२९ मंसिर, गोरखा । सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले जिल्लाका ठेक्काहरूमा सिण्डिकेट लाद्ने गरेको पाइएको छ । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउँदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा ठेक्का बाँड्ने गरेको खुलासा भएको हो ।
स्रोतका अनुसार संघले जिल्लामा यो वर्ष खुल्ने ठेक्काहरू गोलाप्रथा मार्फत आफू निकटका व्यवसायीलाई भागबन्डा गरिसकेको छ । नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक व्यवसायीले भने, ‘ठेक्का मिलाउन भनेर पन्ध्र दिनदेखि संघमा पटक–पटक बैठक बस्यो । एक हप्ताअघि गोलाप्रथा गरेर ठेक्काहरू भागबन्डा भएको हो ।’ खुलेका ठेक्का क्रमश: पाउने र अन्यले त्यसमा दाबी नगर्ने सर्तमा ११६ नम्बरसम्म गोलाप्रथा भइसकेको उनले बताए ।
स्रोत भन्छ, ‘पहिले अन्य पालिकाका निर्माण व्यवसायीलाई पनि समेटेर ठेक्का भागबन्डा गर्ने भन्ने थियो तर, उनीहरू बैठकमा नै आएनन् । त्यसपछि आफूले भनेको नमान्ने र फारम बिड गरेर सेटिङ बिगार्न खोज्नेलाई ठिक पार्न भन्दै संघले १०/१२ जनाको एउटा टोली पनि खडा गरेको छ ।’
तर आइतबार पूर्वाधार विकास कार्यालयले खुलाएको ठेक्कामा संघको सेटिङ असफल देखियो । भागबन्डा भएका ठेक्कामा सहमति जनाएकामध्येकै केही व्यवसायीले पनि प्रतिस्पर्धा गर्न आवेदन दर्ता गरेपछि विवाद चुलिएको थियो ।
ठेक्का बिगारेको भन्दै पश्चिमकाली निर्माण सेवाका प्रोप्राइटर रञ्जित कुँवरमाथि कुटपिटसमेत भयो । उनको घरमा तोडफोड समेत भएको स्रोत बताउँछ । यसबारे कुँवरसँग थप बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।
कुल २५ वटा ठेक्कामध्ये ५ वटा मात्रै संघको सेटिङ अनुसार भयो अर्थात् पाँचवटामा एक–एक निर्माण कम्पनीको मात्र आवेदन पर्यो ।
पूर्वाधार विकास कार्यालयका अनुसार, ठेक्का नम्बर १८ मा छेवेटार कन्स्ट्रक्सन कम्पनी, ठेक्का नम्बर १३ मा श्रीराम निर्माण सेवा, ठेक्का नम्बर १४ मा आरए कन्स्ट्रक्सन, ठेक्का नम्बर १७ मा माता नवदुर्गा कन्स्ट्रक्सन र ठेक्का नम्बर २१ मा जयकाली निर्माण सेवाको आवेदन परेको छ ।
अन्य ठेक्कामा भने दुईदेखि सात वटासम्म निर्माण कम्पनीको आवेदन परेको कार्यालयका इन्जिनियर कपिल काप्रीले बताए ।
धम्कीपूर्ण सन्देश प्रवाह
माओवादी निकट निर्माण व्यवसायीहरूको मात्र ठेक्का सेटिङ अनुसार मिलेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘माओवादीका व्यवसायीको भागमा परेको ठेक्का सबै सेटिङ अनुसार मिलेको छ, अरूको भागमा परेको भने बिग्रिएको छ । माओवादी आफैँले पनि बिगार्न उक्साहट गरेको हुनसक्छ ।’
ठेक्का भागबन्डाको योजना विफल भएपछि अहिले संघको फेसबुक समूहमा केही व्यवसायीहरूले धम्क्याउने किसिमका सन्देशहरू लेख्न थालेका छन् । ‘गोरखाको विकासमा निर्माण व्यवसायीको भूमिका’ नाम रहेको उक्त फेसबुक समूहमा ‘ठेक्का बिगार्नेको खुट्टा काट्नुपर्छ’, ‘ठेक्का चोर्नेको हात काट्नुपर्छ’ जस्ता धम्किपूर्ण सन्देशहरू सार्वजनिक भइरहेका छन् ।
स्रोत भन्छ, ‘भागबन्डामा परेका बाहेक अरूले ठेक्का हालेमा तर्साएर हुन्छ कि धम्क्याएर हुन्छ, झिक्न लगाउने भन्ने यिनीहरूको योजना हो । अहिले त्यही गरिरहेका छन् ।’
ठेक्का हाल्न पाउने अधिकार सबै निर्माण व्यवसायीलाई रहेको भन्दै संघको अगुवाइमा यस्तो काम हुनु गलत भएको भन्दै केही व्यवसायीले असन्तुष्टि जनाए ।
यता निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष सूर्य भण्डारीले प्रतिस्पर्धामा नगई मिलेर काम गर्न निर्माण व्यवसायीलाई आफूले आग्रह गरेको भनी घुमाउरो भाषामा भागबन्डाको स्वीकार गरेका छन् ।
व्यवसायीलाई धम्क्याउने र तर्साउने कुराबारे आफू अनभिज्ञ रहेको भन्दै उनी पन्छिन खोजे । यसबारे बु्झ्ने उनले आश्वासन दिए । तर उनकै नेतृत्वमा सेटिङमा ठेक्का भागबन्डा गर्ने र नमान्नेलाई धम्क्याउने काम भइरहेको स्रोतको दाबी छ ।
‘देशभरबाट जसले पनि ठेक्का हाल्न पाउँछन्’
पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गणेश सुवेदीले यो विषयमा आफू जानकार नभएको बताए । उनले भने, ‘कसले ठेक्का भागबन्डा गर्यो, के गर्यो, हामीलाई थाहा हुँदैन । ई–बिडिङ मार्फत देशभरबाट जसले पनि ठेक्का हाल्न पाउँछन्, कसैले रोकेर रोकिने भन्ने हुँदैन ।’
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार खुल्ला प्रतिस्पर्धा मार्फत स्वच्छ र निष्पक्ष ढंगले ठेक्का हाल्न पाउने अधिकार सबै निर्माण व्यवसायीलाई रहेको उनले स्पष्ट पारे ।
प्रतिक्रिया 4