News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा र लमजुङका पाँच पालिकाले बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको दीगो विकासका लागि संयुक्त योजना बनाएका छन्।
- नेपाल पर्यटन बोर्ड, यूएनडीपी र टानले पाँच पालिकालाई पर्यटन विकासमा एकजुट गराएको छ।
- २१ सदस्यीय समिति गठन गरी पदमार्ग सुधार, पूर्वाधार निर्माण र जोखिम व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
६ पुस, काठमाडौँ । गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिकाहरू एक जुट भएका छन् ।
सो ट्रेलअन्तर्गत पर्ने गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट तथा लमजुङको दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रुपमा पदमार्गमा आधारित पर्यटन विकास तथा प्रवर्द्धनमा जुटेका हुन् ।
सो पदमार्गमा जोडिने पाँचवटा पालिका पर्यटन पदमार्गको दीगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न र पर्यटन पूर्वाधार निर्माण गर्न एक जुट भएका हुन् ।
ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)अन्तर्गतको दीगो पर्यटन परियोजना(एसटीपी) तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान)ले एकजुट गराएको छ। गत बिहिबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराएर सम्बन्धित पालिकाहरूलाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो ।
गोष्ठीमा वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई कार्यान्वयनमा ल्याउने गरी २१ सदस्ययी समिति पनि गठन भएको छ । पाँचवटा पालिकाका अध्यक्षहरू सल्लाहकार हुने र पालिकाको उपाध्यक्ष एवं सम्बन्धित निकायको कर्मचारीहरु सदस्य हुने गरी उक्त समिति गठन भएको हो ।
वुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले वुद्ध हिमाल, हिमचुली, मनासिरी हिमश्रृङ्खला तथा उच्च हिमतालहरूलाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ ।
यसबाट स्थानीय समुदायमा आधारित दीगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ । साथै यस क्षेत्रलाई पर्यटन हबका रुपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य राखिएको छ ।
यसका लागि पाँच पालिकाका प्रतिनिधिहरू अजिरकोट गाउँपालिकाको भच्चेकमा भेला भएका हुन् । तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईं, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डाक्टर चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतम लगायत सहभागी थिए ।
प्रतिक्रिया 4