+
+
Shares

साँच्चै जाडो महिना रोमान्सको मौसम हो ?

सामाजिक र यौन व्यवहारमा मानिस अवसरवादी हुन्छन् , मौसमी हुँदैनन् । यदि सेक्स गर्ने मौका मिल्यो भने अधिकांश मानिसहरू चुकाउँदैनन् ।

मोली गोर्मन मोली गोर्मन
२०८२ पुष १६ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाडो मौसममा डेटिङ एपहरूमा स्वाइप गर्ने समय सबैभन्दा बढी हुन्छ र मानिसहरू पार्टनर खोज्ने सम्भावना बढ्छ।
  • मानिसहरूको यौन व्यवहार मौसममा निर्भर हुँदैन, सामाजिक, सांस्कृतिक र पारिवारिक दबाबले कफिङ सिजन निर्धारण गर्छ।
  • जाडोमा सेरोटोनिन र अक्सिटोसिनको कमीले मानिसहरूलाई न्यानोपन र सम्बन्ध खोज्न प्रेरित गर्छ भन्ने कुरा वैज्ञानिकहरूले बताएका छन्।

हरेक वर्ष जाडो शुरू हुनासाथ एउटा विशेष ट्रेन्ड चल्छ, जसलाई आजको डेटिङ संसारमा ‘कफिङ सिजन’ भनिन्छ।

कफिङ सिजन भनेको त्यो मौसम हो, जहाँ एकलहरूले जाडोमा प्रमेको खोजी गर्छन् । तर के यसका पछाडि कुनै वैज्ञानिक आधार छन् ?

म सुरुमै भन्न चाहन्छु कि म कुनै पनि प्रकारको अनुचित व्यवहारलाई प्रवर्द्धन गरिरहेको छैन । म केवल ‘कफिङ सिजन’ भनेर चिनिने संस्कृतिको बारेमा कुरा गर्दैछु।

गर्मीयाममा एकल व्यक्तिहरू स्वतन्त्र रूपमा मस्तीसँग बिताउँछन्, तर नोभेम्बर–डिसेम्बर आउनासाथ अचानक सबैलाई पार्टनरको आवश्यकता महसुस हुन थाल्छ । यस्तो पार्टनर, जो चिसो रातमा साथ रहोस्, जससँग चम्किला बत्तीहरूमा नाच्न सकियोस् वा जसलाई पारिवारिक कार्यक्रममा साथ लैजान सकियोस् ताकि खाना खाँदै गर्दा कुनै नातेदारले डेटिङ जीवनबारे सोधेर त्यो परिकारको स्वाद बिगार्न नपाओस् र एक्लोपन महसुस नहोस् ।

यो मौसममा मानिसहरू जानाजानी सम्बन्ध खोज्छन् । यसलाई नै ‘कफिङ सिजन’ भनिन्छ, जस्तै हातमा हतकडी अर्थात अंग्रेजीमा कफ लाग्दा भाग्न कठिन हुन्छ, त्यही भावअनुसार यो शब्दको प्रचलनमा आएको हो । यो शब्द सन् २००९ तिरबाट प्रचलित भएको हो । ‘हतकडी लग्यो’ अर्थात अब हामी प्रतिबद्ध सम्बन्धमा बाधियौँ ।

यो केवल मजाक हो कि साँच्चै मानिसहरू जाडोमा बढी पार्टनर खोज्छन् ? यदि त्यसो हो भने, के यो व्यवहारले हामीलाई मनोविज्ञान र विकासवादी जीवविज्ञानको बारेमा केही बताउँछ ?

कफिङ सिजनले ऋतुसँगै मानव सम्भोग व्यवहार परिवर्तन हुन्छ भन्ने विचारलाई जनाउने क्यालिफोर्नियाको सान होजे स्टेट युनिभर्सिटीकी मनोविज्ञान प्राध्यापक क्रिस्टिन केलाम्स बताउँछिन् ।

छुट्टी र रोमान्सको सम्बन्ध

यसो किन हुन्छ भन्नेमा वैज्ञानिकहरू एकमत छैनन् । ‘यदि आजको व्यवहार हेर्ने हो भने पोर्न सामग्री, डेटिङ वेबसाइटहरू र यहाँसम्म कि यौनकर्मीहरूको खोजी वर्षमा दुई पटक बढ्छ, केवल जाडोमा मात्र होइन, गर्मीयाममा पनि’ केलाम्स भन्छिन् ।

२०१२ मा सेक्स सम्बन्धी शब्दहरूको इन्टरनेट खोजीका बारेमा एक अध्ययन भएको थियो । त्यसको नतिजा अनुसार जाडो र गर्मीको चरम अवस्थामा धेरै खोजी हुन्छ ।

९० को दशकमा अर्को अनुसन्धानमा सेक्स गर्ने मुड पनि मौसमसँग बदलिन्छ कि भनेर जान्ने प्रयास गरियो । यसका लागि अनुसन्धानकर्ताहरूले चार कुरा हेरे– विवाहबाहिर जन्मिएका बच्चा, गर्भपतनका केसहरू, यौन संक्रमण र कन्डमको विक्री ।

क्रिसमस समयमा यौन गतिविधि र असुरक्षित यौन सम्पर्कमा वृद्धि हुने कुरा यस अध्ययनमा देखियो। यद्यपि यो ट्रेन्ड अझै चलिरहेको छ कि छैन भनेर पत्ता लगाउने हालसालैको कुनै नयाँ अध्ययन छैन ।

फेरि पनि डेटिङ एपहरूको डेटाले स्पष्ट बताउँछ- जाडोमा पार्टनरसँग जोडिने सम्भावना सबैभन्दा बढी हुन्छ । डेटिङ एप बम्बलको एउटा अध्ययन अनुसार, यो एप स्वाइप गर्ने सबैभन्दा बढी समय नोभेम्बरको अन्त्यदेखि फेब्रुअरीको मध्यसम्म हुन्छ – जुन भ्यालेन्टाइन डेमा ब्रेकअपका लागि ठीक समय हो ।

अनुसन्धानकर्ताका अनुसार, एउटा यस्तो दिन जुन निर्धारित अपेक्षा र परम्परागत दबाबले भरिएको हुन्छ, सम्बन्धलाई मजबुत बनाउनुभन्दा टुटाउने कारण पनि बन्न सक्छ ।

इन्डियाना युनिभर्सिटीको यौनिकता र सम्बन्धमा केन्द्रित अन्तर्विषयक अनुसन्धान केन्द्र, किन्सी इन्स्टिच्युटका कार्यकारी निर्देशक हुन् जस्टिन गार्सिया । उनी ‘द इन्डिमेट एनिमल’ नामक किताबका लेखक पनि हुन् । उनी भन्छन्, ‘हामी जान्दछौं कि मानिसहरू छुट्टी र रोमान्सलाई जोडेर हेर्छन् ।’

गार्सिया डेटिङ वेबसाइट Match.com का वैज्ञानिक सल्लाहकार पनि हुन् । अनलाइन डेटिङ त वर्षभरि चलिरहन्छ’ उनी भन्छन्, ‘दैनिक लाखौं–करोडौं स्वाइप र म्यासेज हुन्छन् तर जाडो महिनामा साँच्चै ठूलो उछाल आउँछ ।’

यसको कारण सोच्न गाह्रो छैन– सम्भवतः किनकि तपाईं घरभित्र बन्द हुनुहुन्छ, बाहिर चिसो छ, नयाँ मानिसहरूसँग भेट्ने एकमात्र बाटो फोन मात्र बाँकी हुन्छ त्यसैले स्वाइप गर्दैगर्दा कोही भेटिहाल्छ ।

अवसरवादी हुन्छन् मान्छे

डेटिङ मौसमी छ कि भनेर जान्नका लागि हामी आफ्ना नजिकका जनावरहरूतिर हेर्न सक्छौं । धेरै जनावरहरू मौसमअनुसार बच्चा जन्माउँछन् । के मानिसहरू पनि यस्तै तरिकाले बदलिएका हुन् ?

इन्डियाना युनिभर्सिटीकी विशिष्ट वैज्ञानिक र जीवविज्ञानकी सेवानिवृत्त प्रोफेसर सू कार्टरका अनुसार जनावरका केही यस्ता प्रजातिहरू छन्, जसले मौसमअनुसार बच्चा जन्माउँछन् । उदाहरणका लागि गाई । यिनको गर्भ धेरै लामो हुन्छ, त्यसैले यी केवल वसन्तमा बच्चा जन्माउँछन् ताकि बच्चा आउँदा वरिपरि ताजा हरियो घाँस होस् ।’

चराहरू पनि यस्तै गर्छन् । तर के मानिसहरू पनि यस्तै गर्छन् ?

सू कार्टर भन्छिन्, ‘आफ्नो सामाजिक र यौन व्यवहारमा मानिस अवसरवादी हुन्छन् । यो मामलामा हामी मौसमी हुँदैनौं । यदि सेक्स गर्ने मौका मिल्यो भने अधिकांश मानिसहरू चुकाउँदैनन् ।’

जन्मदरमा देखिने मौसमी उतार–चढावले यो कुरालाई पुष्टि गर्ने उनी बताउँछिन् । अमेरिकामा सबैभन्दा बढी बच्चा सेप्टेम्बरमा जन्मिन्छन् । यो क्रिसमस र नयाँ वर्षको छुट्टीको देन भएको दावी वेस्ट भर्जिनिया युनिभर्सिटीको न्यूरोलोजिकल रिसर्चका प्रोफेसर चेयर र्यान्डी नेल्सनको छ ।

कुनै जैविक कारणका आधारमा मानिसहरूमा त्यस्तो कुनै ब्रिडिङ सिजन नदेखिएको प्रोफेसर नेल्सन बताउँछन् । जुनसुकै उछाल पनि आउन सक्ने र त्यो सधैं सामाजिक वा सांस्कृतिक कारणले हुने उनी बताउँछन् ।

धेरै आदिवासी, खेती गर्ने समुदायहरूमा बाली काटेको ठीक ९ महिनापछि सबैभन्दा बढी बच्चा जन्मिन्छन् ।

अनुसन्धानले बताउँछ कि- चिसो मौसम भएका देशहरू जस्तै बेलायतमा जाडोको समयमा मानिसहरूको मानसिक स्वास्थ्य अलिक कमजोर हुन्छ । दिन छोटा हुन्छन्, घाम धेरै कम मिल्छ, चिसो धेरै हुन्छ, त्यसैले मानिसहरू अधिकांश समय घरभित्रै बस्छन् । यसले एक्लोपन र उदासीपन निम्त्याउछ । घाम कम पर्नाले हाम्रो दिमागमा सेरोटोनिन कम बन्छ ।

सेरोटोनिन, एउटा विशेष न्यूरो ट्रान्समिटर हो जसले हाम्रो जैविक घडीलाई नियमित गर्छ । यसको काम हाम्रो निद्रा र ब्यूँझने चक्रलाई ठीक राख्नु र मुडलाई राम्रो बनाउनु हो । सेरोटोनिन कम भयो भने पूरै शरीर र मन दुवै सुस्त हुन्छन् । सेरोटोनिनको कमीले हाम्रो जैविक क्रियाकलापमा प्रत्यक्ष असर पर्छ ।

डेटिङ संस्कृतिमा परिवर्तन

धेरै जाडो हुने स्थानमा बस्ने व्यक्तिहरूले जाडोको समयमा लगभग कुनै गुफामा बस्दाको जस्तो जिन्दगी बिताउने प्रोफेसर नेल्सन सरल बताउँछन् । बिहान अँध्यारोमै उठ्ने, दिनभरि नक्कली उज्यालोमा काम गर्ने, साँझ फेरि अन्धकारमा घर फर्कने दैनिकी हुन्छ धेरैको । हाम्रो शरीरको घडीलाई २४ घण्टा ठीकसँग चलाउनका लागि तेजिलो घाम चाहिन्छ तर जाडोमा त्यो प्राप्त हुँदैन।

सम्भवतः त्यसैले मानिसहरू आफूलाई राम्रो महसुस गराउने कुनै न कुनै बाटो खोज्छन् । यही कारण जाडोमा मानिसहरू रोमान्स खोज्ने प्रोफेसर नेल्सनको भनाइ छ ।

‘शरीरको दैनिक लय बिग्रिनाले पनि उदासी जस्ता लक्षण र केही विशेष हर्मोनको कमी हुन जान्छ । जसमा अक्सिटोसिन पनि समावेश छ, साथै दिमागमा डोपामाइन र सेरोटोनिनसँग जोडिएको क्रिया–प्रतिक्रिया पनि कम हुन्छ’ प्रोफेसर नेल्सन भन्छन्, ‘त्यसैले मलाई लाग्छ जाडोमा मन आफैं सोच्न थाल्छ, मलाई अलिक डोपामाइन चाहिन्छ, मलाई अलिक अक्सिटोसिन चाहिन्छ ।’ यो मानिसले मलाई खुसी दिन सक्छ भन्ने लागेपछि ऊसँग सम्बन्ध बनाउन मानिसहरू अघि सन्ने तर्क उनको छ ।

अक्सिटोसिन, जसलाई लभ हर्मोन पनि भनिन्छ । यसको योगदान आमा बन्ने, सामाजिक सम्बन्ध विकास गर्ने र तनाव कम गर्नेमा हुन्छ । यो हाम्रो दिमागमा पिट्युटरी ग्रन्थीबाट निस्किएर रक्तप्रवाहमा मिसिन्छ । र हामीलाई खुसी महसुस गराउँछ ।

‘मानिस धेरै सामाजिक जीव हो । हामी गाउँ बनाउँछौं, शहर बसाउँछौं, सभ्यता बनाउँछौं यसका लागि हाम्रो शरीरमा विशेष व्यवस्था छ’ सू कार्टर भन्छिन्, ‘अक्सिटोसिनले हामीलाई एक–अर्कासँग नजिक ल्याउँछ र नजिकै राख्छ पनि ।’

शारीरिक रूपमा छुने, जस्तै अंगालो हाल्ने, यौन सम्पर्क गर्नाले पनि अक्सिटोसिन धेरै छिटो बढाउँछ । त्यसैले पहिलो–पहिलो माया वा हनिमुन समय निकै राम्रो लाग्छ ।

शरीरको तापको पनि आफ्नै भूमिका छ । पुरुष र महिलाको शरीरमा चिसो–गर्मी महसुस गर्ने तरिका फरक–फरक हुन्छन् ।

महिलाको शरीरमा छाला र मांसपेशीबीच बढी बोसो हुन्छ, जसले ताप छाला, हात–खुट्टा र नाकको टुप्पोसम्म ठीकसँग पुग्दैन, साथै उनीहरूको मेटाबोलिज्म पुरुषभन्दा अलिक ढिलो हुन्छ, अर्थात् शरीरले कम ताप उत्पादन गर्छ ।

नेल्सन भन्छन्, ‘त्यसैले जाडोमा सम्भवतः यो हुन्छ कि मन सोच्छ मलाई कोही चाहिन्छ जसले मेरो हात–खुट्टा तताओस् । यो अवचेतनमा चल्ने प्रक्रिया हुन सक्छ तर यस्तो हुन सक्छ ।’

यदि अरू केही नभए पनि ‘कफिङ सिजन’ले हामीलाई हाम्रा आफ्नाहरूसँग हाम्रो सम्बन्ध कस्तो छ भनेर जान्ने मौका प्रदान गर्न‍े गार्सिया बताउँछन् ।

‘खासगरी चाडपर्वहरूमा जब हामी परिवार र साथीहरूबाट घेरिएका हुन्छौं, तब अलिक रोकेर सोच्ने समय मिल्छ’ गार्सिया भन्छन्, ‘छुट्टीमा म कोसँग घर फर्कन चाहन्छु ? मलाई कस्तो मानिस चाहिन्छ भन्ने कुरा पनि सोच्ने मौका मिल्छ ।’

मानिसको प्रेम र विवाहको हकमा पारिवारिक चासो र दबाब धेरै हुने उनी बताउँछन् । ‘जब हामी हाम्रा प्रियजनहरूमाझ हुन्छौं, हामीलाई निरन्तर सम्झाइन्छ कि- समाजले हामीसँग जीवनसाथी र परिवार भएको हेर्ने अपेक्षा राख्छ’ गार्सिया भन्छन्, ‘यो त्यस्तो भावना हो जुन केवल मानिसहरूमा मात्र हुन्छ ।’

त्यसोभए कफिङ सिजनबारे वैज्ञानिक प्रमाण छन् ? म पूर्ण रूपमा सहमत छैन । मानिसहरूको यौन व्यवहार मौसममा निर्भर हुँदैन भनेर विशेषज्ञहरूले गरेको तर्कमा म सहमत छु । सामाजिक र सांस्कृतिक परिवेश, परिवारको दबाब, छुट्टीको उदासी, धेरै खुसी हुन खोज्ने मुड, चिसोमा न्यानोपनका लागि कोही साथमा होस् भन्ने धारणा आदिले यसलाई निर्धारण गर्छ ।

अब आधुनिक डेटिङको कुरा, खासगरी जेन जी र मिलेनियलहरू सम्बन्धहरूलाई पुनर्मूल्यांकन गर्दैछन् । ट्रेन्डहरू आउँछन्–जान्छन् । डेटिङ एपहरूको प्रभावकारिता घट्दै जानु यसको ठूलो प्रमाण हो।

यद्यपि पहिले यो रोमाञ्चक लाग्थ्यो । स्थानीय क्षेत्रमा सयौं प्रोफाइलमा स्वाइप गर्नु  तर अब यो अल्छीलाग्दो बनिसकेको छ ।

फोर्ब्स हेल्थको २०२५ को गर्मीयाममा प्रकाशित एउटा सर्वे अनुसार, अमेरिकामा ७८ प्रतिशत डेटिङ एप प्रयोगकर्ताहरू कहिलेकाहीं, प्रायः वा सधैं भावनात्मक, मानसिक वा शारीरिक रूपमा थकित महसुस गर्छन् । डेटिङ संस्कृतिमा धेरै परिवर्तन भइरहेको छ ।

गार्सिया भन्छन्, ‘मलाई लाग्छ एउटा ठूलो कारण यो हो कि आजकल युवाहरूको बढी जोड आफ्नो क्षमतालाई पूर्ण उपयोग गर्नमा छ । खासगरी युवाहरू सोच्छन्- पहिले म आफूलाई ठीक गर्नुपर्छ, करियर सेट गर्नुपर्छ, मानसिक रूपमा मजबुत हुनुपर्छ त्यसपछि मात्र सम्बन्धमा जान्छु ।’

तर याद राख्नुस्, मानिस सामाजिक प्राणी हो । हामी सम्बन्धमै परिपक्व हुन्छौं । सम्बन्धमा गल्ती गर्छौं, सिक्छौं, बुझ्छौं कि हामी को हौं र हामीलाई के चाहिन्छ । सम्बन्ध नै त्यो भाँडो हो जसमा हामी पाक्छौं, निखारिन्छौं ।

त्यसैले सम्भवतः मलाई पनि स्वाइप गर्न सुरु गर्नुपर्छ । वास्तवमा म त यस्ती मानिस होइन जो धेरै बन्धनमा पर्छु ।

बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?