरूले सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् ।
नेपाली कांग्रेसले गोरखा क्षेत्र नम्बर १ बाट भूगोल थापा, राजेन्द्र बजगाईं, युवराज बस्ताकोटी, डिल्लिराम तिमिल्सिना, जनार्द्धन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, प्रेमकुमार खत्री, चिनकाजी श्रेष्ठ, रचन परियार र इश्वर ढकालको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडी, दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, बेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रसाद पोखरेलको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए । राष्ट्रिय सभा सदस्यमा भने पिताम्बर बडू, अब्दुल सतार र हरि घलेको नाम सिफारिस भएको उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर १ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने, सागर श्रेष्ठ र रामप्रसाद भन्तनाको नाम सिफारिस भएको छ । पार्टी जिल्ला बैठकले उक्त नाम सिफारिस गरेर पठाएको हो ।
त्यस्तै क्षेत्र नम्बर २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत, अनिष अर्याल र हरेराम पराजुलीको नाम सिफारिस भएको पार्टी जिल्ला सचिव अंकुर तिमल्सिना आयामले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर १ मा सुवर्ण रोकाय क्षेत्री र क्षेत्र नम्बर २ मा कविन्द्र बुर्लाकोटीको नाम चर्चामा छ ।
नेकपा एमालेले भने यही पुस १९ गते टुंगो लगाउने बताएको छ । ‘१८ गते पार्टीका दुवै निर्वाचन क्षेत्रको बैठक छ,’ जिल्ला पार्टी सचिव काजिराम रोकाले भने, ‘त्यो बैठकले नाम फाइनल गरेर सिफारिस गर्छाैँ ।’
प्रतिक्रिया 4